जसपामा एकताबारे दुई धार : नेपाली कम्युनिस्ट पार्टी कि मधेस केन्द्रित दल ?
काठमाडौँ । पार्टी एकताको विषयलाई लिएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने कि अन्य मधेस केन्द्रित दलसँग एकता गर्ने विषयमा जसपाभित्र विवाद उत्पन्न भएको छ ।
पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठलगायतका नेताहरु नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्नुपर्ने पक्षमा छन् भने महासचिव इस्तियाक राइलगायत नेताहरु मधेस केन्द्रित दलसँग एकता गर्नुपर्ने पक्षमा देखिएका छन् । नेता श्रेष्ठले आइतबार एकताको विषयमा नेकपासँग छलफल गरेका थिए ।
सोमबार बसेको जसपा कार्यकारिणी समितिको बैठकमा नेता श्रेष्ठ तथा कार्यकारिणी सदस्य पशुराम बस्नेतले नेकपासँग एकता गर्नुपर्ने पक्षमा धारणा राखे भने महासचिव इस्तियाक राई र उपमहासचिव प्रदीप यादवले मधेस केन्द्रित दलहरुसँग एकता गर्नुपर्ने पक्षमा धारणा राखे ।
नेकपासँग एकता गर्नुपर्छ भन्नेमा नेता श्रेष्ठ खुलेर आएका छन् भने जसपा अध्यक्ष अशोक राई अहिले खुलेका छैनन् । स्रोतका अनुसार उनी पहिचान पक्षधरसँग एकता वा मोर्चाबन्दी गर्नुपर्ने पक्षमा देखिएका छन्, तर कुन पार्टीसँग भन्नेमा केही खुलेका छैनन् । यद्यपि नेकपासँग एकताकै लाइनमा उभिने सम्भावना रहेको स्रोतको दाबी छ ।
महासचिव राईले पार्टीको विचार र लाइनभन्दा आफू बाहिर नजाने बताए । ‘जोसँग एजेण्डा, विचार, सिद्धान्त मिल्छ, संघीयता, लोकतन्त्र तथा पहिचानमा कुरा मिल्छ । ती दलसँग मोर्चाबन्दी वा एकता गर्ने पक्षमा म छु,’ उनले भने ।
उपमहासचिव यादवले पार्टी नै एकता गर्ने हो भने मधेस केन्द्रित दलहरुसँग गर्नुपर्ने पक्षमा आफू रहेको बताए । ‘मधेस केन्द्रित दलसँग एकता गरेपछि अन्य कुनै दलसँग गठबन्धन वा मोर्चाबन्दी गर्न सकिन्छ । नेकपासँग पनि मोर्चाबन्दी वा गठबन्धन गर्न सकिन्छ । तर त्यसअघि विचार, मुद्दा मिल्ने दलसँग एकता गर्नुपर्छ,’ उनले भने ।
यादवले आफू सधैं मधेसका मुद्दामा राजनीति गरेकाले अरु दलसँग एकता गर्ने विषयमा सोच्न नसक्ने बताए । ‘जसपा बनाएकै आदिवासी जनजाति र मधेसीको एजेण्डामा काम गर्नका लागि हो । नेकपा, कांग्रेस, एमालेहरु आदिवासी जनजाति तथा मधेसीको मुद्दामा सकारात्मक छैनन्,’ उनले भने ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि जसपालाई एकताका लागि प्रस्ताव गरेको छ । उता राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले पनि एकताका लागि जसपालाई लिखित रुपमै प्रस्ताव पठाएको छ ।
२०८१ वैशाखमा अशोक राईको नेतृत्वमा जसपा नेपालबाट अलग भएर जसपा गठन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण