शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि  पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

आइतबार, ३० कात्तिक २०८२, ०६ : ३०
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • भोजपुरका स्थानीयले खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि सहज महसुस गरेका छन्।
  • ८० मिटर लामो पुल बनेपछि षडानन्द नगरपालिकाका वडा ७ र ११ का स्थानीयको वर्षौंदेखिको समस्या समाधान भएको छ।
  • पुल निर्माणले स्थानीयको दैनिकी सहज बनाएको छ र आवतजावतमा हुने समस्या हटेको छ।

भोजपुर । ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ । षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो  खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो ।

बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताइन् । विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उनको भनाइ छ । अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताइन्

“खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि हाम्रो पुस्तौँदेखिको समस्या अन्त्य भएको छ”, उनले भनिन्, “दैनिकजसो खेतीमा आउँदा यो खोला तर्नुपथ्र्यो । खोलापारि जान काठको फड्के थियो । त्यो फड्के पनि ठूलो खोला हुँदा बगाउथ्यो, पुल बनेपछि सहज छ ।”

यो खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको दैनिकी सहज बनेको स्थानीयवासी दीपबहादुर मगरले बताए । मुख्य रूपमा बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेको उनको भनाइ छ । “पुल बनेपछि हामीलाई सहज भएको छ”, उनले भने, “यो पुलले दुईवटा वडाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”

यहाँ रु ४८ लाख १२ हजार ८२५ लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले बताए । स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवाखोलामा झोलुङ्गे पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । नगरपालिका क्षेत्रमा आवश्यक पर्ने  अन्य झोलुङ्गे पुलको तथ्याङ्क लिएर निर्माणको कामलाई योजनाबद्ध रूपमा अघि बढाएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप