शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

कांग्रेसमा महाधिवेशन विवाद मिलाउने जिम्मा चार शीर्ष नेतालाई दिन प्रस्ताव

शुक्रबार, २८ कात्तिक २०८२, १७ : १२
शुक्रबार, २८ कात्तिक २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन चार शीर्ष नेतालाई दिने प्रस्ताव भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई विवादमा सहमति जुटाउन दिने प्रस्ताव भएको हो । 

ललितपुरको धोबीघाटमा बिहीबार बसेको कार्यसम्पादन समिति बैठकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले प्रस्ताव गरेकी हुन् । सहमहामन्त्री उपाध्यायले प्रस्ताव पेस गर्ने बित्तिकै पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालाले आफूले त्यस्तै प्रस्ताव गर्ने तयारी गरेको भन्दै त्यही प्रस्तावलाई समर्थन गर्ने बताएका थिए । त्यो प्रस्तावलाई संस्थापन पक्षका सहमहामन्त्री किशोरसिंह राठौरले पनि समर्थन गरेका थिए । 

महामन्त्री उपाध्यायले आफूले महाधिवेशनसम्बन्धी विवाद मिलाउनका लागि चार शीर्ष नेतालाई जिम्मेवारी दिन प्रस्ताव गरेको पुष्टि गरिन् । ‘हो मैले चार शीर्ष नेतालाई महाधिवेशनसम्बन्धमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी दिन प्रस्ताव गरेकी थिएँ,’ उपाध्यायले रातोपाटीसँग भनिन्, ‘त्यो प्रस्तावमा शेखर लाई (डा. शेखर कोइराला)सहितका नेताहरूले समर्थन गरेपछि हुन्छ भन्ने भएको छ । निर्णय भइसकेको छैन ।’

त्यो प्रस्तावमा संस्थापन र इतर समूहका नेताहरूले बैठकमा समर्थन गरेका थिए । सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत तथा कार्यसम्पादन समिति सदस्यहरू बलबहादुर केसी, रमेश लेखक, जीपछिरिङ लामा, रमेश रिजाल, जीवन शाहीले समर्थन गरेका थिए । केही नेताहरूले भने सहमति जुटाउने समूहमा सहमहामन्त्री महेन्द्र यादवलाई पनि राख्न प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा पनि नेताहरू सकारात्मक रहेको सहमहामन्त्री उपाध्यायले बताइन् । 

पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुंग्याउन गत असोज २८ गतेबाट सुरु केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यसै दिन उनको कार्यतलिकालाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए । 

थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका नेताहरू र यादवको कार्यतालिकालाई संस्थापनका नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दा समर्थन गरेपछि विवाद मिल्न सकेको छैन । 

बिहीबारसम्म केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यहरू र पदाधिकारीले धारणा राख्ने क्रम सकिएको छ । महाधिवेशन कहिले गर्ने सन्दर्भमा दुई पक्षबीच विवाद मिल्न नसकेपछि केन्द्रीय कार्यसमिति बैठक रोकेर शनिबारका लागि बोलाइएको छ । विवाद मिलाउने प्रयास गर्न कार्यवाहक सभापति खड्काले शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । 

अर्कोतर्फ महामन्त्री थापाले बिहीबारको बैठकमा धारणा राख्दै विशेष महाधिवेशनका लागि मंसिर २७ गतेको मिति प्रस्ताव गरेका छन् । विशेष महाधिवेशन माग गर्दै २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति खड्कालाई असोज २९ गते हस्ताक्षर बुझाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप