‘बाचापत्रमार्फत नयाँ राजनीतिक मानकको खोजीमा छ रास्वपा’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनलाई लक्षित गरी आफ्नो राजनीतिक तथा वैचारिक तयारी सुरु गरेको छ।
- पार्टीले चुनावी घोषणापत्रलाई 'बाचापत्र' को प्रारम्भिक खाका सार्वजनिक गरेको छ, जसमा सुशासन, युवा प्रतिनिधित्व, र आर्थिक विकासलाई जोड दिइएको छ।
- पार्टी सभापति रवि लामिछानेको मुद्दालाई लिएर पार्टीले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरेको छ र उनको रिहाइको लागि पहल गरिरहेको छ।
हेटौँडा । आगामी आम निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो राजनीतिक र वैचारिक तयारीमा जुटेको छ । चितवनको सौराहमा आयोजित केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीले आफ्नो चुनावी घोषणापत्रलाई ‘बाचापत्र’ को प्रारम्भिक खाका सार्वजनिक पनि गरेको छ ।
रास्वपाका उपसभापति तथा अर्थविद् स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बाचापत्र चुनावी नाराको सङ्गालो मात्र नभई, तथ्य, तथ्याङ्क र वित्तीय व्यवस्थापनसहितको विस्तृत कार्ययोजना भएको दाबी गरेका छन् । वाग्लेका अनुसार रास्वपाको बाचापत्रले विगत साढे तीन वर्षको राजनीतिक यात्राको निर्मम समीक्षा गर्दै ‘अब रास्वपा किन ?’ भन्ने प्रश्नको पाँच वटा ठोस तर्कसहित जवाफ दिनेछ ।
जलेश्वरबाट सुरु भएको अर्थ–राजनीतिक प्रस्तावनादेखि २१०० सालसम्मको नेपालको दूरगामी सपना र सरकारमा पुगेको ५ दिनभित्रै गरिने ५० वटा निर्णयसम्मको स्पष्ट खाका समेटिएको उनले बताए ।
रास्वपाले हरेक योजनाको लागत, त्यसका लागि आवश्यक पर्ने वित्तीय स्रोतको पहिचानको विश्लेषण प्रस्तुत गर्ने वाग्लेले बताए । बाचापत्रलाई सुशासन, युवा प्रतिनिधित्व, सामाजिक सौहार्दता र तीव्र आर्थिक विकासको आधारस्तम्भका रूपमा अघि सारिएको उनको भनाइ छ । उपसभापति वाग्लेसँग रातोपाटीकर्मी गणेश दुलालले गरेको कुराकानीको सम्पादित अंशः
- रास्वपाले आफ्नो विस्तारित बैठकमा भावी बाचापत्रको खाका प्रस्तुत गरेको छ । अन्य दलका घोषणापत्रभन्दा यो बाचापत्र कसरी फरक छ ?
हाम्रो बाचापत्र केवल चुनावी बाचाको सङ्ग्रह होइन, यो एउटा स्पष्ट भिजन हो । अरू पार्टीले नक्कल गर्लान् भन्ने डरले हामीले धेरै कुरा बाहिर ल्याएका छैनौँ । तर यसको संरचनाबारे भन्न सक्छु । हाम्रो बाचापत्र जलेश्वर प्रस्तावनाबाट सुरु हुन्छ, जसमा हाम्रो अर्थ–राजनीतिक दृष्टिकोण स्पष्ट छ ।
त्यसपछि, हामीले विगत साढे तीन वर्षको हाम्रो राजनीतिक यात्रा ‘निषेधदेखि विस्फोटसम्म’ को इमानदार विश्लेषण गरेका छौँ, जसमा हाम्रा सफलता, कमजोरी र सिकाइहरू समावेश छन् । ‘अब रास्वपा किन ?’ भन्ने खण्डमा हामीले पाँचवटा तर्क प्रस्तुत गर्दैछौँः सुशासनको संवाहक, युवा पुस्ताको प्रतिनिधि, सामाजिक सौहार्दता, प्रवासका मुद्दाहरूको सारथि र आर्थिक उन्नयनका लागि नयाँ विचार । सबैभन्दा महत्त्वपूर्ण कुरा हो, हाम्रो बाचापत्रमा हावादारी दाबी छैनन् ।
पुष्पलाल राजमार्गको दुवैतिर रेल कुदाउने जस्ता गफ हामी गर्दैनौँ । हामीले हरेक योजनाको लागत (कस्टिङ) र वित्तीय व्यवस्थापनको खाका पनि प्रस्तुत गर्छौँ । सार्वजनिक स्रोत, आन्तरिक ऋण, वैदेशिक लगानी, निजी पुँजी कहाँबाट कति जुटाउने र त्यसले पनि नपुगेमा के गर्ने भन्ने स्पष्ट मार्गचित्र हुन्छ । यो हाम्रो बाचापत्रको सबैभन्दा बलियो र फरक पक्ष हो ।
- बाचापत्रमा आकर्षक योजनाहरू छन् । जस्तैः २१०० सालसम्मको नेपालको गन्तव्य र सरकारमा गएको पाँच दिनभित्र ५० वटा निर्णय गर्ने कुरा । तर, यस्ता योजनाको कार्यान्वयन कसरी सुनिश्चित हुन्छ ? जनताले कसरी विश्वास गर्ने ?
जनताले हामीलाई निर्वाचित गराउनुपर्छ । काम गरेनौँ भने लात हानेर निकालिदिनुस् । लोकतन्त्रको धर्म नै यही हो । हामीले कति गम्भीर तयारी गरेका छौँ भन्ने कुरा हाम्रो प्रस्तुतिबाटै स्पष्ट हुन्छ । हामीले यसलाई जेनजी पुस्ताको निर्णायक हस्तक्षेप भनेका छौँ ।
कार्यान्वयनका लागि बहुमत चाहिन्छ । कतिपय खराब ऐनहरू खारेज गर्नुपर्नेछ, नयाँ बनाउनुपर्नेछ । त्यसैले हाम्रो लक्ष्य स्पष्ट बहुमत ल्याउने हो । तर, निर्वाचनपछि विचार मिल्ने शक्तिहरूसँग मिलेर स्थिरता दिन्छौँ । हामीले अघिल्लो चरणबाट केही सिकेका छौँ । जस्तो कि, केही पात्रहरूसँग नजिक देखिन पनि नहुने रहेछ ।
- पार्टीभित्र केही फरक मतहरू पनि बाहिर आएका छन् । यसलाई मिडियाले पनि प्राथमिकता दिएको छ । पार्टीको आन्तरिक लोकतन्त्र र एकतालाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
मिडियामा अतिरञ्जना गरेर फलानोले बोल्न पाएन भनेर जुन हल्ला चलाइयो, त्यो सत्य होइन । हाम्रो बैठकमा विधि र प्रक्रियाअनुसार सबै काम भइरहेको छ । लिखित प्रस्ताव दर्ता गराउनुभएका सबै साथीहरूले लोकतान्त्रिक स्पिरिटअनुसार आफ्नो धारणा राख्ने अवसर पाउनुभएको छ । पार्टीको बैठक सौम्य र शिष्ट ढङ्गले चलिरहेको छ । फरक मतहरू पार्टीका लागि पुँजी हुन् र हामी त्यसलाई लोकतान्त्रिक विधिबाटै सम्बोधन गर्छौँ ।
- रास्वपामा अन्य दलहरूमा जस्तो भ्रातृ सङ्गठनहरूको अभाव देखिन्छ । के यसले पार्टीलाई असर गरेको छ ? यसबारे पार्टीको सोच के हो ?
हो, केही साथीहरूलाई अरू दलको जस्तो विद्यार्थी, शिक्षक सङ्गठनको रजगज देखेर हाम्रो पनि भइदिएहुन्थ्यो भन्ने लाग्छ । तर, यो हाम्रो आधारभूत राजनीतिक चरित्रसँग जोडिएको विषय हो । हामीले जुन दलीयकरणविरुद्ध लड्ने भनेका छौँ, त्यसमा सम्झौता गर्न सकिँदैन । हाम्रो सामाजिक जीवनको कण–कणमा भएको दलीयकरणले देशलाई ध्वस्त बनाएको छ । हामी यो दलीयकरणलाई प्रश्रय दिने ऐनहरू खारेज गर्न चाहन्छौँ । सायद, सरकारमा गएको पहिलो पाँच दिनमा गर्ने ५० निर्णयभित्र यो कुरा पनि पर्न सक्छ ।

- अहिले सबैको चासोको विषय पार्टी सभापति रवि लामिछानेको मुद्दा हो । उहाँको रिहाइका लागि पार्टीले के–कस्ता पहल गरिरहेको छ र पछिल्लो अवस्था के छ ?
सभापति रवि लामिछानेजीसँग हाम्रो नियमित संवाद भइरहेको छ । उहाँको मुद्दालाई लिएर हामीले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरिसकेका छौँ । हामीलाई आशा छ, उहाँ चाँडै छुट्नुहुनेछ र उहाँले न्याय पाउनुहुनेछ ।
यसमा दुइटा पाटो छन्ः सरकारी कदम र अदालती प्रक्रिया । हामीले सरकारलाई घचघच्याइरहेका छौँ । अघिल्लो सरकारले उहाँलाई दुःख दिनकै लागि ५–५ वटा जिल्लामा मुद्दा लगाएर अल्झायो ।
हामीले अहिलेका मुद्दाहरूलाई एकीकृत गरेर न्यायिक प्रक्रियालाई सहज बनाउन सकिन्छ कि भनेर पनि कुरा गरेका छौँ । अघिल्लो सरकारले जस्तो फोन गरेर फसाउने र अल्झाउनेजस्ता प्रतिशोधपूर्ण काम यो सरकारबाट हुँदैन भन्नेमा हामी विश्वस्त छौँ । हामी एकदमै आशावादी छौँ कि रविजीमाथि थोपरिएको अन्यायमा ‘कोर्स करेक्सन’ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण