निर्वाचन अगाडि नियमित महाधिवेशन हुनुपर्छ : डा.शेखर कोइराला
सारांश
- डा. शेखर कोइरालाले आगामी पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए।
- उनले आगामी निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने र एकतामा जोड दिए।
- कोइरालाले पार्टीमा गुट र उपगुट अन्त्य गर्नुपर्ने र सही समयमा निर्णय लिनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले परिस्थितिवश मङ्सिर मसान्तसम्म महाधिवेशन गर्न नसकिए पनि कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने बताएका छन् ।
काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा डा.कोइरालाले आगामी आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याएका हुन् । महाधिवेशनको तालिका बनाउँदा निर्वाचन आयोगको निर्वाचन तालिकामा असर नपर्नेगरी बनाउनुपर्ने उनको भनाइ छ ।
नेता कोइरालाले नेपाली कांग्रेस अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार र संयम भई अघि बढ्नुपर्ने बताए । पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै डा.कोइरालाले विगतमा पार्टीले थुप्रै आरोह अवरोह भोगेको स्मरण गरे । आगामी दिनमा एकता नै बल हो भन्ने भावनाअनुसार एक हुनुपर्ने र कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने सोच राख्न नहुने कोइरालाको भनाइ थियो ।
डा.कोइरालाले पार्टीमा एकता, मेलमिलाप चाहेको र गुट, उपगुट तथा फुटको अन्त्य गर्नुपर्ने बताए । कोही कसैप्रति आग्रह–पूर्वाग्रह नराखी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै देशभरका इमानदार, निष्ठावान् र निरन्तर क्रियाशील साथीहरूले पार्टीलाई बचाइरहेको बताए ।
डा.कोइरालाले पार्टीका लाखौँ शुभेच्छुकहरू र बाह्य सबै पक्षले अहिले कांग्रेसको निर्णय हेरिरहेको र पर्खिरहेको बताउँदै पार्टीले सही समयमा सही निर्णय लिनुपर्नेमा जोड दिए ।
कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने र नियमित महाधिवेशन गरेमा कहिले गर्ने भन्ने विषयमा विवाद छ । छलफलमा केन्द्रीय सदस्यहरू प्राडा.गोविन्दराज पोख्रेल र टेकप्रसाद गुरुङ पनि उपस्थित थिए । त्यस्तै मोरङ सभापति डिगबहादुर लिम्बू, रुपन्देही सभापति रामकृष्ण खाँण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई, चितवन सभापति राजेश्वर खनाल, सिन्धुलीको उज्ज्वल बरालसहित उपस्थित थिए ।
भेलामा गुल्मीका पूर्व सभापति त्रैलोक्यप्रसाद सेन, कास्कीका पूर्व सभापति यज्ञबहादुर थापासहितका नेताहरू पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण