कालानमक धानको जात लोप हुँदै
सारांश
- बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ, किनभने किसानहरूले व्यावसायिक खेतीलाई प्राथमिकता दिएका छन्।
- सिँचाइ र स्याहारसुसार बढी गर्नुपर्ने र रोगको प्रकोपका कारण किसानहरू हाइब्रिड धानतर्फ आकर्षित भएका छन्।
- कृषि ज्ञान केन्द्रले कालानमक धानको संरक्षण र प्रवर्द्धनका लागि कृषक स्तरमा प्रचारप्रसार गर्दै आएको छ।
बाँके । बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ ।
यहाँका किसान लगानीअनुसारको प्रतिफल नपाइएको भन्दै व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि यो जातको धान लोप हुँदै गएको हो । सिँचाइ र स्याहारसुसार बढी गर्नुपर्ने, रोग र कीराको प्रकोप बढी देखिने भएकाले कृषकहरू यसको साटो ‘हाइब्रिड’ धानतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए ।
उनका अनुसार उच्च तहका व्यक्तिदेखि पर्यटकहरूको रोजाइ भए पनि लागतअनुसार कम उत्पादन हुने भएकाले कृषकहरू कालानमक धानको साटो अन्य धान लगाउन थालेका हुन् । मसिनो र बास्नादार मानिने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको हो । यो करिब १४० दिनमा तयार हुन्छ । “विगतमा बाँके र बर्दिया जिल्लामा यसको खेती हुन्थ्यो, तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागेँ”, सूचना अधिकारी पाठकले भने, “कालानमकको खेती शून्य प्रायः भएपछि हाल यसको प्रवर्द्धन र प्रचारमा लागेका छौँ ।”
बाँकेमा यस वर्ष ३४ हजार १९० हेक्टर जमिनमा धानखेती हुँदा कालानमकलगायत परम्परागत जातको धानखेती क्षेत्र गणनामा नै छैन । परम्परागत कालानमक संरक्षणका लागि कृषि ज्ञान केन्द्रले कृषक स्तरमा प्रचारप्रसारको थालनी गरेको छ । कृषि अनुसन्धान परिषद् खजुराबाट प्राप्त गरेको बीउलाई बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिहिरियामा प्रयोग गरेर यसको प्रचार गरिएको छ ।
पहिलाको कालानमक धानको बीउ धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या भएकाले हाल होचो बीउ प्रयोगमा ल्याइएको परिषद्ले जनाएको छ । किसानले रासायनिक मल धेरै हाल्ने भएकाले ढल्ने समस्या देखिएको हुँदा युरिया, डिएपी र पोटासको सन्तुलित प्रयोग गर्न किसानलाई सल्लाह दिने गरिएको वरिष्ठ बागवानी विकास अधिकृत पाठकले बताए ।
कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा हाल बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गङ्गानारायण चौधरीले एक हेक्टर क्षेत्रफलमा कालानमक धानको खेती गरिरहेका छन् । धान पाकिसकेकाले केही दिनमा भित्र्याउने तयारी गरिएको उनले जानकारी दिए।
पाँच वर्षदेखि कालानमक र कुइनुर बासमती धानको खेती गर्दै आएका चौधरीले एक हेक्टर क्षेत्रफलमा करिब ३० क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ । अन्य धान स्याहारी सकेकाले यति बेला कालानमक धानमा चरा, मुसा र कीराको सङ्क्रमण बढेको उनको भनाइ छ ।
कालानमक चामल बिक्रीमा भने समस्या छैन । अन्य धानको मूल्य करिब रु तीन हजार ५०० क्विन्टल हुँदा कालानमक भने प्रतिक्विन्टल रु १० हजारमा बिक्री हुने गरेको छ । बजार माग पनि राम्रै रहेको चौधरीले बताए।
यसको उत्पादनमा नै बढी खर्च लाग्ने भएकाले मूल्य महँगो परेको जनाइएको छ । यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्रै काट्न तयार हुन्छ । सिँचाइ पनि पर्याप्त चाहिन्छ । करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ । अन्य धान असोज–कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र समस्या हुने गरेको कृषक चौधरीले बताए।
बाँकेमा किसानले रामधान, राधा—४, एमपी ६०, गोरखनाथलगायत ‘हाइब्रिड’ धान रोप्दै आएका छन् । मसिनो चामललाई प्रवर्द्धन गर्न खोजे पनि किसानले रुचि नदेखाएको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि अर्थ विज्ञ विनोद घिमिरेको भनाइ छ । त्यसैले उत्पादन बढाउन प्रवर्द्धनात्मक कार्यक्रम लागू गरिएको छ । मसिना तथा बास्नादार धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ र कृषि प्रविधिमा अनुदान दिने गरिएको घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण