जनतालाई आर्थिक अभियानमा जोड्ने र राजनीतिक पुनर्संरचना गर्ने लक्ष्यसहित अघि बढेका छौँ : ओम शर्मा
सारांश
- नेकपा माओवादी केन्द्र परित्याग गरेका ओम शर्माले प्रगतिशील राष्ट्रिय अभियानमार्फत देशको आर्थिक पुनर्संरचना गर्ने लक्ष्य लिएका छन्।
- शर्माले पुरानो पार्टी सत्ता मोहमा फसेको आरोप लगाउँदै जनताको जीवनस्तर परिवर्तन गर्न नयाँ बाटो रोजेको बताए।
- उनले युवा, बुद्धिजीवी र परिवर्तनकारीहरूलाई अभियानमा साथ दिन आह्वान गर्दै देशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) परित्याग गरेर प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय भएको घोषणा गरेका नेता ओम शर्माले आफ्नो अबको यात्रा जनतालाई आर्थिक अभियानसँग जोड्ने र देशको राजनीतिक प्रणालीमा पुनर्संरचना गर्ने लक्ष्यमा केन्द्रित हुने बताएका छन् ।
बुधबार राति फेसबुक लाइभमार्फत उनले परम्परागत सत्ता केन्द्रित राजनीतिले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको निष्कर्षसहित आफूहरू नयाँ बाटोमा हिँडेको स्पष्ट पारे ।
आजै उनले एक विज्ञप्ति जारी गरेर पार्टी परित्याग गरेर प्रगतिशील अभियानमा लागेको घोषणा गरेका थिए ।
शर्माले प्रगतिशील राष्ट्रिय अभियानको मुख्य उद्देश्य नै देशलाई आर्थिक समृद्धिको दिशामा लैजानु र राजनीतिक विकृतिहरूलाई अन्त्य गर्नु रहेको बताए ।
'हामीले वर्षौँदेखि सत्ता र सरकारको खेल मात्र देख्यौँ, तर जनताका आधारभूत समस्या जस्ताको तस्तै रहे,’ शर्माले भने, ’अब हाम्रो सम्पूर्ण प्रयास जनतालाई उत्पादन र आर्थिक उपार्जनसँग जोड्ने र त्यसका लागि आवश्यक राजनीतिक वातावरण निर्माण गर्नेमा हुनेछ ।’
आफ्नो पूर्व पार्टी माओवादी केन्द्रप्रति असन्तुष्टि व्यक्त गर्दै उनले शान्ति प्रक्रियापछि पार्टीले जनताका मुद्दाहरूलाई बिर्सेर सत्ताको मोहमा फसेको आरोप लगाए ।
'शान्ति प्रक्रियामा आएपछि हामीले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा दिमाग लगाएर परिवर्तन ल्याउनुपर्थ्यो, तर त्यसो हुन सकेन,’ उनले भने, ’जनताका आशाहरू ओरालो लागेको देखेपछि हामीले यो कठोर निर्णय लिन बाध्य भयौँ ।’
शर्माले आफ्नो अभियान कुनै पद वा सत्ताका लागि नभई देश र जनताप्रतिको जिम्मेवारीबोधबाट प्रेरित भएको दाबी गरे । उनले देश तथा विदेशमा रहेका तमाम युवा, बुद्धिजीवी र परिवर्तनकामीहरूलाई आफ्नो अभियानमा जोडिन आह्वान गरेका छन् ।
'अब थोत्रा पार्टीहरूको विकल्प खोज्ने बेला आएको छ। हामीले देश छाडेर जान बाध्य भएका लाखौं युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने र राजनीतिको फोहोर सफा गर्ने अठोट लिएका छौँ,’ उनले भने ।
शर्माले जनयुद्धदेखि सक्रिय पार्टी छाडेर नयाँ यात्रामा लागेको बताउँदै गर्दा भावुक समेत भएका थिए । उनी ०४१ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण