बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी विभाजनको अन्तर्य र नयाँ ध्रुवीकरणको आवश्यकता

सोमबार, २४ कात्तिक २०८२, १३ : ५६
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवाद र जनयुद्धको बाटो छाडेर एकीकृत समाजवादीमा विलय भएपछि फेरि दुई नेता बाहिरिएका छन्।
  • जनार्दन शर्मा र राम कार्कीले एकीकृत समाजवादीमा समाहित हुने प्रचण्डको निर्णयको विरोध गर्दै नयाँ अभियान सुरु गरेका छन्।
  • विभिन्न समूहमा विभाजित माओवादी घटकहरू एकता र विभाजनको यात्रा तय गर्दै आएका छन्, जसले विभाजनको कारणबारे बहस सुरु गरेको छ।

नेपालको राजनीतिक इतिहासमा लामो सशस्त्र संघर्षबाट स्थापित भएको दल तत्कालीन नेकपा(माओवादी) अहिले अनेकौं घटकमा विभाजित भएको छ । त्यसकै प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्गदर्शक सिद्धान्त माओवाद र जनयुद्धकालीन विरासत परित्याग गर्दै एकीकृत समाजवादीमा समाहित भएपछि फेरि दुई शीर्ष नेता बाहिरिएका छन् । यसले विगतदेखिका विभाजन र त्यसको अन्तर्यबारे बहस सुरु भएको छ ।

निवर्तमान उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले एकीकृत समाजवादीमा समाहित हुने प्रचण्डको निर्णयमाथि प्रश्न उठाउँदै अलग भएर ‘प्रगतिशील अभियान, नेपाल’ सुरु गरेका छन् । यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने विभाजनको असर परिपूर्ति गर्दै आफ्नो नेतृत्वमाथिको संकट टार्न एकीकृत समाजवादीमा समाहित हुँदै अस्तित्व रक्षाको प्रयत्नमै छन् ।  

प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा(माओवादी )बाट विभाजित भएर मोहन वैद्य किरण बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोलको नेकपा(बहुमत) लगायत छन् । यी माओवादीका घटकहरु समयक्रममा एकता र विभाजनको यात्रा तय गर्दै आजको अवस्थामा आइपुगेका हुन् । २००६ सालमा स्थापित नेपालको कम्युनिष्ट आन्दोलनका मुख्यतया दुई धार नै अहिले बलशाली छन् । झापा विद्रोहबाट माले हुँदै एमाले बनेको कम्युनिष्ट कोअर्डिनेशन केन्द्र वाला धार र अर्को चौथो महाधिवेशन(चौम)वाला धार । झापा विद्रोहवालाहरु माले हुँदै आजको एमाले र चौम वालाहरु मसाल र माओवादीसम्म रहेका छन् । त्यही चौम धारकै माओवादी विभाजित भएर फेरि माथि उल्लेखित अनेकौं समूह पनि अहिले सक्रिय छन् ।

हालको एमालेको उदय नेपालको कम्युनिष्ट आन्दोलनकै एक घटकले २०२८ सालमा गरेको झापा विद्रोहबाट भयो भने चौम धारको उदय पनि २०२८ सालमा कम्युनिष्ट न्युक्लियसको नाममा संगठित हुँदै आजको माओवादी र मसालसम्म आइपुगेको हो । त्यही चौम धारकै एक घटकले नेपालको राजनीतिक इतिहासमै पलिोपटक चिनियाँ नेता माओत्सेतुङको आर्दश पछ्याएर नेकपा(माओवादी) गठन गर्दै दीर्घकालीन जनयुद्ध सुरु गरेको थियो । २०५२ सालबाट जनयुद्धको थालनी गरेर एउटा उचाई हासिल गर्दै ६२÷६३मा शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि माओवादीमा विभाजनको श्रृंखला सुरु भयो । र, अहिले पनि विभाजन र पूर्ववर्त माले धारकै एक समूहसँग एकताकै चरणबाटै गुज्रेको छ । 

करिब चार दशकदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्ड अहिले पनि पूर्ववत पार्टीकै मुख्य घटकको नेतृत्वमा रहँदै माधव नेपालसँगको एकतापछि पनि संयोजकको भूमिकासहित नेतृत्वमै दाहोरिएका छन् । उनैलाई साथ दिएर राज्यसत्ता विरुद्ध जेहाद छेड्दै चुनौती दिने अवस्थामा पुर्याएका उनका सहयात्री जनार्दन शर्मा र राम कार्की भने सँगै जान सकेनन् । 

मृत्यु या मुक्तिको शपथ खाएर युद्धमा हिँडेका प्रचण्डका मुख्य सहकर्मी किन प्रचण्डसँग रहन सकेनन् ? उनीहरु अलग हुन किन बाध्य भए ? यसको पृष्ठभूमि कसरी निर्माण भयो ? हिजो राज्य विरुद्धको विद्रोहमा साथमै रहेका नेताहरु शान्तिपूर्ण राजनीतिमा आउँदा अलग हुनुका अन्तर्यहरु यस आलेखमा खोतल्ने प्रयत्न गरिएको छ ।

करिब चार दशकदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्ड अहिले पनि पूर्ववत पार्टीकै मुख्य घटकको नेतृत्वमा रहँदै माधव नेपालसँगको एकतापछि पनि संयोजकको भूमिकासहित नेतृत्वमै दाहोरिएका छन् । उनैलाई साथ दिएर राज्यसत्ता विरुद्ध जेहाद छेड्दै चुनौती दिने अवस्थामा पुर्याएका उनका सहयात्री जनार्दन शर्मा र राम कार्की भने सँगै जान सकेनन् । 

त्यसका लागि सुरुमा माओवादी जनयुद्धको आधार तयार कसरी भयो भन्ने विषयमा चर्चा गर्न जरुरी छ । फरक पृष्ठभूमि र अलग व्यक्तित्वको संयोजनले नै माओवादी जनयुद्धले छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको थियो ।

माओवादी आन्दोलनका हस्तीहरु प्रचण्ड, मोहन वैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा बादल, चन्द्रप्रकाश गजुरेल(सिपी) लगायतका नेताहरुको संयुक्त पहलकदमीबाट नै माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु गरेको थियो ।

यिनै शीर्ष नेताहरुका आआफ्नै व्यक्तित्व र विशेषताले माओवादी जनयुद्धले निकै छोटो समयमा नै उच्चतम सफलता प्राप्त गरेको थियो । प्रचण्ड गतिशील(चातुर्यता), बादल सैन्य विज्ञानका ज्ञाता, वैद्य दार्शनिक एवं विचारक र बाबुराम विद्धान एवं राष्ट्रिय अन्तर्राष्ट्रिय छवि भएकाहरुको संयोजनले नै माओवादीमा आकर्षण बढाएको थियो । आधारभूत तहका जनता यिनै नेताहरुको संयोजनले इमान्दारिपूर्वक युद्धमा सहयोग र सहभागिता जनाएका थिए ।  

माओवादी जनयुद्धले अनेकौं आरोह अवरोह पार गर्दै अघि बढेको थियो । माओवादी नेताहरुकै भाषामा रक्षा, सन्तुलन र प्रत्याक्रमणको चरणमा प्रवेश गर्यो । यही क्रममा तत्कालीन सात संसदवादी दलसँग १२ बुँदे सहमति भएर नेपालको राजनीति अर्कै परिवेशमा परिणत हुन पुग्यो । अर्थात यहीबाट माओवादी आन्दोलन आफ्नो निर्दिष्ट लक्ष्यबाट नयाँ स्थानमा अवतरित भयो । 

त्यसो त जनयुद्ध सुरु भएकै पाँचवर्ष पछि नै माओवादी आफ्नो लक्ष्यबाट विमुख भएको आरोप पनि लगाइन्छ । २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनमै माओवादीले नयाँ जनवादी क्रान्ति छाडेर गोलमेच सम्मेलन, अन्तरिम सरकार संविधानसभाको एजेण्डा अघि सारेको थियो । तर, त्यो तत्कालीन कार्यनीति भएको माओवादी नेताहरु बताउँछन् । मूलभूतरुपमा निर्दिष्ट लक्ष्यमै केन्द्रित रहेर तत्कालीन राजनीतिक परिवेश अनुरुप उक्त एजेण्डा अघि सारिएको नेताहरुको जिकिर छ । 

यद्यपि, त्यसपछि विकसित भएका राजनीतिक घटनाक्रममा भने माओवादी नेतृत्वले आफ्नो घोषित लक्ष्यबाट विमुख हुनेगरी तत्कालीन सत्ता पक्षसँग सहमति गरेको थियो । माओवादी आन्दोलन उत्कर्षमा पुग्दै गर्दा शक्ति सन्तुलनको दृष्टिले आन्तरिक र बाह्य प्रभाव बढेपछि स्वभावतः अनेकौं शक्ति केन्द्रले आफ्नो अनुुकुलतामा प्रयोग गर्न खोजेको पनि तत्कालीन घटनाक्रमहरुबाट प्रष्ट हुन्छ ।

माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमै नेतृत्वको केन्द्रीकरणका नाममा पार्टीको सम्पूर्ण प्राधिकार प्रचण्डमा निहित गरिन्छ । र, यसले नै पार्टीमा विवाद र अन्तरसंघर्षको बिजारोपण गरेको छ । यसमा सिपी गजुरेल र बाबुराम भट्टराईले केही असहमतिसहित समर्थन जनाएका छन् । पार्टीको सम्पूर्ण प्राधिकार आफूमा निहीत गरेपछि त्यसयता प्रचण्ड, बाबुराम र वैद्यबीच अन्तरसंघर्ष कहिले मन्द र कहिले उग्ररुपमा हुँदै आएको छ । जनयुद्धको प्रारम्भिक चरणमा रामबहादुर थापा बादल र प्रचण्डको बीचमा टकराव केही बढेको छ । तर, जनयुद्धको उचाइ बढ्दै जाँदा अन्तरसंघर्ष वैद्य, बाबुराम र प्रचण्डकै वरिपरि त्रिपक्षीयरुपमै केन्द्रित भएको छ ।

जनयुद्धको उत्तरार्धमा बाबुराम–प्रचण्डको बीचमा मुख्य मतभेद लोकतान्त्रिक गणतन्त्र कि दरबारसँग सहकार्य भन्ने विषयमा नै केन्द्रित छ । अर्थात आजको लोकतात्रिक गणतन्त्रमा आउने या तत्कालीन राजा ज्ञानेन्द्र र सेनासँग मिलेर सत्ता हत्याउने विषयमा यी दुईको टसल जनयुद्धको उचाई बढ्दै जाँदा त्यो सँगसँगै निकै बढेको छ । यही क्रममा अर्का शीर्ष नेता मोहन वैद्यको भारतमा गिरफ्तारीले प्रचण्ड बाबुरामको तिक्तता झनै बढेर एकले अर्काप्रति शत्रुतापूर्ण व्यवहार समेत भएको छ । बाबुरामपक्षीय नेताहरुलाई कारबाही गर्नेदेखि यातना समेत त्यसक्रममा दिइएको छ ।प्रचण्ड पक्षले वैद्यको गिरफ्तारीमा बाबुराम पक्षको हात रहेको आरोप लगाउँदै केहीलाई निलम्बन गर्दै कतिपयलाई श्रम शिविरमा यातना समेत दिएको छ । तत्कालीन बाबुरामपक्षीय नेता देवेन्द्र पौडेलको निलम्बन र अर्का देवेन्द्र पराजुलीलाई शारिरिक यातना त्यसको उदाहरण हो । अहिले दुबै प्रचण्डसँगै छन् । 

दोस्रो राष्ट्रिय सम्मेलनमा सुरु भएको अन्तरसंघर्षको उच्चतम रुप २०६१ को रोल्पाको फुन्टीवाङ बैठक र त्यसपछिको रुकुममा बसेको लाबाङ बैठकमा बाबुरामसहित उनी पक्षीय नेताहरुलाई प्रचण्ड पक्षले कारबाही गरेर देखाएको छ । यसरी बाबुराम र उनी पक्षीय नेताहरुलाई कारबाही गर्ने स्थिति प्रचण्डको तत्कालीन राजासँग सहकार्य गर्ने प्रस्तावप्रति बाबुरामकै असहमतिले निम्तिएको हो । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ असोज १८ मा संसद विघटन गरेपछि राजासँग मिलेर प्रचण्ड सत्ता हत्याउन चाहेका थिए । उनले यो प्रस्ताव बाबुराम समक्ष पनि राखेका थिए । तर बाबुरामले ठाडै अस्वीकार गरेपछि उनी कारबाही गर्नेसम्मको मनस्थितिमा पुगेका हुन् । 

माओवादी निकट जानकार स्रोतका अनुसार त्यतिबेला दरबारले बाबुरामलाई कारबाही गरेपछि मात्रै सत्ता सहकार्य सुरु हुने सन्देश प्रचण्डलाई पठाएपछि उनले कारबाही गर्ने निर्णय लिएका थिए ।

यसरी प्रचण्ड बाबुरामको कटुता निकै बढेकै बेला रुकुमको खारास्थित तत्कालीन शाही सेनाको सैन्य क्याम्पमा प्रचण्डकै जोडबलमा हमला गरिएको थियो । र, त्यस आक्रमणमा माओवादी पक्षकै ठूलै क्षति हुन पुग्यो । पटक पटक असफल हुँदा पनि त्यहाँ आक्रमण गर्नुको उद्देश्य माओवादी लडाकुको मनोविज्ञान पूर्णतया पराजित गराएर प्रचण्ड शान्ति प्रक्रियामा अघि बढ्न चाहेका थिए ।

यता, राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीति पनि अर्कै स्थानमा पुगेको थियो । माओवादीसँग वार्ता गर्ने सन्देश पठाएका राजा ज्ञानेन्द्र स्वयंमले नै सत्ता आफ्नो हातमा लिएका थिए । यसले राजाबाट धोका भएको बुझेर प्रचण्ड अन्ततः बाबुरामको लाइन अनुरुप सात दलसँग सहकार्य गरेर लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न तयार हुँदै १२ बुँदे सहमतिको तारतम्य मिलाउन लागे । त्यसका लागि माओवादी वृत्तमा ऐतिहासिक भनिने चुनवाङ बैठक बसी बाबुरामको कारबाही फुकुवा गर्दै उनलाई सात राजनीतिक दलसँग सहकार्य गर्ने जिम्मा दिएर दिल्ली पठाइयो । 

यसक्रममा भएका राष्ट्रिय राजनीतिका अनेकौं घटनाक्रम र पार्टीको आन्तरिक राजनीतिबाट वैद्य पूर्णतया अनविज्ञ थिए, भारतीय जेलमा रहेका उनी जानकारी पाए पनि केही गर्न सक्ने अवस्थामा थिएनन् । उनको गिरफ्तारीलाई पनि माओवादीभित्र रहस्यमय परिघटनाका रुपमा चित्रण गरिन्छ । यद्यपि, यसको यथार्थता अझै पुष्टि हुन सकेको छैन ।

त्यसयता १२ बुँदेको जगमा २०६२/६३ को जनआन्दोलन सफल भयो र राजा संसद पुनस्र्थापना गर्न बाध्य भए । माओवादी पनि विस्तृत शान्तिसम्झौता गर्दै औपचारिक रुपमा शान्ति प्रक्रियामा प्रवेश गर्न पुग्यो । यहीबीचमा भारतीय जेलबाट वैद्य छुटे । उनले शान्तिप्रक्रियामा प्रवेशको प्रस्थानविन्दुका रुपमा रहेको चुनवाङ बैठकको विरोध गरे । त्यसपछि माओवादीमा पेचिलो ढंगले प्रचण्ड र वैद्यका बीचमा अन्तरसंघर्ष सुरु भयो । अन्ततः २०६९ मा वैद्य विभाजित भएर प्रचण्ड–बाबुरामबाट अलग हुन पुगे । यसरी माओवादीको मूलधारबाट प्रचण्डलाई नेतृत्व सुम्पिएका वैद्यको बहिर्गमन भयो । वैद्यको मूल असहमति संसदीय राजनीतिमा प्रवेशप्रति नै थियो । 

अहिले पनि उनी आफ्नो पूर्ववत अडानमा अडिग छन् । भलै, उनीसँग विभाजित भएर गएका अधिकांश नेताहरु प्रचण्ड नेतृत्वकै माओवादीमा फर्किए पनि वैद्य भने सानो समूहको नेतृत्व गर्दै संसदीय व्यवस्थाको विरोध गर्दै आएका थिए । पछिल्लो समय स्वास्थ्य अवस्थामा समस्या आएपछि पार्टी महासचिवको जिम्मा अर्का नेता सिपी गजुरेललाई सुम्पिएका छन् ।

यसरी युद्धरत माओवादी शान्तिप्रक्रियामा आउने निर्णय अर्थात लोकतान्त्रिक गणतन्त्रमा प्रवेशको प्रस्थानबिन्दुका रुपमा रहेको चुनवाङ बैठकमै असहमति जनाएका वैद्य प्रचण्डसँग अहिले पनि रुष्ट छन् । उनले त्यहीबाट जनयुद्धमाथि धोकाधडी भएको बताउँदै आएका छन् ।

अर्का शीर्ष नेता बाबुरामको विभाजन भने अलि फरक छ । उनी संविधान सभाबाट २०७२ मा नयाँ संविधान जारी भइसकेपछि अलग भएका हुन् । माओवादी विभाजनमा वैद्य र बाबुरामको विभाजन नितान्त विपरीत दिशामा पुगेको छ । वैद्य प्रचण्ड क्रान्तिबाट विमुख भएर संसदीय राजनीतिमा अवतरण गरेकोमा असन्तुष्ट भएर अलग भए भने बाबुराम क्रान्तिको एक चरण सम्पन्न भइसकेको घोषणा गरेर बाहिरिए ।

अहिले बाबुराम माओवादीले आफ्नो निर्दिष्ट दायित्व बहन गरिसकेकाले त्यसको उपादेयता  सकिएको बताउँदै कम्युनिष्ट आन्दोलनले बाँकी कार्यभार पूरा गर्न नसक्ने निष्कर्षमा पुगेका छन् । अव समृद्धि र विकासको युग सुरु भएकाले त्यसको नेतृत्व पुरातन कम्युनिष्ट पार्टीले वहन गर्न नसक्ने निचोडमा उनी पुगेका छन् । त्यसैले उनी गैरकम्युनिष्ट दल गठन गरेर वैकल्पिक राजनीतिक अभियानमा लागेका छन् । यता, बैद्य भने अझै पनि क्रान्ति अपूर्ण भएको बताउँदै त्यसकै तयारीमा लागेको दाबी गर्छन् ।

यसरी संविधान निर्माण पछि माओवादी दुई विपरीत धारमा विभाजित हुन पुग्योे । बैद्य, प्रचण्ड विप्लव लगायतका दलहरु आफूलाई कम्युनिष्ट भन्न रुचाउने गर्छन् भने बाबुराम त्यसभन्दा अलगै वैकल्पिक धार निर्माणको  अभ्यास गरिरहेका छन् । तसर्थ, बाबुराम प्रचण्डको पुनर्मिलन राजनीतिक विचारधाराको दृष्टिले दुई विपरीत ध्रुवमा पुगेको छ । अर्का विप्लव पनि विभाजित भएको वैद्य नेतृत्वको दलबाटै नयाँ संसदीय व्यवस्था विरुद्ध क्रान्ति गर्ने भन्दै बाहिरिएका थिए । उनी अहिले कृषि कर्म हुँदै संसदीय राजनीतितर्फ मोडिएर दल दर्तातर्फ लागेका छन् । 

बाबुराम भने वैचारिक रुपमै पुरातन कम्युनिष्ट आवरणबाटै बाहिरिएर परम्परागत विरोधाभाषबाट मुक्त हुँदै राजनीतिक मार्ग नै परिवर्तन गरेर वैकल्पिक राजनीतिको प्रयोगमै क्रियाशील छन् । तर प्रचण्ड भने कम्युनिष्ट आवरणमै संसदीय राजनीतिकै असली खेलाडीमा परिणत भएर आफ्नो नेतृत्व रक्षाका लागि माधव नेपालको दलसँग समाहित भएर ‘नेपाली कम्युनिष्ट पार्टी’ बनाएका छन् । उनले मुखमा समाजवादको मन्त्र जपे पनि यही संसदीय व्यवस्थाको परम्परागत विरासतभन्दा दायाँबायाँ हुन चाहँदैनन्, यसमै रमाएका छन् ।

वैद्य यो व्यवस्था नै मान्दैनन्, भने विप्लव संसदीय चुनावको तयारीमै अघि बढेका छन् । बादल एमाले बनेर जनयुद्धलाई हिंसा देख्न थालेका छन् । यसरी माओवादी आन्दोलन जनयुद्धमार्फत उदय र शान्ति प्रक्रिया पश्चात पतनोन्मुख विभाजनका श्रृंखला पार गर्दै आजको अवस्थामा आइपुगेको छ । 

यहाँनेर स्मरणिय के छ भने माओवादीले जनयुद्ध सुरु गर्नु अगावै २०४८ सालको आम निर्वाचनपछि तेस्रो दलको रुपमा संसदमा रहेको थियो । माओवादीको पूर्ववत दल एकता केन्द्रको चुनावी मोर्चाका रुपमा रहेको संयुक्त जनमोर्चा संसदमा ९ सिटसहित तेस्रो दलका रुपमा रहेको थियो । त्यसको कार्यकाल पूरा हुन नपाउँदै २०५१ मा सो दल विभाजित गरी प्रचण्डले नेकपा(माओवादी)गठन गर्दै जनयुद्धमा होमिएका थिए । त्यसबेला हालका नारायणकाजी श्रेष्ठको समूह भने जनयुद्धमा असहमत भएर अलग हुँदै शान्तिपूर्ण राजनीतिमै सक्रिय थियो । शान्ति प्रक्रियापछि सोही प्रचण्ड र जनयुद्धमा जान असहमत भएका श्रेष्ठ समूह एकीकृत भएर बनेको माओवादी केन्द्र संसदमा एकपटक पहिलो हुँदै त्यसयता पूर्ववत तेस्रो स्थानमा खुम्चिन बाध्य छ ।

अर्कोतिर जनयुद्धका प्रमुख सहयात्री रहेका प्रचण्ड बाबुराम राजनीतिक रुपमा दुई अलग कित्तामा पुगेका छन् । अझै पनि कतिपय राजनीतिक लाभका विषयमा नजिक हुने प्रयत्न गरेपनि उनीहरुको निकटता अब नीतिगतरुपमै एकतामा परिणत हुने सम्भावना देखिँदैन । 

करिब चार दशक नेतृत्वमा रहेका प्रचण्डसँगै अन्तरविरोध सिर्जना भएर नै हालसम्म अधिकांश नेताहरु बाहिरिएको घटनाक्रमबाटै प्रष्ट हुन्छ । पछिल्लो जनार्दनको बहिर्गमन पनि त्यसकै निरन्तरता हो । प्रचण्डसँगकै राजनीतिक अन्तरविरोधले उनी बाहिरिन बाध्य भएका हुन् । 

प्रचण्डको विगतदेखिकै नेतृत्वको एकल केन्द्रीकरण र सोही अनुरुपको सांगठनिक संरचनाले पार्टीमा नयाँ पुस्ताको आकर्षण हुन सकेन । हालैको जेनजी विद्रोहले झनै विद्यमान परम्परागत दलको अस्तित्व नै संकटमा पारिदियो । यस्तो विषम परिस्थितिमा पार्टीलाई आजको युग सापेक्ष रुपान्तरित गर्नुपर्ने प्रस्ताव जनार्दन शर्माले उठाउँदै आएका थिए । 

उनले विगत दुई वर्षदेखि पार्टीभित्र लोकतान्त्रिकरण र पुस्तान्तरणको एजेण्डा उठाइरहेका थिए । त्यसको सम्बोधन विशेष महाधिवेशनमा गर्ने घोषणा गर्दै पार्टीका सम्पूर्ण सांगठनिक संरचना नै भंग गरेका प्रचण्ड अन्ततः त्यसबाट उम्किन एकीकृत समाजवादीसँग समाहित हुन पुगे । यथास्थितिमा गरिएको व्यक्तिमुखी उक्त एकताले कुनै ठोस परिणाम नदिने निष्कर्षमा पुगेका शर्मा र राम कार्कीले प्रचण्डको पार्टी एकता घोषणाकै दिन ‘प्रगतिशील अभियान, नेपाल’ गठन गर्दै नयाँ ध्रुवीकरणको सुरुआत गरेका छन् । 

यसैबीच प्रचण्ड समूहसँग विलय नभएर अलग भएका शर्माले माओवादीबाट विभाजित बाबुराम र विप्लवसँग फेरि नयाँ ढंगको सहकार्य सुरु गर्दै रुपान्तरण प्रक्रियामा सामेल हुने अठोट गरेका छन् । प्रचण्डकै नेतृत्वकालमा विभाजित माओवादी घटकहरुलाई समेट्दै रुपान्तरणसहित नयाँ ध्रुवीकरणको ऐतिहासिक पहल शर्माकै अगुवाइमा सुरु भएको छ । 

इतिहासप्रति गर्व गरेर मात्रै त्यसको रक्षा र वर्तमानको आवश्यकता सम्बोधन गर्न नसकिने जेनजी विद्रोहले प्रमाणित गरिसकेको तथ्यलाइ हृदयंगम गर्दै नयाँ मार्ग पहिल्याउन शर्मा लागिपरेका छन् । त्यसकै उपज परम्परागत मान्यताबाट माथि उठेर शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै आजको संकटलाई सम्बोधन गर्नेगरी नयाँ ध्रुवीकरणतर्फ उनले जोड दिएका छन् । यसले पूर्वमाओवादी, अन्य वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरुलाई समेत एकताबद्ध गर्दै परिवर्तित युग सापेक्ष वृहत्तर रुपान्तरणकारी शक्ति निर्माणमा जुटेका छन् । यो नै जेनजी विद्रोहको मर्म र अहिलेको नेपाली समाजलाई सम्बोधन गर्ने ऐतिहासिक पहलकदमी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शरद रिजाल
शरद रिजाल
लेखकबाट थप