बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

झापा महिला गोल्डकप : घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जित

बुधबार, १९ कात्तिक २०८२, २२ : ०१
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • सङ्कटा फुटबल क्लबले झापा महिला गोल्डकप फुटबलमा झापा एफसीलाई ६-० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
  • सङ्कटाका लागि सेनु परियार, समीक्षा मगर, छिरिङ वाङ्देन, पूर्णिमा राई, रेनिसा शर्मा र अरुणा स्याङ्तेनले गोल गरे।
  • खेलमा पूर्णिमा राई प्लेयर अफ द म्याच भइन् भने फाइनल खेल कात्तिक २४ गते हुनेछ।

झापा । शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

यो जीतसँगै सङ्कटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुआतदेखि सङ्कटा टोली आक्रामक देखिएको थियो । २३ औँ मिनेटमा सेनु परियारले सङ्कटाका लागि पहिलो गोल गरेकी थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा समीक्षा मगरले अर्को गोल गर्दै सङ्कटाको अग्रता बढाएकी थिइन् ।

यसैगरी, ५५ औँ मिनेटमा भुटानबाट अनुबन्धित छिरिङ वाङ्देनले तेस्रो गोल र ६१औँ मिनेटमा पूर्णिमा राईले अर्को गोल गर्दै झापा एफसीसँगको गोलअन्तर ४–० बनाएकी थिइन् । ८३  औँ मिनेटमा रेनिसा शर्माले पाँचौँ गोल थपिन् भने अरुणा स्याङ्तेनले खेलको अन्तिम समयतिर अर्को गोल थपेर सङ्कटाको जीत ६–० मा पक्का गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन् । उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरिन् । झापा एफसीका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । सङ्कटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले रणनीतिअनुसार नै खेलमा जित निकालेको बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद रु १० लाख १० हजार, उपविजेताले रु। पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पाउनेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।

भोलि बिहीबार हुने अन्तिम क्वाटर फाइनल खेलमा आरएस पोखरा र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप