देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु: २७.५ किमी पैदल यात्रामा तीन हजारको सहभागिता
सारांश
- देवघाट धामको पर्यटन प्रवर्द्धन गर्न देवघाट गण्डकी परिक्रमा महोत्सवको आयोजना गरिएको छ।
- महोत्सवमा सन्त, महन्थ र भक्तजनसहित करिब तीन हजार जनाको सहभागिता रहेको छ, जुन २७.५ किलोमिटर लामो पैदल यात्रा हो।
- महोत्सवको उद्देश्य देवघाटधाम र गण्डकीको धार्मिक महत्त्व र संस्कृतिको प्रचारप्रसार गर्नु रहेको छ।
चितवन। पवित्र तीर्थस्थल देवघाट धामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ। आज बिहान देवघाटको वेणीमा विधिपूर्वक पूजा गरी महोत्सव सुरु गरिएको हो।
नेपाल सन्त समाजको आह्वानमा देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिकाको आयोजनामा गरिएको महोत्सवको हरिहर संन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती महाराज र महेश संन्यास आश्रमका पीठाधीश रमणानन्द गिरीजी महाराजले उद्घाटन गरे।
बिहान ७:०० बजे वेणीबाट सुरु भएको परिक्रमा महोत्सव चितवनको बागेश्वरी हुँदै हरिहर मन्दिरको बाटो भएर गैँडाकोट पुग्नेछ। गैँडाकोटमा रहेका धार्मिकस्थल चक्रवर्ती तीर्थ मन्दिर हुँदै पुनः देवघाटमा आएर आज दिउँसो ३:०० बजेसम्ममा समापन हुने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशन सदन बरालले जानकारी दिएका छन्।
यो २७.५ किलोमिटर लामो पैदल यात्रा हो, जसमा सन्त, महन्थ, भक्तजनलगायत करिब तीन हजारको सहभागिता रहेको छ।
परिक्रमा मार्गमा समेटिएका मुख्य धार्मिक स्थलहरू:
- तनहुँतर्फ: पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), महेश संन्यास आश्रम (विद्येश्वर मन्दिर), हरिहर संन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दिर, लक्ष्मीनारयण मन्दिर लगायत।
- चितवनतर्फ: सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, योगी नरहरिनाथ गौशाला बागेश्वरी मन्दिर, गौरेश्वर शिव मन्दिर, हरिहर मन्दिर नारायणगढ लगायत।
- नवलपुरतर्फ: गैँडाकोट पुल्चोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको साढेबगर बौद्ध गुम्बा र भूबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आएर समापन हुनेछ।
यो महोत्सवको पाँचौँ संस्करण हो र हरेक वर्षको बैकुण्ठ चतुर्दशीमा आयोजना गर्ने गरिन्छ। महोत्सवको मुख्य उद्देश्य पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमस्थलको धार्मिक महत्त्व र संस्कृतिको प्रचारप्रसार गर्नु रहेको आयोजकले बताएका छन्।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले यस महोत्सवले देवघाटको धार्मिक पर्यटनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण