चुनावबारे सशङ्कित छन् मधेस केन्द्रित दलहरू
सारांश
- मधेस केन्द्रित दलहरूले निर्वाचनको तयारी भइरहेको बेला विभिन्न आशङ्का व्यक्त गरेका छन्, किनकि उनीहरूका अनुसार आन्दोलनको उपलब्धि देखिएको छैन।
- जनता समाजवादी पार्टी नेपालले चुनावमाथि प्रश्न उठाउँदै संविधान संशोधन, निर्वाचन प्रणाली र शासकीय स्वरूप परिवर्तनका मुद्दा ओझेलमा परेको जनाएको छ।
- लोसपा नेपालका सहअध्यक्षले चुनावको वातावरण नबनेको र सरकारले परिवर्तनको अनुभूति दिलाउन नसकेको बताएका छन्, जसले गर्दा जनतामा उत्साह छैन।
काठमाडौँ । सरकार प्रतिनिधि सभा निर्वाचनको तयारीमा रहेको वेला मधेस केन्द्रित दलहरूले विभिन्न आशङ्का प्रकट गरेका छन् । उनीहरूले जेनजी आन्दोलन चुनावका लागि मात्र नभएर आमूल परिवर्तनका लागि भएको भन्दै २०८४ हुनुपर्ने चुनाव ०८२ सालमै गराउनुबाहेक आन्दोलनको कुनै उपलब्धि नदेखिएको टिप्पणी गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले फागुन २१ मा हुन गइरहेको चुनावमाथि प्रश्न उठायो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो राजनीतिक प्रतिवेदनमै क्रान्तिकारी परिवर्तन भनेको केवल सत्ताको हस्तान्तरण मात्र होइन, बरु सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक जीवनमा आमूल रूपान्तरण रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘जेनजी पुस्ताले गरेको विद्रोहका उपलब्धि केवल सरकार परिवर्तन र २०८४ मा हुने संसदीय निर्वाचन २०८२ मा हुनेमा मात्र सीमित रहने हो कि भन्ने आशङ्का र दुबिधा उत्पन्न भएको छ ।’
यो चुनावले गर्दा संविधान संशोधन अथवा पुनर्लेखन, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन, समानुपातिक समावेशीकरण तथा पहिचानजस्ता महत्त्वपूर्ण राजनीतिक मुद्दा ओझेलमा परेको उनले बताएका छन् ।
- ‘सत्ता परिवर्तनका लागि मात्र होइन आन्दोलन’
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आन्दोलनको मर्म बुझ्न नसकेको आरोप लगाएका छन् । असोजको अन्तिम साता बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जेनजी आन्दोलनमा बलिदान दिएका युवाका माग सुन्ने र सम्बोधन गर्नुको सट्टा सरकार प्रशासनिक सन्तुलन र नियुक्तिमा व्यस्त रहेको आरोप लगाएका छन् ।

आन्दोलनपछिको परिस्थितिमा सेटलमेन्टको नाममा भएको सहमतिले अन्तरिम संविधान निर्माण नगरेर आन्दोलनको उपलब्धिलाई बेवास्ता गरेको उल्लेख गर्दै महतोले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले ‘यो संविधानभित्रै बसेर नै सबै काम गर्छु’ भनिसकेको अवस्थामा जेनजी पुस्ताको माग यथास्थितिमा पूरा नहुने निश्चित भएको बताए ।
संविधान पुनर्लेखन, सत्य निरूपण तथा छानबिन आयोग र भ्रष्टाचार नियन्त्रणका ठोस कदम नचालिँदा सरकार पुराना दलकै छायामा सीमित रहेको अध्यक्ष महतोको दाबी छ ।
उनले भनेका छन्, ‘यो आन्दोलन केवल सत्ता परिवर्तनमा सीमित हुनुपर्ने थिएन, औपनिवेशिक विचारसँगै संरचना र मूल्य परिवर्तनको आन्दोलनको रूपमा पूर्णता दिइनु पर्ने थियो तर त्यस्तो केही पनि देखिएको छैन ।’
बहुल–संस्कृति, स्वशासन र समान अधिकार सुनिश्चित गर्न नयाँ संविधानका लागि ‘संविधान सुधार सुझाव आयोग’ गठन गर्न माग गर्दै अध्यक्ष महतोले समावेशी निष्पक्ष निर्वाचनको निम्ति र आसन्न निर्वाचनको ख्याल गर्दै आगामी संसद्ले संस्थागत गर्ने गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी विशेष ‘अन्तरिम घोषणा’ गर्न माग गरेका छन् ।
- ‘चुनावको पक्षमा छैनन् जनता’
लोसपा नेपालका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पनि २०८४ को चुनाव ०८२ मा गर्नका लागि जेनजी आन्दोलन नभएको प्रस्ट पारेका छन् । वर्तमान सरकारले परिवर्तनको अनुभूति जनतालाई गराउन नसकेको उनले बताए । ‘अब हुने चुनावमा जेनजी पुस्ता आउँछ भन्ने के ग्यारेन्टी छ ?, रातोपाटीसँग कुरा गर्दै शुक्लाले प्रश्न गरेका छन्, ‘फेरि उही पुरानै दल चुनावबाट आएमा यो आन्दोलन गरेको के अर्थ रहन्छ ?’ उनले परिवर्तनको अनुभूति हुने गरी सरकारले काम गर्नुपर्ने बताए ।
_eebsZj50bP.jpg)
शुक्लाले देशमा चुनाव गराउने वातावरण नै बनेको बताए । उनले भने, ‘केही दिनमात्र म आफ्नो गृह जिल्लाबाट काठमाडौँ फर्केको छु । चुनावलाई लिएर जनतामा कुनै उत्साह छैन । जिल्ला तथा क्षेत्रमा कुनै चहलपहल छैन । जनताले प्रश्न गर्न थालेका छन्– चुनाव हुन्छ र ?’
प्रहरीको लुटिएको हतियार फिर्ता नभएको, जेलबाट फरार कैदीहरू पक्राउ गर्न नसकेको, भ्रष्टाचारीहरूमाथि कारबाही नगरिएको अवस्थामा चुनाव गराउन नसकिने बताउँदै उनले देशमा दण्डहीनताको अवस्था जस्ताको त्यस्तै रहेको जिकिर गरे ।
‘भ्रष्टाचार विरोधी आन्दोलनमा ७० जनाभन्दा बढी जेनजीले सहादत दिए तर कुनै ठाउँमा भ्रष्टाचार रोकिएको छैन,’ शुक्लाले भने, ‘वडा कार्यालयदेखि मालपोत, अदालत, जिल्ला प्रशासन कार्यालयलगायत जनतालाई सेवा दिने हरेक सरकारी कार्यालयको अवस्था त्यस्तै छ ।’
भ्रष्टाचारी को–को हो भन्नेबारे विभिन्न फाइल गृह मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयसम्म रहेको भन्दै शुक्लाले ती फाइलका आधारमा किन भइरहेको छैन भन्ने प्रश्न गरे । उनले यो अवस्थामा चुनाव गराउँछु भन्नु जनतालाई मुर्ख बनाउनुजस्तै रहेको प्रस्ट पारे ।
यो सरकार चुनावी सरकार हो, चुनावबाहेक यसले अरू केही गर्दैन भनिसकेको छ भने २०८४ को चुनाव ०८२ मा गराउनबाहेक जेनजी आन्दोलनको कुनै उपलब्धि नदेखिएको शुक्लाले बताए ।
- ‘चुनावको वातावरण बनाऊ’
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पनि चुनावको वातावरण तयार गर्न सरकारसँग माग गरेका छन् । कात्तिक २० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आन्दोलनका कारण चुनावको वातावरण खलबलिएको ठहर गरेको छ ।

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘भदौ २४ गते भएका आगजनी, प्रहरीको हत्या र हतियार कब्जा, कैदीबन्दी फरार हुने लगायतका विध्वंसात्मक घटनाका अपराधीहरूको खोजी गर्न, अनुसन्धान गर्न र सजाय गर्न माग गर्ने ।’
निर्वाचनको वातावरण तयार गर्न सरकारले शान्ति सुव्यवस्थाको प्रत्याभूति गराओस् भनी सो पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।
भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न माग गर्दै जसपाका अध्यक्ष राईले आगामी निर्वाचनको तयारीमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले चुनावको तयारीमा जुट्न आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण