बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

नियुक्त भएपनि ‘अलपत्र’ अवस्थामा मधेसका मन्त्री !

एक दुई दिनमा अवस्था सामान्य हुने विश्वास
बिहीबार, २७ कात्तिक २०८२, ११ : ५६
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • एमाले नेता सरोजकुमार यादवको नेतृत्वमा बनेको मधेस प्रदेश सरकार अन्योलमा परेको छ।
  • सर्वोच्च अदालतको अन्तरिम आदेश र दलहरूको विरोधका कारण मन्त्रीहरू मधेस भवन प्रवेश गर्न पाएका छैनन्।
  • मन्त्री लखन दासले केही दिनमा अवस्था सामान्य हुने र विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरे।
00:00 / NaN:NaN
Audio By AI

जनकपुरधाम । मधेस प्रदेश सभा अन्तर्गत एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा कात्तिक २४ गते गठन भएको सरकार अन्योलमा परेको छ ।

एकातिर मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन र अर्कोतिर प्रदेश सभाका झन्डै दुई तिहाइ प्रदेश सभा सदस्यसहित अधिकांश राजनीतिक दल सडकमा उत्रिएका छन् । यस्तो अवस्थामा मधेस सरकार दोहोरो दबाबमा छ ।

सर्वोच्च अदालतले दीर्घकालीन प्रभाव पार्ने काम नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ भने कानुनी र सडक संघर्षका मोर्चामा एकसाथ अघि बढेका दलहरूले मुख्यमन्त्री तथा मन्त्रीहरूलाई मधेस भवन प्रवेश गर्न नदिने अडान लिएका छन् ।  जसका कारण मन्त्रीहरु ‘अलपत्र’ अवस्थामा छन् । मधेसमा यादव नेतृत्वको मन्त्रिपरिषद्मा राप्रपाबाट कन्चन बिच्छा, एमालेका लखन दास र संघीय समाजवादीबाट बिमला अन्सारी मन्त्री  छन्। उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

मन्त्री लखन दास भने केही दिनमा अवस्था सामान्य हुने विश्वासमा छन् । विना विभागीय मन्त्रीका रूपमा रहेका दासले न्यायालयबाट आफूहरूको पक्षमा फैसला आउने अपेक्षा गरे ।

‘संवैधानिक सर्वोच्चतालाई ख्याल गरेरै यो सरकार निर्माण भएकाले सर्वोच्च अदालतले हामीहरूकै हकमा फैसला गर्नेछ भन्ने मलाई विश्वास छ,’ मन्त्री दासले भने, ‘रह्यो विश्वासको मतको कुरा, मुख्यमन्त्रीजी काठमाडौँ पुग्नु भएको छ । त्यहाँ विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल गरेर उहाँले विश्वासको मत पाउने वातावरण सिर्जना गर्नुहुन्छ ।’

नवनियुक्त प्रदेश प्रमुखले पदभार ग्रहण गरेलगत्तै प्रदेश प्रमुखसँग पनि छलफल गरिने मन्त्री दासले बताए । त्यसपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे छलफल हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप