मधेसमा मुख्यमन्त्री निवासले समस्याः सोनलले ढिलाइ गर्दा यादवलाई सकस
सारांश
- मधेस प्रदेशमा मुख्यमन्त्री निवास खाली गर्ने विषयमा राजनीतिक विवाद उत्पन्न भएको छ।
- मुख्यमन्त्री सरोज कुमार यादवले पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनललाई निवास खाली गर्न आग्रह गरेका छन्।
- सोनलले निवास खाली गर्न ढिलाइ गरेपछि यादवले दलका नेताहरूसँग सहयोग मागेका छन्।
जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री निवासको विषयले राजनीतिक तरंग पैदा गरेको छ । नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले निवास खाली गरिदिन आग्रह गर्दा पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले तत्काल प्रतिक्रिया नदिएपछि दलका नेताहरूलाई पहलका लागि गुहारेका छन् ।
मुख्यमन्त्री यादवले लोसपाका संसदीय दलका नेता जयनुल राइन र प्रमुख सचेतक रमिता प्रधानसँग निवास व्यवस्थाका लागि आग्रह गरेका हुन् । सोनललाई फोन गर्दा कुनै प्रतिक्रिया नआएपछि उनले पार्टी नेतृत्वसँगै कुरा अगाडि बढाएका हुन् ।
यादवले भने, 'अदालतले दीर्घकालीन असर पर्ने काम नगर्न भनेको हो, तर दैनिक काम त गर्नैपर्छ । म भाडाको घरमा बस्दै आएको छु, विभिन्न डेलिगेसन आउँछन्, समस्या भएको छ । सेना–प्रहरीले पनि निवासमा जान अनुरोध गरेको छ । तपाईंहरूको दलको सचेतक भएकाले निवास खाली गराउन आग्रह गरेको हुँ ।'
यस विषयमा प्रमुख सचेतक रमिता प्रधानले भनिन्, 'सोनलजी स्वयं बुधबार नै निवास खाली गर्न तयार थिए । तर सात दलको दबाब आएपछि उहाँ रोकिनुभएको हो ।'
मुख्यमन्त्री यादवले यसबारे लोसपा संसदीय दलका नेता जयनुल राइनलाई समेत फोनमार्फत जानकारी गराएको बताए । मुख्यमन्त्री यादवले भने, 'दलका नेताहरूलाई जानकारी गराउँदै छु, नगरेको भए पनि तपाईंहरूसँग विवाद गर्ने पक्षमा म छैन ।'
यता निर्वतमान मुख्यमन्त्री सोनलले वर्तमान मुख्यमन्त्रीको निवास प्रवेस सहजता बनाइरहेको बताएका छन् । उनले भनेका छन्, ‘निवास खाली गर्ने प्रक्रियामा छु, उहाँलाई सहज बनाउन काम भइरहेको छ र छिट्टै उहाँ निवासमा प्रवेस गर्नुहुनेछ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण