बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनुषाकाे कल्चरल भिलेजमा सर्प महोत्सव

सोमबार, ०१ मङ्सिर २०८२, १० : ४३
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • धनुषाको मिथिला बिहारी नगरपालिकामा तेस्रो सर्प महोत्सव सुरु भएको छ।
  • महोत्सव 'सर्पको महत्त्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ' भन्ने नाराका साथ आयोजना गरिएको हो।
  • यस महोत्सवको मुख्य उद्देश्य सर्प र मानव बीचको द्वन्द्व कम गर्दै यसको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्त्व उजागर गर्नु हो।

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–२ कल्चरल भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सव सुरु भएको छ । मिथिला वाइल्ड लाइफ ट्रस्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो ।

‘सर्पको महत्त्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नारासहित सुरु भएको महोत्सव सर्प र मानवबिचको सहअस्तित्व, जैविक विविधता संरक्षण, र पर्यावरणीय सन्तुलनमा सर्पको भूमिकामा केन्द्रित हुने जनाइएको छ । 

snake-festival-dhanusa (1)

आयोजक संस्थाका अध्यक्ष देवनारायण मण्डलले सर्पको महत्वबारे नागरिकमा चेतना फैलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

उनले भने–  ‘सर्पलाई अझै पनि अन्धविश्वास र डरको प्रतिकका रूपमा हेरिन्छ । तर, यो वातावरण सन्तुलन कायम राख्ने अभिन्न जीव हो, केवल डस्ने मात्र होइन ।’

महोत्सवमा सर्पको जीवनचक्र, विषका प्रकार, सर्पदंश पछिको उपचार प्रक्रिया र उद्धारसम्बन्धी व्यावहारिक जानकारी दिने व्यवस्था गरिएको छ । साथै, सर्प संरक्षणसम्बन्धी चित्र प्रदर्शनी र जीवित सर्प प्रदर्शनीमार्फत सहभागीहरूलाई प्रत्यक्ष अवलोकन र सिकाइको अवसर प्रदान गरिएको छ ।

snake-festival-dhanusa (2)

अध्यक्ष मण्डलले महोत्सवको उद्देश्यबारे थप जानकारी दिँदै भने–  ‘सर्प र मानवबिच द्वन्द्व न्यूनीकरण गर्दै यसको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्त्व उजागर गर्नु महोत्सवको मुख्य लक्ष्य हो ।’

 

स्थानीय नागरिक र पर्यावरणविद्हरूले यस महोत्सवको सराहना गर्दै सर्प संरक्षण र जैविक विविधता संरक्षणमा जनचेतना फैलाउने माध्यमको रूपमा यसलाई लिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप