शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
ड्राइभिङ लाइसेन्स

सवारी लाइसेन्स : केन्द्रमा डेटा उपलब्ध गराउन विभागलाई सकस

तत्काल ३० लाख सेवाग्राहीको सास्ती अन्त्य नहुने
सोमबार, २४ कात्तिक २०८२, १७ : ३४
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • सरकारले ड्राइभिङ लाइसेन्स छपाइको काम सुरक्षण मुद्रण केन्द्रमार्फत सुरु गरेको छ।
  • दैनिक ५०० लाइसेन्स छाप्ने क्षमता भए पनि, लाखौं सेवाग्राहीले अझै लामो समय कुर्नुपर्ने अवस्था छ।
  • अत्यावश्यक परेका सेवाग्राहीले भने केही दिनमै लाइसेन्स पाउने व्यवस्था मिलाइएको छ।

काठमाडौँ । वषौँदेखि रोकिएका सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम अन्ततः सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत भएको छ ।

तत्कालका लागि अत्यावश्यक काम परेकाहरूले राहत पाए पनि राजस्व तिरेर वर्षौंदेखि कुरिरहेका लाखौँ सेवाग्राहीले भने आफ्नो लाइसेन्स हात पार्न अझै लामो समय कुर्नुपर्ने निश्चित छ ।

केन्द्रमार्फत दैनिक ५ सय वटा कार्ड छाप्ने प्रारम्भिक क्षमतासहित काम थालिएको छ, जबकि करिब ३० लाख नागरिक राजस्व तिरेर पनि हातमा स्मार्ट कार्डको सट्टा कागजको चिर्कटो बोक्न बाध्य छन् ।

यो सुस्त गतिले आम सेवाग्राहीको सास्ती तत्काल अन्त्य नहुने स्पष्ट देखिएको छ । यद्यपि, केन्द्रले आगामी ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने महत्त्वाकांक्षी लक्ष्य लिएको छ, जुन लक्ष्य पूरा गर्न हालको दैनिक उत्पादन क्षमतालाई कैयौँ गुणा बढाउनुपर्ने चुनौती छ ।

दैनिक ५ सयको दरले ३० लाखको ब्याकलोग सकाउन वर्षौँ लाग्ने निश्चित छ । तत्कालका लागि अत्यावश्यक सेवाग्राहीले राहत पाए पनि राजस्व तिरेर बसेका लाखौँ नागरिकले आफ्नो स्मार्ट लाइसेन्स हात पार्न लामो प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

यसअघि विभागले दैनिक ७ सय प्रतिसम्म लाइसेन्स छाप्दै आएको थियो । गत भदौ २३/२४ गतेको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनीबाट पूर्ण रुपमा क्षति पुग्यो ।

पुरानो लाइसेन्स प्रिन्टरदेखि विभागका समग्र उपकरणहरुमा क्षति पुग्यो । यसपछि विभागले सुरक्षण मुद्रण केन्द्रलाई तत्काल सवारी लाइसेन्स छपाइको जिम्मा दिएको छ ।

सुरक्षण मुद्रण केन्द्रसम्बन्धी ऐनमा सवारी लाइसेन्स केन्द्रले छाप्न पाउने व्यवस्था भएसँगै असारको पहिलो सातादेखि विभागले केन्द्रसँग सवारी लाइसेन्स छपाइका लागि सम्झौता गरिसकेको थियो । तर केन्द्रले तत्काल छपाइ अघि बढाउन सकेको थिएन । गत कात्तिक १२ गते केन्द्र र विभागसँग १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको छ ।

विभाग र केन्द्रसँग १२ लाख सवारी लाइसेन्स ६ महिनाभित्र छाप्ने सम्झौता भएको छ । सुरुमा दैनिक ५ सयका दरले छापेर पछि छपाइको संख्या बढाउँदै लैजाने केन्द्रले जनाएको छ । जसमा चिपको सट्टा सेक्युरिटी फिचरसहितको क्युआर कोड भएको लाइसेन्स उपलब्ध गराउनेछ । 

डेटा उपलब्ध गराउन सकस

गत शुक्रबार काभ्रेको पनौतिस्थित सुरक्षण मुद्रण केन्द्रबाट उद्घाटन भएको लाइसेन्स छपाइ नियमित छैन । सूचना प्रविधि तथा सञ्चार मन्त्री जगदीश खरेलले उद्घाटन गरेपछि नियमित सवारी लाइसेन्स छपाइ हुने बताइएको थियो । 

तर डेटा उपलब्ध गराउन नसक्दा छपाइ हुन नसकेको विभागका निर्देशक नरहरि तिवारीले बताएका छन् । उनले प्राविधिक समस्याका कारण छपाइ ढिला भएको स्वीकार गरेका छन् । 

‘कार्डको डिजाइन उहाँहरूले दुई किसिमको पेस गर्नुभएको छ । एउटा चिल्लो खालको छ । डिजाइन ड्रइङ त फिक्स भइसकेको अवस्था हो । अब, उहाँहरूले मागेको डेटा कस्तो, कुन फम्र्याटमा डेटा दिने भन्ने विषयमा छलफल भएको छ । एक चरणको डेटा गइसकेको छ,’ तिवारीले भने, ‘डेटालाई छापिनी मोडालिटीमा त्यसलाई लानुर्‍पयो । पुरानो प्रणालीको डाटालाई नयाँ छपाइ मेसिनको प्रणालीअनुकूल बनाउन ब्रिजिङ गर्नुपर्छ, त्यसका लागि एप्लिकेसन तयार हुँदै छ, यो प्राविधिक काम सकिएपछि रोकिएका सबै लाइसेन्सको छपाइ क्रमशः अघि बढ्छ ।’

यस्तै विभागले छिटो डेटा उपलब्ध गराउन सके छिट्टै छपाइको काम अघि बढ्ने उनको भनाइ छ ।  

अत्यावश्यक लाइसेन्सका लागि निवेदन 

विदेश जाने वा अन्य अत्यावश्यक काम परेका सेवाग्राहीले भने केही दिनमै लाइसेन्स पाउने भएका छन् । यातायात व्यवस्था विभागले ‘अर्जेन्ट लाइसेन्स छपाइ सम्बन्धी कार्यविधि, २०८१’ ल्याएर अत्यावश्यक सेवाग्राहीलाई राहत दिने व्यवस्था एक वर्षदेखि सुरु भएको थियो । सोही व्यवस्थाअनुसार सुरक्षण मुद्रण केन्द्रबाट पनि अत्यावश्यक सवारी लाइसेन्स छपाइ गरिने जनाएको छ ।

विभागका निर्देशक नरहरि तिवारीका अनुसार वैदेशिक रोजगारी, शान्ति मिसन वा अध्ययनका लागि विदेश जानुपर्ने जस्ता जरुरी अवस्थाका व्यक्तिहरूले भौतिक रूपमा कार्यालयमा निवेदन दिएको केही दिनभित्रै लाइसेन्स प्राप्त गर्न सक्नेछन् ।

‘हामीले अत्यावश्यक पर्नेहरूका लागि नयाँ कार्यविधि बनाएका छौँ । उहाँहरूले निवेदन दिएपछि सुरक्षण मुद्रण केन्द्रबाट छापेर तत्काल उपलब्ध गराउने व्यवस्था मिलाइएको छ,’ निर्देशक तिवारीले भने ।

सुरक्षण मुद्रण केन्द्रबाट दैनिक ५०० देखि ७०० सम्म यस्ता अत्यावश्यक लाइसेन्स छापेर वितरण गरिनेछ । यसका लागि तत्काल अत्यावश्यक सवारी लाइसेन्स सेवाग्राहीले यातायात व्यवस्था विभागमा गएर भौतिक रुपमा निवेदन दिन सक्ने विभागले जनाएको छ ।

यसअघि भौतिक र अनलाइन दुवै प्रणालीबाट यस्तो निवेदन दिन सकिन्थ्यो । तर अहिले विभागको वेबसाइट सुचारु नभएका कारण तत्काल भौतिक रुपमा निवेदन दिनुपर्नेछ । 

१० वर्षे म्याद भएको लाइसेन्स छापिने 

सरकारले सवारी लाइसेन्स नवीकरण गर्ने म्याद ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याएको छ । यससँगै अब छापिने सवारी लाइसेन्स १० वर्षे म्याद भएको आउने यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागका अनुसार अब सुरक्षण मुद्रण केन्द्रमार्फत छापिने लाइसेन्स १० वर्षे म्याद उल्लेख भएर आउनेछ । यसअघि सवारी लाइसेन्सको म्याद ५ वर्ष हुने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा व्यवस्था गरिएको थियो ।

यस्तै सवारी लाइसेन्स नपाउँदै नवीकरण गर्नुपर्ने म्याद गुज्रिएका सेवाग्राहीहरूको लाइसेन्स तत्काल नछापिने तर प्रणालीमा जीवितै रहने विभागले जनाएको छ । उनीहरूले ‘नागरिक एप’ मार्फत डिजिटल लाइसेन्स हेर्न र प्रयोग गर्न सक्नेछन् । 

पछि भौतिक कार्ड प्राप्त हुँदा त्यसमा नयाँ १० वर्षे म्याद उल्लेख भएर आउने निर्देशक तिवारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप