रास्वपाको अर्जुनदृष्टि चुनावमा : एकता, सहकार्य र मोर्चाबन्दीको नीति
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनमा स्पष्ट बहुमतको सरकार बनाउने लक्ष्य लिएको छ।
- पार्टीले चुनाव केन्द्रित रणनीति बनाउँदै वैकल्पिक शक्तिहरूसँग एकता, सहकार्य र मोर्चाबन्दी गर्ने नीति लिएको छ।
- रास्वपाले देशमा राजनीतिक स्थिरता र सुशासनका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जोड दिएको छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई आफ्नो ‘अर्जुनदृष्टि’ बनाउँदै स्पष्ट बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने राजनीतिक कार्यदिशा तय गरेको छ।
शुक्रबारदेखि चितवनमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक सभापति डी.पी. अर्यालले चुनाव केन्द्रित रणनीति र त्यसका लागि वैकल्पिक शक्तिहरूबीच एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गरेका हुन् ।
प्रतिवेदनमा आगामी चुनावलाई देशको रुपान्तरणका लागि निर्णायक अवसरको रूपमा चित्रण गरिएको छ। 'रास्वपाको तत्कालीन अर्जुनदृष्टि आगामी चुनाव केन्द्रित हुनुपर्छ। र, पार्टीले आफ्ना नीति, कार्यक्रम र संगठनात्मक गतिविधि यसैतर्फ निर्देशित गर्नुपर्छ,' प्रतिवेदनमा भनिएको छ। पार्टीले स्पष्ट बहुमतको सरकारले मात्र देशमा लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य गर्न, नीतिगत स्थिरता प्रदान गर्न र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सक्ने ठहर गरेको छ।
रास्वपाले पुराना राजनीतिक दलहरूको शासकीय असफलताका कारण देशले निकास पाउन नसकेको निष्कर्ष निकाल्दै एक सशक्त र विश्वसनीय वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जोड दिएको छ। यसका लागि विचार मिल्ने नयाँ दल, समूह र स्वतन्त्र व्यक्तिहरूलाई एक ठाउँमा आउन आह्वान गरिएको छ।
प्रतिवेदनमा भनिएको छ, 'सानातिना स्वार्थ र अहंलाई त्यागेर वृहत् सहकार्यको भावनाका साथ अघि बढे मात्र जनताले एउटा भरपर्दो विकल्प पाउने छन्।'
एकता, मोर्चाबन्दी र सहकार्यको बलमा रास्वपाले आफूलाई वैकल्पिक राजनीतिको केन्द्र बनाउन सकिने विश्वास लिएको छ। प्रतिवेदनअनुसार, 'जनविश्वासको मात्रा, संसदीय अनुभव, प्रभावकारी एजेण्डा, गतिशील र स्वीकार्य नेतृत्व एवं सांगठनिक आधारका दृष्टिले रास्वपालाई नै वैकल्पिक राजनीतिक दल, शक्ति, समूह र व्यक्तिहरुको केन्द्र बनाउन सकिन्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण