कोशी प्रदेशमा क्रिकेट : गर्विलो इतिहास, कमजोर वर्तमान
विराटनगर । कुनै समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको कल्पना गर्दा विराटनगर वा पूर्वी क्षेत्रका खेलाडीबिना अधुरो हुन्थ्यो । राष्ट्रिय टोलीमा ६ देखि ७ जना खेलाडी पूर्वी क्षेत्रबाटै पर्थे । तर अहिले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरको नाममा फ्रेन्चाइज टोली ‘विराटनगर किङ्स’ खेल्दा पनि त्यसमा स्थानीय खेलाडीको उपस्थिति कमजोर छ । विराटनगर किङ्सका श्रवण किस्कु र आयुष न्यौपाने मात्रै कोशीका हुन् ।
यसले एउटा गम्भीर प्रश्न खडा गरेको छ । राष्ट्रिय क्रिकेटको ‘पावरहाउस’ मानिने पूर्वी क्षेत्र खेलाडी उत्पादनमा किन यति पछि पर्यो ?
जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबुका अनुसार पूर्वी क्षेत्रले नेपाली क्रिकेटलाई एकसेएक हस्तीहरू दिएको छ । जापानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेलमा ‘म्यान अफ द म्याच’ बन्ने मनिषराज पाण्डेदेखि राजकुमार प्रधान, पारस लुनिया, मेहबुब आलम, नवीन घिमिरे, आमिर अख्तर, लाक्पा लामाजस्ता खेलाडीहरूले राष्ट्रिय टोलीमा पूर्वको दबदबा कायम राखेका थिए ।
विराटनगर किङ्सका संस्थापक तथा पूर्व राष्ट्रिय खेलाडी पारस लुनिया सम्झन्छन्, ‘एक समय थियो, जब आधा राष्ट्रिय टोली यहीँबाट बन्थ्यो । यहाँ बलियो क्लब क्रिकेट संस्कृति थियो । जनकपुर चुरोट कारखाना र विराटनगर युथ क्रिकेट क्लबजस्ता क्लबहरूले नियमित प्रतियोगिता खेल्थे, जसले खेलाडीलाई निखार्ने काम गर्थ्यो ।’
विगतमा यति बलियो रहेको पूर्वी क्षेत्र अहिले खेलाडी उत्पादनमा किन पछि पर्यो ? क्रिकेट विज्ञहरू र पूर्व खेलाडीहरू यसका पछाडि मुख्य दुई कारण औंल्याउँछन् । एउटा प्रतियोगिता र प्रतिस्पर्धाको खडेरी लाग्यो । अर्को पूर्वाधारको अवस्था दयनीय भयो ।

विगतमा पूर्वी क्षेत्रमा नियमित रूपमा अन्तर क्लब र जिल्लास्तरीय प्रतियोगिता हुन्थे । खेलाडीहरूले भारतको पटना, सिलिगुडीजस्ता ठाउँमा गएर बलिया टोलीहरूसँग खेल्ने अवसर पाउँथे । ‘आफूभन्दा राम्रो टिमसँग खेल्दा खेलको स्तर स्वतः माथि उठ्थ्यो,’ साद बाबु भन्छन्, ‘अहिले त्यस्ता प्रतियोगिताहरू हुन छाडेका छन् । घरेलु प्रतिस्पर्धा नै नभएपछि खेलाडीको विकास कसरी हुन्छ ?’ पारस लुनिया पनि यसमा सहमत छन् । उनका अनुसार अहिले क्लब क्रिकेट लगभग निष्क्रिय छ र खेलाडीहरूले एक्सपोजर पाइरहेका छैनन् ।
पूर्वी क्षेत्रमा क्रिकेटको पूर्वाधार सबैभन्दा ठुलो चुनौती बनेको छ । विराटनगरको सहिद रंगशाला बहुउद्देश्यीय भएकाले क्रिकेटका लागि उपयुक्त छैन । अन्तर्राष्ट्रिय मापदण्डको भनिएको बैजनाथपुर क्रिकेट मैदानको अवस्था झनै दयनीय छ ।
‘बैजनाथपुर मैदानसम्म पुग्न खेलाडीलाई यातायातको समस्या छ र मैदानको मर्मतसम्भार पनि राम्रो छैन,’ बाबु भन्छन्, ‘हामीसँग जिल्ला क्रिकेट संघको आफ्नो मैदान नहुँदा निजी मैदानमा भर पर्नुपर्ने बाध्यता छ ।’
पूर्वाधार अभावमा खेलाडीहरूले नियमित अभ्यास गर्ने र आफ्नो प्रतिभा निखार्ने अवसरबाट वञ्चित हुनुपरेको र जसको सिधा असर खेलाडी उत्पादनमा परेको उनको भनाइ छ ।
यद्यपि अवस्था निराशाजनक मात्र छैन । निजी क्षेत्रबाट क्रिकेटलाई पुनर्जीवित गर्ने प्रयासहरू सुरु भएका छन् । विराटनगर किङ्सले खेलाडीहरूलाई मुम्बईमा प्रशिक्षणका लागि पठाउनेदेखि ग्रासरुट स्तरमा प्रतिभा खोज्न ‘ड्रिम टु प्ले’ जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

‘एनपीएलले एउटा नयाँ क्रान्ति ल्याउन सक्छ,’ लुनिया भन्छन्, ‘जसरी भारतमा सन् १९८३ को विश्वकप जितले क्रिकेटको लहर ल्यायो, त्यसैगरी यस्ता लिगले युवाहरूलाई आकर्षित गर्न सक्छ । हाम्रो उद्देश्य केवल उपाधि जित्नु मात्र होइन, यहाँको क्रिकेट इकोसिस्टमलाई नै बलियो बनाउनु हो ।’
विराटनगर किङ्सले निकट भविष्यमै ‘विराटनगर किङ्स बी’ टिम बनाएर प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने र नयाँ खेलाडीहरूलाई प्लेटफर्म दिने योजना बनाएको छ । ‘प्रदेशस्तरीय प्रतियोगिता गरेर त्यहाँबाट खेलाडी छनोट गर्ने र उनीहरूलाई वर्षभरि नै प्रशिक्षण दिने हाम्रो योजना छ,’ विराटनगर किङ्सका अर्का लगानीकर्ता सुयस प्याकुरेलले भने, ‘हाम्रो ‘ए’ टिमका खेलाडीहरूसँग पनि उनीहरूलाई खेल्ने अवसर दिन्छौं, जसले गर्दा उनीहरूले सिक्न पाउँछन् । हाम्रो सपना भनेकै यहाँका खेलाडीहरूले भोलि विराटनगर किङ्सबाट खेल्ने लक्ष्य राखुन् भन्ने हो ।’
तर निजी क्षेत्रको प्रयास मात्र पर्याप्त छैन । जबसम्म नेपाल क्रिकेट संघ (क्यान) र सरकारी निकायले पूर्वाधार निर्माण र नियमित प्रतियोगिता आयोजनामा ध्यान दिँदैनन्, तबसम्म पूर्वी क्षेत्रले आफ्नो पुरानो साख फर्काउन सक्ने देखिँदैन । अहिले राष्ट्रिय टोलीमा अहिले ललित राजवंशी र यू–१९ मा दीपेश कँडेलले मात्र पूर्वको प्रतिनिधित्व गरिरहेका छन् । यो संख्या बढाउन र फेरि पनि पूर्वलाई क्रिकेटको उर्वरभूमि बनाउन एकिकृत र योजनाबद्ध प्रयासको तत्काल खाँचो रहेको प्याकुरेल बताउँछन् ।
‘पूर्वाधार विकास, खेलाडी उत्पादन र व्यावसायिकतामा ध्यान दिने हो भने नेपाली क्रिकेटले अझै ठुलो उचाइ हासिल गर्नेछ,’ उनले भने, ‘हामी सबै मिलेर लाग्नुपर्छ, सरकार, निजी क्षेत्र र समर्थक सबैको साथ आवश्यक छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026