मनिषराज पाण्डे : पहिलो बल, पहिलो छक्का र पहिलो ‘म्यान अफ द म्याच’
सारांश
- सन् १९९६ मा मलेसियामा भएको खेलमा मनिषराज पाण्डेले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
- विराटनगरको क्रिकेटको स्वर्णिम विगत, खस्कँदो वर्तमान र एनपीएलले ल्याएको भविष्यको आशाबारे चर्चा गरिएको छ।
- एनपीएलले क्रिकेटको क्रेज बढाएको र विराटनगर किंग्सले स्थानीय प्रतिभालाई अवसर दिने योजना बनाएको छ।
विराटनगर । सेप्टेम्बर ६, १९९६ । मलेसियाको क्वालालम्पुरस्थित टेनगा नेसनल पावर स्टेसन ग्राउन्डमा नेपालको राष्ट्रिय क्रिकेट टोली पहिलो पटक आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्न उत्रिँदै थियो । प्रतिद्वन्द्वी थियो एसियाली क्रिकेटको बलियो शक्ति बंगलादेश । त्यो ऐतिहासिक क्षणमा नेपालको इनिङ्सको पहिलो बल सामना गर्न क्रिजमा थिए विराटनगरका एक युवा अलराउन्डर मनिषराज पाण्डे । त्यो एउटा बलले पाण्डेलाई मात्र होइन समग्र नेपाली क्रिकेटलाई नै अन्तर्राष्ट्रिय मञ्चमा प्रवेश गराएको थियो ।
नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय बल खेल्ने, पहिलो छक्का प्रहार गर्ने र पहिलो ‘म्यान अफ द म्याच’ बन्ने कीर्तिमानी खेलाडी मनिषराज पाण्डेको क्रिकेट यात्राबाट सुरु भएर उनको गृहनगर विराटनगरको क्रिकेटको स्वर्णिम विगत, खस्कँदो वर्तमान र नेपाल प्रिमियर लिग (एनपीएल) ले ल्याएको भविष्यको आशामा केन्द्र्रित छ ।
विराटनगरको क्रिकेट उर्वर भूमिमा हुर्किएका मनिषराज पाण्डेको क्रिकेट यात्रा घरेलु मैदानबाटै सुरु भएको थियो । २०४५ देखि २०५७ सम्म उनले कोशी अञ्चल र मोरङ जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो अलराउन्ड प्रदर्शनले सबैलाई प्रभावित पारे । उनी मोरङ जिल्ला र विराटनगरको प्रतिष्ठित यूथ क्रिकेट क्लब (वाईसीसी) का सफल कप्तानसमेत थिए ।
दायाँहाते आक्रामक प्रारम्भिक ब्याट्सम्यान र मध्यम–तेज गतिका बलरको रूपमा उनको प्रतिभाले अन्ततः राष्ट्रिय टोलीको ढोका खोल्यो । सन् १९९६ को एसीसी ट्रफीमा उनी पूर्वी नेपालबाट छानिने एक्ला खेलाडी थिए । बंगलादेशविरुद्ध पहिलो खेलमै उनले आफ्नो आगमनको संकेत दिए । नेपालको इनिङ्सको पहिलो बल सामना गर्नु आफैँमा एउटा इतिहास थियो । त्यसमाथि उनले ब्याकवार्ड स्क्वायर लेगतर्फ प्रहार गरेको दर्शनीय फ्लिक शट नेपालको अन्तर्राष्ट्रिय क्रिकेट इतिहासको पहिलो छक्का बन्यो ।
तर, उनको कीर्तिमानी यात्रा यतिमै रोकिएन । सेप्टेम्बर ७ मा जापानविरुद्धको खेलमा उनले २७ रनको महत्त्वपूर्ण योगदान दिनुका साथै एक विकेट पनि लिए, जसले नेपाललाई जिततर्फ डोर्यायो । यही प्रदर्शनका लागि उनी नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ‘म्यान अफ द म्याच’ घोषित हुने पहिलो खेलाडी बने । सोही प्रतियोगितामा उनले ब्रुनाईविरुद्ध २२ रन खर्चेर ३ विकेट लिँदै आफ्नो बलिङको धार पनि देखाए । पाण्डेको यो प्रदर्शन त्यो समयको विराटनगरको क्रिकेट शक्तिको एउटा सानो झलक मात्र थियो ।

मनिषराज पाण्डेजस्ता खेलाडी उत्पादन गर्ने विराटनगर कुनै समय नेपाली क्रिकेटको ‘पावरहाउस’ थियो । हाल ब्राजिलमा रहेका पाण्डे कुराकानीको क्रममा त्यो समय सम्झिन्छन्, ‘विराटनगर क्रिकेटको एउटा अत्यन्तै शक्तिशाली केन्द्र थियो । राष्ट्रिय टिममा पर्न यहाँ निकै कठिन प्रतिस्पर्धा हुन्थ्यो ।’
त्यतिबेला विराटनगरमा बलियो क्लब संस्कृति थियो । वाईसीसीजस्ता क्लबहरूले नयाँ प्रतिभालाई मञ्च दिन्थे । भारतका रणजी स्तरका खेलाडीहरू सम्मिलित बलिया टोलीहरूलाई बोलाएर ठुला प्रतियोगिताहरू आयोजना गरिन्थ्यो । ‘त्यतिबेला व्यावसायिकताभन्दा पनि लगाव र योगदानको भावना थियो,’ उनी भन्छन्, ‘सबैले आ–आफ्नो ठाउँबाट योगदान गरेर क्रिकेटलाई जीवित राखेका थियौँ ।’ यही जोश, जाँगर र संगठित प्रयासले विराटनगरलाई क्रिकेटको राजधानी बनाएको थियो ।
समयक्रममा विराटनगरको त्यो शान र शक्ति क्षीण हुँदै गयो । पाण्डे यसका पछाडि गम्भीर कारणहरू देख्छन् । ‘पछिल्लो चरणमा सबैलाई एउटै सूत्रमा बाँध्ने नेतृत्वको अभाव भयो । क्रिकेट छिन्नभिन्न अवस्थामा पुग्यो,’ उनी चिन्ता व्यक्त गर्छन्, ‘कुनै पनि खेलको जग भनेको ग्रासरुट हो— स्कुलदेखिको क्रिकेट । जब हामीले त्यो जगलाई बिर्सियौँ, तब खेलाडी उत्पादनको प्रक्रिया नै रोकियो ।’ यस्तै खेल्ने मैदानको अभाव र राम्रा खेलाडीहरू विभागीय टोलीतिर आकर्षित भएपछि स्थानीय क्लबहरू कमजोर बने, जसले प्रतिस्पर्धाको स्तर घटाएको उनी बताउँछन् ।
खेल्ने मैदानको अभाव र राम्रा खेलाडीहरू विभागीय टोली (आर्मी, पुलिस) मा आबद्ध हुन थालेपछि स्थानीय क्लबहरू कमजोर बन्दै गए । यसले गर्दा स्थानीयस्तरको प्रतिस्पर्धाको स्तर खस्कियो । ‘सुरुवाती दिनहरूमा सबैको योगदानले चलेको क्रिकेट पछि व्यावसायिक बन्न सकेन, जसले गर्दा स्रोत र साधनको अभाव खड्किँदै गयो,’ उनी भन्छन् ।
यस्तो निराशाजनक अवस्थामा एनपीएल र विराटनगर किंग्सले आशाको नयाँ किरण छरेको उनको दाबी छ । पाण्डे एनपीएललाई क्रिकेटको विकासका लागि एउटा महत्त्वपूर्ण ‘प्लेटफर्म’ मान्छन् । ‘एनपीएलले क्रिकेटको क्रेज गाउँ–गाउँसम्म पुर्याएको छ र व्यावसायिकताको ढोका खोलेको छ,’ उनी भन्छन्, ‘एनपीएलले क्रिकेटको एउटा ब्रान्ड सिर्जना गरेको छ र यसले गाउँ–गाउँसम्म क्रिकेटको चर्चा र क्रेज पुर्याएको छ ।’
विराटनगर किंग्सले यसपटक नाम चलेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू अनुबन्ध गरेको छ, जसले प्रतियोगितालाई आकर्षक बनाउने निश्चित छ । ‘विराटनगर किंग्सले यसपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका नाम चलेका ‘क्राउड पुलर’ खेलाडीहरू अनुबन्ध गर्नुलाई सकारात्मक रूपमा हेर्नुपर्छ,’ उनी भन्छन्, ‘यसले प्रतियोगितालाई आकर्षक बनाउने देखिन्छ ।’
तर, पाण्डेलाई सबैभन्दा उत्साहित बनाएको कुरा किंग्सको भविष्यको योजना हो । जिल्ला–जिल्लाबाट खेलाडी छनोट गरेर ‘बी’ टिम बनाउने र स्थानीय प्रतिभालाई अवसर दिने योजनाले विगतमा भएको गल्ती (ग्रासरुटको उपेक्षा) लाई सच्याउने संकेत दिएको छ । ‘यस्तै योजनाहरूले नै नयाँ प्रतिभाको खोजी सम्भव बनाउँछ,’ उनी भन्छन् ।
पाण्डे यो समग्र नेपाली क्रिकेटका लागि एउटा राम्रो सन्देश भए पनि चुनौती पनि रहेको बताउँछन् । ‘एनपीएलजस्ता प्रतियोगिताले माथिल्लो स्तरमा राम्रो गरिरहेको छ, तर हामीले जग बलियो बनाएनौँ भने यो सफलता दिगो हुँदैन,’ उनले भने ।
नेपाली क्रिकेटले मनिषराज पाण्डेजस्ता धेरै नायक जन्माएको छ । अब एनपीएलजस्ता मञ्चहरूले त्यो विरासतलाई अगाडि बढाउँदै नयाँ नायकहरू जन्माउन सक्छ । सँगसँगै विराटनगरले पनि आफ्नो गुमेको लय फर्काउने यहाँका क्रिकेटप्रेमीहरूको छ । जुन नेपाली क्रिकेटको भविष्यसँग सम्बन्धित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण