बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

क्षतिपूर्ति तिराउने फैसलाविरुद्ध अदालत गयो यूएस बङ्गला एयरलाइन्स

बिहीबार, ०४ मङ्सिर २०८२, १२ : २६
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • यूएस बङ्गला एयरलाइन्स उच्च अदालत पाटनमा पुग्यो, विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति तिराउने फैसलाविरुद्ध।
  • जिल्ला अदालत काठमाडौँले १७ परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपछि कम्पनीले उच्च अदालतमा निवेदन दिएको हो।
  • २०७४ फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएको दुर्घटनामा पीडित परिवारलाई क्षतिपूर्ति दिने फैसला भएको थियो।

काठमाडौँ । विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति तिराउने फैसलाविरुद्ध यूएस बङ्गला एयरलाइन्स कम्पनी उच्च अदालत पाटन पुगेको छ । जिल्ला अदालत काठमाडौँले दुर्घटनामा ज्यान गुमाएका १७ परिवारले क्षतिपूर्ति पाउनुपर्ने पक्षमा फैसला गरेपछि विमान कम्पनी उच्च अदालत पुगेको हो । 

युएस बङ्गला एयरलाइन्सले दायर गरेको निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र  कृष्ण मुरारी शिवाकोटीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

२०७४ फागुन २८ गते (सन् २०१८ मार्च १२) गते काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बङ्गला एयरलाइन्सको विमान दुर्घटना भएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले फैसला गरेको थियो ।

क्षतिपूर्ति मृतकको पृष्ठभूमि र उमेर हेरेर तय गरिएको छ । सो दुर्घटनामा ज्यान गुमाएका बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्दै गरेका विद्यार्थीहरूको हकमा १ लाख ७० हजार ३८२ अमेरिकी डलर अर्थात् २ करोड ३४ लाख रुपैयाँ र एमबीबीएस डाक्टरको हकमा १ लाख ७९ हजार ४१८ अमेरिकी डलर (२ करोड ४७ लाख ३२ हजार रुपैयाँ) तिर्नुपर्ने फैसलामा भनिएको थियो ।

एक न्युरो सर्जनको हकमा २ लाख ७७ हजार ५४८ अमेरिकी डलर (३ करोड ६७ लाख ४३ हजार रुपैयाँ), एक वृद्ध नर्सको हकमा ४५ हजार ३०१ डलर (६२ लाख ४४ हजार रुपैयाँ) र एक जना घाइतेको हकमा ४४ हजार २९० अमेरिकी डलर (६१ लाख ५ हजार रुपैयाँ) तिर्नुपर्ने जिल्ला अदालतले फैसला गरेको हो । 

त्यसैगरी, हिमालय एयरलाइन्सका कर्मचारी प्रसन्न पाण्डेको परिवारले १ लाख ७ हजार १७० डलर (१ करोड ४७ लाख ४४ हजार रुपैयाँ) क्षतिपूर्ति पाउने अदालतले फैसला गरेको छ । अदालतले हवाई यात्रामा दायित्व बेहोर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ‘वार्सा कन्भेन्सन १९२९’ अनुसार फैसला गरेको हो । 

बङ्गलादेशबाट एमबीबीएस अध्ययन गरेका विद्यार्थी, एमबीबीएस चिकित्सक, सोही पेसामा रहेका नर्स र चिकित्सकहरू रहेको उक्त विमान दुर्घटना भएपछि उनीहरूका परिवारले क्षतिपूर्तिको माग गर्दै उक्त कम्पनीलाई समेत विपक्षी बनाएर २०७६ मा अदालतमा मुद्दा दायर थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप