कोशीमा हर्क र कुलमान प्रभाव : एमालेको ‘गढ’मा नयाँ दलको काउन्टर
सारांश
- कोशी प्रदेशको निर्वाचनमा एमालेको दबदबा रहेको थियो, तर नयाँ राजनीतिक शक्तिहरूले परम्परागत दलहरूलाई चुनौती दिने देखिएको छ।
- हर्क साम्पाङको श्रम संस्कृति पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र योगी मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी जस्ता नयाँ दलहरूको उदय भएको छ।
- यी नयाँ शक्तिहरूबीच एकताको अभाव छ, तर उनीहरू पुराना दलहरूप्रति असन्तुष्ट रहेका मतदातालाई आकर्षित गर्न सक्ने सम्भावना छ।
विराटनगर । २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमालेको दबदबा थियो । कोशीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्रमध्ये एमालेले १३, नेपाली कांग्रेसले ९, माओवादीले ३, राप्रपा र जसपाले १–१ र स्वतन्त्रले १ निर्वाचन क्षेत्र जितेका थिए ।
यस्तै प्रदेशतर्फ ५६ निर्वाचन क्षेत्रमध्ये एमालेले २५, कांग्रेसले १७, माओवादीले ९, नेकपा (एकीकृत समाजवादी)ले ३ र राप्रपाले २ निर्वाचन क्षेत्रमा जितेका थिए ।
समानुपातिक मतलाई हेर्न हो भने पनि कोशीमा नेकपा एमालेले ६ लाख ४२ हजार ३४ मत ल्याएर ठुलो पार्टी बन्यो । कांग्रेसले ५ लाख ५५ हजार २२७ मतका साथ दोस्रो, रास्वपा २ लाख १४ हजार ८१० मतका साथ तेस्रो, माओवादी केन्द्र १ लाख ८८ हजार ६८२ मतका सात चौथो, राप्रपा १ लाख ३० हजार ४०३ मतका साथ पाँचौँ, जसपा ५३ हजार २४० मतका साथ छैटौँ र नेकपा एकीकृत समाजवादी पार्टीले ४६ हजार २४६ मतका साथ सातौँ भएको थियो ।
यस्तै डा. सीके राउतको जनमत पार्टीले १८ हजार ६५९ मत पाएको थियो ।
जेनजी आन्दोलनपछि परम्परागत दलहरूको वर्चस्वमाथि गम्भीर प्रश्न उठिरहेका बेला आगामी फागुन २१ मा निर्वाचन भए यो जनमतमा निकै फेरबदल हुने सम्भावना छ ।
लामो समयदेखि सत्ताको बागडोर सम्हालेका एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रजस्ता दलहरूको ‘भोट बैंक’ खल्बलिएको छ, जसको प्रत्यक्ष फाइदा नयाँ र वैकल्पिक शक्तिहरूले उठाउने देखिन्छ ।
कोशी प्रदेशमा पहिचानको आन्दोलनदेखि स्वतन्त्र अभियानसम्मले नयाँ राजनीतिक दलहरूलाई जन्म दिएका छन् । हर्क साम्पाङको श्रम संस्कृति पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र योगी मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टीहरू परम्परागत ठुला पार्टीलाई टाउको दुखाइ बनेका छन् ।
यद्यपि यी तीन प्रमुख नयाँ शक्तिहरूले फरक–फरक वैचारिक धरातलमा आफ्नो राजनीति अघि बढाएका छन् । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा बनेको श्रम संस्कृति पार्टीको मूल मन्त्र ‘हर्कवाद’ हो, जसले श्रम, उत्पादन र निर्माणलाई केन्द्रमा राख्छ । पार्टीका प्रवक्ता सत्य घलेका अनुसार उनीहरू पहिचानवादी नभई ‘संस्कृतिवादी’ हुन् र सबै संस्कृतिलाई सम्मान गर्छन् ।
उनीहरूको अभियान सत्ता प्राप्तिको लागि मात्र नभएर देशव्यापी रूपमा श्रमको संस्कृति स्थापना गर्ने ‘महाअभियान’ हो । ‘चुनावमा जानुपर्ने बाध्यताले मात्र पार्टी दर्ता गरिएको हो, हाम्रो मुख्य उद्देश्य श्रमदान अभियानलाई देशव्यापी बनाउनु हो,’ घलेले भने ।
कुलमान घिसिङको राष्ट्रिय छविलाई आधार बनाएर गठन भएको उज्यालो नेपाल पार्टीले आफूलाई संघीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको पक्षधरका रूपमा उभ्याएको छ ।
पार्टीका केन्द्रीय सदस्य डकेन्द्र सिं थेगिमका अनुसार यी सिद्धान्तहरूले नै पहिचानको मुद्दालाई समेट्छन् । ‘लिम्बुवान, खम्बुवानजस्ता जातीय नाममा पार्टी खोलिराख्नु आवश्यक छैन । पहिचानको मुद्दालाई गलत तरिकाले बुझिएको छ,’ उनले भने । उनी कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनका संयोजकसमेत थिए । उनीसहित कुलमानको पार्टीमा पहिचानवादी डाक्टर महेन्द्र लावतीहरूसमेत संलग्न छन् ।

जीवन विकास लघुवित्तका संस्थापक योगी मण्डलले नेतृत्व गरेको राष्ट्रिय ऊर्जाशील पार्टीको मुख्य एजेन्डा भ्रष्टाचार र खराब नियतविरुद्ध हो । उनी समानुपातिक प्रणालीको दुरुपयोग भएको भन्दै आफ्नो पार्टीमा अध्यक्ष र पदाधिकारीको तीन पुस्ता तथा केन्द्रीय सदस्यको दुई पुस्तासम्मका कसैले पनि समानुपातिकमा अवसर नपाउने विधान बनाउने बताउँछन् । उनको मूल मन्त्र ‘नेपालवाद’ हो । ‘हाम्रो लागि कुनै पनि वादभन्दा नेपालवाद ठुलो हो । सफा नियत र देश बनाउने योजनामा सहमत हुने जो कोहीसँग सहकार्य गर्न तयार छौँ,’ उनी भन्छन् ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलका अनुसार यो नयाँ राजनीतिक तरंग जेनजी आन्दोलनको उपज हो । जसले परम्परागत दलहरूको जग हल्लाइदिएको छ । ‘पुराना दलहरूको भोट बैंक अब सुरक्षित छैन, त्यो खलबलिएको छ ।’

पोखरेलका अनुसार यी नयाँ शक्तिहरूमध्ये कुलमान घिसिङको पार्टीले परम्परागत दलहरूलाई सबैभन्दा गम्भीर र राष्ट्रियस्तरकै चुनौती दिन सक्छ । ‘कुलमानको छवि कुनै जाति वा क्षेत्र विशेषमा सीमित छैन,’ उनी भन्छन्, ‘उनीसँग महेन्द्र लावतीजस्ता रणनीतिकारहरू छन्, जसले जनजाति मात्र नभई आम मतदातालाई पनि आकर्षित गर्न सक्छ ।’
तर एकता अभाव
यी नयाँ शक्तिहरूले पुराना दलहरूप्रतिको वितृष्णालाई आफ्नो पक्षमा पार्ने सम्भावना बोके पनि उनीहरूबिच एकताको अभाव छ । कोशी प्रदेशको पहिचानको आन्दोलनबाटै उदाएका डकेन्द्र थेगिम र हर्क साम्पाङबिच नै ‘कम्युनिकेसन ग्याप’ रहेको थेगिम स्वीकार्छन् ।
इलामको उपनिर्वाचनका क्रममा ११ हजार बढी मत आउनुमा हर्क साम्पाङको महत्त्वपूर्ण सहयोग रहेको र त्यसप्रति पूर्ण सम्मान रहने उनी बताउँछन् । तर, पार्टी निर्माण प्रक्रियामा सम्पर्क हुन नसक्दा छुट्टै अघि बढ्नुपरेको उनको भनाइ छ । यद्यपि, भविष्यमा साम्पाङको पार्टीसँग एकता गर्ने पहिलो प्रयास हुने र त्यो सम्भव नभए चुनावी मोर्चाबन्दी गर्ने ढोका खुला राखेको उनले बताए ।
साम्पाङको दल श्रम संस्कृति पार्टीका प्रवक्ता घले पनि विचार र व्यहार मिल्नेहरूसँग एकता गर्दै अगाडि बढ्न सकिने बताउँछन् । उता, योगी मण्डल पनि सहकार्यका लागि तयार छन्, तर उनको सर्त छ, ‘नियत सफा हुनुपर्यो र देश बनाउने योजनामा सहमति हुनुपर्यो ।’ विश्लेषक पोखरेल भन्छन्, ‘यी नयाँ शक्तिहरूले पुराना दलहरूलाई ठुलो क्षति पुर्याउने निश्चित छ, तर उनीहरू आफैंमा एक हुन नसके त्यसको पूर्ण लाभ लिन सक्दैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण