शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बिहार विधानसभा : युवा नेतृत्व किन अस्वीकार्य ?

शुक्रबार, २८ कात्तिक २०८२, १२ : ५०
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • बिहार विधानसभा निर्वाचनमा एनडीए गठबन्धनले बहुमत पाउने देखिएको छ।
  • तेजस्वी यादव युवा भए तापनि मतदाताले नीतीश कुमारलाई रोजे, जसले गर्दा हारको कारण बन्यो।
  • नीतीश कुमारले महिला केन्द्रित योजना र मदिरा प्रतिबन्धलाई कायमै राख्ने अडान लिए।

पटना । भारतको बिहार राज्यको विधानसभा निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मत परिणामले भारतीय जनता पार्टी र जनता दल युनाइटेड सम्मिलित ‘एनडीए’ गठबन्धनले सहजै बहुमत पाउने देखाएको छ ।

सुरुवाती मत परिणाममा एनडीए गठबन्धनले १८० सिटभन्दा बढीमा अग्रता लिएको छ । जबकि बिहार विधानसभामा बहुमतका लागि कम्तीमा १२२ सिट आवश्यक हुन्छ ।

अर्कोतिर आरजेडी, कांग्रेस र वामपन्थी दलसहितको गठबन्धनले करिब ५५ सिटमा अग्रता बनाएको छ ।

एनडीए गठबन्धनमा वर्तमान मुख्यमन्त्री नीतीशकुमार यादवलाई नै भावी मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ भने आरजेडी–कांग्रेस गठबन्धनले आरजेडी नेता तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अघि सारेर चुनाव प्रचार गरेको थियो । तेजस्वी बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा हुन् ।

युवा हुनका बाबजुद बिहारमा तेजस्वीको जादु किन चलेन भन्नेबारे चर्चा भइरहेको छ । उनको दल आरजेडीले १४४ सिटमा उम्मेदवारी दिएको थियो । यसमध्ये ३६ प्रतिशत अर्थात् ५२ जना उम्मेदवार यादव समुदायकै थिए । बिहारमा यादव समुदायको जनसंख्या करिब १४ प्रतिशत रहेको जनाइएको छ । यद्यपि आरजेडीले यादव समुदायलाई नै प्राथमिकता दिएर उम्मेदवार खडा गरेका कारण अन्य समुदायको भोट तान्न नसकेको जानकारहरू बताउँछन् ।

अर्कोतिर तेजस्वी यादवले आफ्ना सहयोगी दल कांग्रेस, वामपन्थी तथा अन्य साना दललाई उपेक्षा गर्नु पनि पराजयको एक कारण बनेको विश्लेषक बताउँछन् ।

कांग्रेसका नेता दिग्विजय सिंहले आफूलाई जे शंका लागेको थियो, चुनावको प्रारम्भिक मत परिणामले त्यही देखाएको बताए । मतदाता नामावलीमा ६२ लाख नाम काटिएको र २० लाख नयाँ नाम थपिएको जिकिर गर्दै उनले यसबाट पनि नतिजामा फरक परेको बताए । उनले कांग्रेसले अब आफ्नो संगठनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

नीतीशकुमारले कसरी मारे बाजी ?

मुख्यमन्त्री नीतीशकुमारले निर्वाचन मिति घोषणा हुनु अघि ७५ हजार महिलाको बैंक खातामा १०–१० हजार रुपैयाँ पठाए । महिला केन्द्रित सरकारी योजना अन्तर्गत यसरी सामाजिक सुरक्षा रकम प्रदान गरिएको थियो, जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नै दिल्लीबाट उक्त योजना उदघाटन गरेका थिए । पछि यो योजना अन्तर्गत एक करोडभन्दा बढी महिला लाभान्वित भएको बताइएको छ । यो योजनाले ठुलो संख्यामा महिलाको भोट एनडीए गठबन्धनका उम्मेदवारका पक्षमा गएको छ ।

तेजस्वी यादवले एनडीए सरकारको यो योजनालाई काउन्टर दिँदै आफू सरकारको नेतृत्वमा पुगे ३०–३० हजारका दरले महिलाको खातामा रकम पठाउने घोषणा गरे । तर नगद प्राप्त गरिसकेका महिलाका लागि उधारो प्रतिबद्धताले लोभ्याउन सकेन ।

मदिरामाथिको प्रतिबन्धका कारण पनि बिहारमा गरिब, विपन्न परिवार तथा खासगरी त्यस्ता परिवारका महिला र नवयुवाहरूले नीतीशकुमारलाई रुचाएका छन् । विपक्षी खेमामा रहेको जन सुराज पार्टीका नेता प्रशान्त किशोरले आफूहरूको सरकार बनेमा मदिरामाथिको प्रतिबन्ध हटाउने घोषणा गरे । तेजस्वी यादवले यसबारे कुनै प्रतिक्रिया जनाएनन् । तर नीतीशकुमार भने मदिरामाथिको प्रतिबन्ध कुनै पनि हालतमा नहटाउने पक्षमा अडिग देखिए । बिहारका मतदाताले पनि नीतीशकुमारको यो अडानलाई साथ र समर्थन गरेको देखिन्छ ।

उमेरले पाको भए पनि नीतीश कुमारले बिहारमा गरेको विकास निर्माण, सुशासन र गरिब तथा विपन्नमुखी विभिन्न योजना र निर्णयका कारण अझै पनि बिहारका जनताले युवा तेजस्वीको तुलनामा उनीमाथि नै भरोसा देखाएको यो निर्वाचनको प्रारम्भिक मत परिणामले संकेत गरेको छ ।

(विभिन्न भारतीय सञ्चारमाध्यमको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप