शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

गगन थापा नेतृत्वको समितिले कहाँ-कहाँ टुङ्ग्याउन बाँकी छ क्रियाशील सदस्यता नवीकरण ?

शुक्रबार, ०५ मङ्सिर २०८२, १८ : ००
शुक्रबार, ०५ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा २०८१ कात्तिक १४ गते क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाएको थियो । समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइली सदस्य छन् । उक्त समितिले अहिलेसम्म क्रियाशील सदस्यता नवीकरणको काम सकेको छैन । 

थापाले नै पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने नभएमा विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । तर उनी आफैंलाई संयोजक बनाएर पार्टीले एक वर्ष अगाडि दिएको जिम्मेवारी भने आधा पनि पूरा भएको छैन । समितिलाई क्रियाशील सदस्यता नवीकरण र वितरणको जिम्मेवारी दिइएको थियो । 

त्यसमध्ये नवीकरण गर्न अझै एउटा जिल्ला पूरै, दुई जिल्लाका ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार पालिकामा सुरुवात नै भएको छैन । समितिका एक सदस्यले रातोपाटीलाई उपलब्ध गराएको तथ्यांक अनुसार मुस्ताङ जिल्लामा नवीकरणको काम सुरु नै भएको छैन । बारा जिल्लाको प्रतिनिधिसभा क्षेत्र १ र २ तथा कैलाली जिल्लाको १, २ र ४ क्षेत्रका केही वडामा सुरुवात भएपनि विवादका कारण अघि बढ्न सकेको छैन । 

त्यति मात्र होइन, दुई जिल्लाका चार पालिकामा पनि क्रियाशील सदस्यता नवीकरणको काम सुरु भएको छैन । जाजरकोटको कुसे गाँउपालिका तथा डडेलधुराको भागेश्वर गाँउपालिका, नवदुर्गा गाँउपालिका र पर्शुराम नगरपालिकामा क्रियाशील सदस्यता नवीकरणको काम सुरु नै भएको छैन ।
 
व्यवस्थापन समिति सदस्य योगेन्द्र चौधरीले विभिन्न समस्याका कारण २० जिल्लाका २७१ वडामा क्रियाशील सदस्यता नवीकरणको काम सकिन बाँकी रहेको जानकारी दिए । ‘एउटा पूरै जिल्ला, केही प्रतिनिधिसभा निर्वाचन क्षेत्र र केही पालिका पूरैसहित २७१ वडामा क्रियाशील सदस्यता नवीकरणको काम विभिन्न समस्याले पूरा हुन सकेको छैन,’ चौधरीले रातोपाटीसँग भने ।  

समितिबाट रातोपाटीलाई प्राप्त तथ्यांक अनुसार कोशी प्रदेशको एक, मधेस प्रदेशका ६, बागमती प्रदेशका ४, गण्डकी प्रदेशका २, लुम्बिनी प्रदेशका २, कर्णाली प्रदेशका २ र सुदूरपश्चिम प्रदेशका ३ जिल्लाका २७१ वडामा रहेको क्रियाशील सदस्यतामा देखिएको विवाद महामन्त्री थापा नेतृत्वको समितिले मिलाउन सकेको छैन । 

कोशीमा खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकाको वडा नम्बर २, ३ र ४   दिप्रुङचुइचुम्बा गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म हलेसी तुवाचुङ गाँउपालिकाको वडा नम्बर ७ मा नवीकरण हुन सकेको छैन । मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र बारामा क्रियाशील सदस्यतासम्बन्धी विवाद छ । 

सप्तरी जिल्लाको राजविराज नगरपालिकाका वडा नम्बर ३, ७ र ९ सिरहा जिल्लाका सिरहा नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म, गोलबजार नगरपालिकाको वडा नम्बर ३, नहरा गाँउपालिकाको वडा नम्बर १ मा विवादले क्रियाशील सदस्यता वितरणको काम सकिएको छैन ।  
                
त्यस्तै धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर १ देखि ३ सम्म, जनकपुर उपमहानगरपालिकाको वडा नम्बर १, ९, १३, १४ र २१ तथा मिथिला बिहारी नगरपालिका वडा नम्बर २, ६ र १०, महोत्तरीका मनोरासिसुवा नगरपालिका वडा नम्बर ८ र ९, औरही नगरपालिकाका वडा नम्बर ५ र ६, सर्लाही जिल्लाका धनकौल गाँउपालिका वडा नम्बर २, ३, ५, ६ र ७, बलरा नगरपालिका वडा नम्बर १ तथा ३ देखि ७ सम्मका वडा, गडौता नगरपालिकाका वडा नम्बर १, ३, ४, ५, ६ र ७ तथा बाराका प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ र २ का पूरै वडामा विवाद छ ।

बागमती प्रदेशका सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँमा विवाद छ । सिन्धुलीका दुधौली नगरपालिकाको वडा नम्बर ४, गोलनचोर गाँउपालिकाका वडा नम्बर १,३ र ५ सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङपाङ गाँउपालिकाका वडा नम्बर २ देखि ५ सम्म, चौतारा साँगाचोक नगरपालिकाका वडा नम्बर २, ३, ४ र १०, सुनकोशी गाँउपालिकाको वडा नम्बर ३, लिखुयारवर गाँउपालिकाको वडा नम्बर १ देखि ३ सम्म विवाद छ । त्यस्तै नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको वडा नम्बर १,३ र ५, बिदुर नगरपालिकाको वडा नम्बर ७ तथा लिखु गाँउपालिकाको वडा नम्बर ७ र काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ मा विवाद छ ।

गण्डकी प्रदेशका मुस्ताङ र बागलुङमा विवाद छ । मुस्ताङमा नवीकरणको काम सुरु नै भएको छैन भने बागलुङमा गलकोट नगरपालिकाका वडा नम्बर ३ र ५ बोङ गाँउपालिकाका वडा नम्बर १ देखि ३ सम्म तथा बडिगार्ड गाँउपालिका वडा नम्बर ३ मा विवाद छ । 

लुम्बिनी प्रदेशका बाँके र रुपन्देहीमा नवीकरणमा विवाद देखिएको छ । बाँकेमा जानकी गाँउपालिकाका वडा नम्बर २, ३ र ४, खजुरा गाँउपालिकाका वडानम्बर १ देखि ४ सम्म, नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर १६ र १७ मा विवाद छ । रुपन्देही जिल्लाको मर्चवारी गाँउपालिकाका वडा नम्बर २, ३, ५ र ७ तथा                           मायादेवी गाँउपालिकाका वडा नम्बर ४ र ६ मा विवाद छ ।

कर्णाली प्रदेशका जाजरकोट र सुर्खेत जिल्लामा विवाद छ । जाजरकोटको कुसे गाँउपालिकामा नवीकरणको काम सुरु नै भएको छैन भने सुर्खेतका वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर २ देखि ६ सम्म, पञ्चकुमारी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ५ तथा चौकुने गाँउपालिकाका वडा नम्बर २ देखि ४ सम्म विवाद छ । 

त्यस्तै सुदूरपश्चिम प्रदेशका डडेलधुरा, कञ्चनपुर र कैलालीमा विवाद छ । डडेलधुराका भागेश्वर गाँउपालिका, पर्शुराम नगरपालिका र नवदुर्गा गाँउपालिकामा नवीकरणको काम सुरु नै भएको छैन । कञ्चनपुरको भीमदत्त नगरपालिकाका १, ३, ४ र ५ वडा, बेदकोट नगरपालिकाका २, ४ र ५ वडा तथा शुक्लाफाँटा नगरपालिकाका ५ र ६ वडामा तथा कैलालीका प्रतिनिधिसभा निर्वाचन क्षेत्र १, २ र ४ का अधिकांश स्थानमा नवीकरणको काम हुन सकेको छैन । 

समितिका संयोजक समेत रहेका महामन्त्री थापाले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १८ गते ६२ जिल्लामा वडा तहबाट नवीकरण सिफारिस भई तहगत प्रक्रिया पूरा गरी विवरण पठाउने क्रममा रहेको १९ जिल्लामा रहेका १ लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये १ लाख १८ हजार ७९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भएको तथ्यांक प्रस्तुत गरेका थिए । 

२७ जिल्लाका तहगत नवीकरण भई १ लाख ९० हजार ४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा रहेको र ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको तथा सिस्टममा इन्ट्री गर्न बाँकी रहेको थापाको तथ्यांक थियो । 

१६ जिल्लामा केही वडा बाहेक नवीकरण भई तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा रहेको तथ्यांकमा उल्लेख गरेका थापाले आफ्नो प्रतिवेदनमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले ६ पटक ताकेता गरेको स्वीकारेका छन् । गत असारमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २०८२ असोज मसान्तसम्म नवीकरणका लागि समय थप्ने निर्णय गरेको पनि उल्लेख गरेका छन् ।  

Congress Membership1Congress Membership2Congress Membership3
पहिला क्रियाशील सदस्यतामा सहमति नगरी केन्द्रको विवाद नमिल्ने नेताहरू बताउँछन् । गत असोज २८ गतेबाट जारी केन्द्रीय समिति बैठक महाधिवेशन कहिले गर्ने भन्ने विवाद नमिल्दा अझै टुंगिएको छैन । तर सदस्यता टुंग्याउने जिम्मेवारी लिएका महामन्त्री थापादेखि अन्य नेतासम्म कसैले पनि यसबारे बहस गरेको देखिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप