बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

१० वाम एकता : बागमतीमा दोस्रो, मधेसमा चाैथाे बन्यो नेकपा

सोमबार, २४ कात्तिक २०८२, १७ : ००
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका १० वामपन्थी दल मिलेर नयाँ नेकपा पार्टी गठन भयो।
  • पार्टी एकताले संघीय, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिहरूको दलीय समीकरणमा परिवर्तन ल्याएको छ।
  • राष्ट्रिय सभामा नेकपा एकल बहुमतको नजिक पुगेको छ, तर आगामी निर्वाचनमा समीकरण फेरबदल हुनसक्ने सम्भावना छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० वटा वामपन्थी दल मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ । पार्टी एकतासँगै संघ, प्रदेशदेखि स्थानीय तहसम्म जनप्रतिनिनिधिको दलीय समीकरण परिवर्तन भएको छ ।

कात्तिक १९ गते १० वामपन्थी दल मिलेर एकता घोषणा गरे पनि निर्वाचन आयोगमा दल दर्ताकै प्रक्रिया जारी रहेकाले नयाँ दलले वैधानिकता पाइसकेको छैन । एकता प्रक्रियाले वैधानिकता पाएसँगै जनप्रतिनिधिमूलक निकायका दलीय समीकरणमा भने हेरफेर हुने भएको छ ।

जेनजी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको सरकारले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ । संसद् विघटन भएपछि राजनीतिक दलहरूमा एकता र ध्रुवीकरणको प्रक्रिया तीव्र गतिमा भइरहेको छ ।

चुनावमा भाग लिनका लागि निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म दल दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने व्यवस्था गरेको छ । आइतबार दल दर्ताका लागि आवश्यक कागजात लिएर आयोग पुगेका नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले एक/दुई दिनभित्र प्रमाणपत्र पाइसक्ने विश्सास लिएका छन् ।

संसद् विघटन भएकाले २०७९ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदले मान्यता पाउने छैनन् । यद्यपि सरकार गठन र संसद् विघटविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा छ । यदि संसद् पुनर्स्थापना भएमा दलहरूबिच किचलो झन् बढ्ने देखिन्छ ।

विघटित प्रतिनिधि सभामा पूर्वमाओवादीको ३२ र एकीकृत समाजवादीको १० सिट थियो । पार्टी एकीकरण गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि माओवादीबाट निर्वाचित सांसद जनार्दन शर्मा र सुदन किरातीले पार्टी पुनर्गठन गरी प्रगतिशील अभियान चलाएका छन् ।

एकीकृत समाजवादीबाट निर्वाचित १० सांसदमध्ये भ्रष्टाचार आरोपमा माधव कुमार नेपाल निलम्बित अवस्थामा थिए भने एकीकृत समाजवादीकै अर्का सांसद किसान श्रेष्ठ एमालेमा फर्किएका छन् । यस्तै, प्रेम आले निष्क्रिय छन् । बाँकी सात जना नेकपामै खुलेका छन् ।

संघीय संसद् विघटन भए पनि प्रदेश सरकार यथावत रहेकाले एकताका कारण सदस्य फेरबदल भएको हो । पार्टी विभाजनको असर अहिलेसम्म सातवटै प्रदेश सभामा नदेखिएको नेताहरूले बताएका छन् । एकता प्रक्रियामा नजोडिएका समूहमा केन्द्रीय समिति र संसदमा ४० प्रतिशत नपुग्ने भएकाले एकाधबाहेक सबै मूल पार्टीमै छन् ।

  • एकतापछि बागमतीमा नेकपा बन्यो दोस्रो ठुलो दल, मधेसमा चौथो

एकतापछि नेकपाको गण्डकी प्रदेश सभामा बाहेक सबैमा प्रदेशमा सिट बढेको छ । बागमतीमा एमालेलाई उछिनेर नेकपा दोस्रो ठुलो दल बन्न सफल भएको छ । यता मधेस प्रदेशमा नेकपा चाैथाे ठुलो दल बनेको छ ।

  • कोशी प्रदेश

९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपाको १७ सिट पुगेको छ । २०७९ को निर्वाचनमा माओवादीले १३ र एकीकृत समाजवादीले ४ सिट जितेका थिए । यस प्रदेश सभामा सबै भन्दा ठुलो दल नेकपा एमालेको ४० र दोस्रो ठुलो दल कांग्रेसको २९ सिट छ । एकताअघि पनि यो प्रदेशमा माओवादी तेस्रो दल थियो ।

  • मधेस प्रदेश

मधेस प्रदेश सभामा नेकपा चौथो ठुलो दल बन्न सफल भएको छ । एकतापछि नेकपाको १६ सिट पुगेको छ । नेकपाले यसअघि चौथो दल रहेको जनमत पार्टीलाई उछिनेको हो । १०७ सदस्यीय प्रदेश सभामा जनमत पार्टीको १३ सिट छ । २०७९ को निर्वाचनमा सबैभन्दा ठुलो दल एमालेको सभामुख सहित २४, दोस्रो ठुलो दल कांग्रेसको २२ र तेस्रो दल जसपा नेपालको १९ सिट छ ।

  • बागमती प्रदेश

बागमतीमा नेकपा दोस्रो ठुलो दल भएको छ । ११० सदस्यीय प्रदेश सभामा माओवादीका २१ र एकीकृत समाजवादीका ७ सांसद रहेकाले दोस्रो स्थानमा नेकपा पुगेको हो । यहाँ नेकपाका सांसद संख्या २८ पुगेको भने पहिलो दल कांग्रेसको ३७ र तेस्रो दलमा खुम्चिएको एमालेको २७ सांसद छन् ।

  • गण्डकी प्रदेश

२०७९ सालको निर्वाचनमा गण्डकी प्रदेश सभामा एकीकृत समाजादीले एक सिट पनि नजितेकाले पार्टी एकताका बाबजुद गण्डकी प्रदेश सभाको समीकरणमा फेरबदल भएको छैन । ६० सदस्यीय प्रदेश सभामा माओवादीले ८ सिट जितेको थियो । यहाँ पहिलो दल कांग्रेसको २७ र दोस्रो दल एमालेको २२ सिट छ ।

  • लुम्बिनी प्रदेश

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपाको १२ सिट पुगेको छ । यहाँ माओवादीको सभामुख सहित ११ र एकीकृत समाजवादीको एक सिट रहेकोमा एकीकृत पार्टीको कुल जनप्रतिनिधिको संख्या १२ पुगेको हो । यहाँ प्रदेश सभाको सबैभन्दा ठुलो दल एमालेको २९ र कांग्रेसको २७ सिट छ ।

  • कर्णाली प्रदेश

माओवादीको आधारभूमि रहेको कर्णालीमा नवगठित नेकपाको कुल सांसद संख्या १४ भएको छ । कर्णाली प्रदेश सभामा माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसद रहेकोमा पार्टी एकतापछि नेकपाका सांसद संख्या १४ पुगेको हो । ४० सदस्यीय प्रदेश सभामा कांग्रेसको १५ र एमालेको सभामुख सहित १० सिट छ ।

  • सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा नेकपाको १५ सिट पुगेको छ । ५३ सदस्यीय प्रदेश सभामा माओवादीको सभामुख सहित ११ र एकीकृत समाजवादीको ४ सिट थियो । यी दुवै दल मिलेर बनेको नेकपाको सांसद संख्या १५ पुगेको हो । प्रदेश सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको १८ सिट छ । यहाँ एमालेले १० सिट छ ।

  • राष्ट्रिय सभामा नेकपा एकल बहुमत नजिक

राष्ट्रिय सभामा नेकपा एकल बहुमत नजिक पुगेको छ । दुई वर्षअघि भएको निर्वाचनमा माओवादी १८ सिटसहित पहिलो दल बनेको थियो । राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८ सिट हुनका साथै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमसमेत एकता प्रक्रियामा जोडिएकाले नेकपाको कुल सिट २७ पुगेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा नेकपाको मात्र २७ सिट पुगेको हो ।

यद्यपि आगामी फागुन २० गते पदावधि सकिने एक तिहाइ सदस्यको निर्वाचन माघ ११ गते हुँदैछ । योपटक पदावधि सकिनेमा पूर्वमाओवादीको ७, एकीकृत समाजवादी र मनोनीत एक÷एक गरी ९ जना छन् । निर्वाचनको बेलासम्म समीकरण फेरबदल नभएमा निर्वाचनपछि नेकपाको १८ सिट कायम हुनेछ । अहिले राष्ट्रिय सभामा कांग्रेसको १६ र एमालेको १० सदस्य रहेको छ । आगामी निर्वाचनमा कांग्रेस÷एमालेले मात्र भागबण्डा गरेमा कांग्रेस पहिलो र एमाले दोस्रो दल बन्ने सम्भावना छ ।

  • स्थानीय तहमा कति पुग्यो ?

२०७९ को स्थानीय तह निर्वाचनमा माओवादीबाट २५ जना प्रमुख, ९६ जना अध्यक्ष, ३३ जना उपप्रमुख र ९५ जना उपाध्यक्ष निर्वाचित भएका थिए । एकीकृत समाजवादीबाट १२ जना प्रमुख र ११ जना अध्यक्ष गरी २३ जना विजयी भएका थिए । एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष, वडा सदस्यहरू निर्वाचन आयोगले अन्यमा राखिएकाले तथ्यांक प्राप्त भएको छैन । माओवादीबाट एक हजार ५३ वडाअध्यक्ष, ९६३ महिला वडा सदस्य, ९७३ दलित वडा सदस्य र एक हजार ८०७ सात वडा सदस्य निर्वाचित भएका थिए ।

रिक्त रहेका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि २०८१ मा भएको उपनिर्वाचनमा माओवादीले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष सहित १० सिट जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप