न नयाँ दल गठनतिर लागे, न त पुराना दल समाए : गोपाल हमालको के छ योजना ?
सारांश
- नयाँ दल खुल्ने क्रममा धनगढीका मेयर गोपाल हमाल स्वास्थ्यका कारण ओझेलमा, तर विकासमा केन्द्रित।
- मेयर हमाल स्वास्थ्य समस्याका बाबजुद धनगढीको विकासका लागि निरन्तर खटिएका छन् र उनले विभिन्न नमुना कामको सुरुवात गरेका छन्।
- धनगढीमा डुबानमुक्त अभियान, सडक विस्तार, स्वास्थ्य सेवा सुधार, शैक्षिक सुधार, र प्लास्टिक प्रतिबन्ध जस्ता कार्यहरू भइरहेका छन्।
धनगढी । नेपालमा जेनजी आन्दोलनपछि नयाँ दल खुल्ने क्रम बढेको छ । विगतमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित चर्चित जनप्रतिनिधिदेखि लिएर विभिन्न क्षेत्रमा कहलिएका व्यक्तित्वसमेतले नयाँ दल गठन गरी राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाह, धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल स्थानीय तह निर्वाचनमा स्वतन्त्र पृष्ठभूमिबाट निर्वाचित चर्चित जनप्रतिनिधि हुन् ।
हर्क साम्पाङले नयाँ दल गठन गरिसकेका छन् भने बालेन शाह प्रत्यक्ष रूपमा यो प्रक्रियामा सहभागी देखिएका छैनन् । यद्यपि उनले नैतिक समर्थन गरेकाहरू यो अभियानमा सामेल भइसकेका छन् ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल भने यी सबै गतिविधिबाट टाढा रहँदै आफ्नो पदीय जिम्मेवारी निर्वाहमै केन्द्रित रहँदै आएका छन् । जेनजीले उठाएका विषयलाई नैतिक समर्थन जनाएका हमाल जेनजी आन्दोलन सफल भइ नयाँ राजनीतिक परिस्थिति निर्माण भएपछि भने आफूलाई ओझेलमा राख्दै आएका छन् ।
उनी विगत एक वर्षदेखि स्वास्थ्यसम्बन्धी समस्यासँग जुधिरहेका छन् । नसासम्बन्धी रोगका कारण चिकित्सकले उनलाई पूर्ण रूपमा आराम गर्न सुझाएका छन्, तर उनी चिकित्सकको सल्लाहलाई समेत बेवास्ता गर्दै निरन्तर काममा खटिरहेका छन् ।

धनगढीवासीले दिएको जिम्मेवारी पूरा गर्दै आफ्नो कार्यकालमा परिवर्तनको प्रत्याभूति दिलाउने गरी केही गरेरै छाड्ने अठोटका साथ आफू नियमित काममै केन्द्रित रहेको हमाल बताउँछन् ।
‘मेरो स्वास्थ्य अवस्था कमजोर छ । डाक्टरले आराम गर्नु भनेका छन्, तर पनि आत्मबल बलियो बनाएर तपाईंहरूको माझमा छु,’ मंगलबार बिहान आफ्नो कार्यकक्षमा विभिन्न गुनासो लिएर आएका सेवाग्राहीलाई हमालले भने ।
देश र विदेशमा रहेका शुभचिन्तकमा अब गोपाल हमाल राजनीतिको कुन बाटोमा देखिन्छन् भन्ने चासो बढेको छ । हमाल भने राजनीतिको तरङ्गबाट आफूलाई अलग राख्दै धनगढीको विकासमै केन्द्रित रहेको दाबी गर्छन् ।
राजनीतिक भविष्यको प्रश्नमा उनले जबाफ दिए– ‘अहिलेलाई काममात्रै, अरू प्रश्न नगर्नुहोस् ।’
हमालको दैनिकी सामान्य छैन । उनी बिहानै ७ देखि विभिन्न समूहमा आउने नगरवासीका गुनासो सुन्छन् । कर्मचारीलाई आवश्यक निर्देशन दिन्छन् र विकास निर्माणका योजनामा छलफल गर्छन् ।
‘सानैदेखि जे काम पनि जबरजस्ती गर्ने मेरो स्वभाव हो । यही स्वभावले म अहिले पनि जबरजस्तीमात्रै काम गरिरहेको छु । मेरो डेढ वर्षको कार्यकाल बिमारीमै जाने हो भन्ने चिन्ताले मात्रै म काम गरिरहेको हुँ,’ उनले सेवाग्राहीलाई भने ।
नसासम्बन्धी रोगले हमाललाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि असर पारेको छ । ‘धेरै रिसाउँछु । रिसले झर्किन्छु, फेरि पछिल्लो दिन सम्झाउँछु, रिसाएको ठाउँमा माफी पनि माग्छु,’ उनी आफ्नो कमजोरी स्विकार्छन् । कैयौँ पटक बिमारीकै कारण लड्ने गरेको र बेइज्जत हुने डरले आफैँ सम्हालिने गरेको अनुभव पनि उनले सुनाए ।
गत शनिबार धनगढीमा भएको साइकल र्यालीमा उनले मनोबल बढाएरै साइकल चलाए, तर त्यस क्रममा असहज महसुस भएको उनले स्विकारे ।
यी सबैका बाबजुद उनको प्राथमिकता स्पष्ट छ । ‘मेरो बिमारीको समस्या एकातिर छ, तर काम गर्ने कुरा अर्कोतिर छ,’ उनले भने ।
अबको राजनीतिमा स्वतन्त्र उम्मेदवारहरूको भूमिका के हुन्छ ? उनीहरूले कसलाई समर्थन गर्छन् भन्ने चासो बढिरहेका बेला हमाल भने यो विषयमा बोल्न चाहँदैनन् ।
‘म स्वस्थ्य भएर आएपछि मिडियाकर्मीसँग घण्टौँ समय दिएर कुरा गर्नेछु । अहिले म त्यो अवस्थामा छैन । पहिलो कुरो त केही गर्न बाँच्नुपर्छ । म धनगढीवासीले दिएको जिम्मेवारी पूरा गर्न लागिरहेको छु,’ उनले भने ।
गोपाल हमालले चुनाव जितेर आएको एक वर्षमा विभिन्न नमुना कामको सुरुवात गरे । ती कामबारे देश–विदेशमा चर्चा भयो । अहिलेसम्म तीमध्ये कतिपय काम पूरा भइसकेका छन् भने कतिपय बाँकी नै छन् । बाँकी रहेका काम पूरा गर्न आफू लागिपरेको उनी बताउँछन् ।

‘धनगढीलाई मोडल नगर बनाउनेछु, भ्रष्टाचार हुन दिने छैन,’ हमालको यो मुख्य चुनावी नारा थियो । आफ्ना प्रतिस्पर्धीभन्दा १२ हजार बढी मत ल्याएर विजयी भएका हमालले चुनावका समयमा गरेका विभिन्न बाचा साकार पार्न केही ठोस र नमुना काम अघि बढाएका छन्, जसले नगरवासीमा आशा पनि जगाएको छ ।
- डुबानमुक्त अभियान
हरेक वर्षायाममा धनगढी सहर डुबानले जलमग्न हुन्थ्यो । यहाँका कुला, नाला र खोलाहरू अतिक्रमणमा परेर साँघुरिएका थिए, जसले पानीको निकास रोक्थ्यो । २०७२ सालमै अतिक्रमण हटाउने निर्णय भए पनि त्यो कार्यान्वयन हुन सकेको थिएन ।
नगर प्रमुखमा आफू निर्वाचित भएको एक महिना नबित्दै हमाल ‘एक्सन’मा उत्रिए । २०७९ असार १ गतेदेखि उपमहानगरको डोजर २०२१ सालको नापी नक्सा बोकेर खोला–नालाका किनार खाली गराउन निस्कियो । यो अभियानमा स्थानीयवासीको अभूतपूर्व सहयोग मिल्यो । कतिपयले त विकासका लागि आफ्नो निजी जग्गासमेत दिए । यो अभियान अहिले पनि निरन्तर जारी छ र यसले धनगढीलाई डुबानको समस्याबाट दीर्घकालीन राहत दिने अपेक्षा गरिएको छ ।
- सडक विस्तार
धनगढीको मुख्य बजारको साँघुरो सडक र त्यसले निम्त्याउने सवारी जाम अर्को ठुलो समस्या थियो । २०७० सालदेखि हुलाकी सडक परियोजनाअन्तर्गत यो सडक विस्तारको प्रयास भए पनि स्थानीयको अवरोधले रोकिएको थियो ।
२०७९ असोजमा उपमहानगरले सडकको मध्यभागबाट दायाँ–बायाँ १५–१५ मिटरभित्रका सबै संरचना हटाउन सूचना जारी गर्यो । सुरुमा विरोध भए पनि नगर प्रमुख हमाल आफैँ हरेक टोल र घरघरमा पुगेर मानिसहरूलाई सम्झाउन थाले ।
‘विकासका लागि भनेर मलाई भोट दिनुभयो, अब काममा सहयोग गर्नुहोस् । मैले काम गर्न नसके तपाईंले मलाई जिताएको मतलबै भएन,’ उनले यसरी नागरिकसँग भावनात्मक अपिल गरे ।
दशकौँदेखि व्यापारीका रूपमा स्थापित भएकाले धेरैसँग उनको व्यक्तिगत चिनजान थियो, जसले संवादलाई सहज बनायो । परिणामस्वरुप कुनै प्रकारको बल प्रयोग नगरी ४२८ वटा घर–संरचना भत्काइयो । तर, यो सडक पुनर्निर्माण गर्न आवश्यक करिब ६० करोड रुपैयाँ उपमहानगरसँग थिएन । यहाँ हमालले आफ्नो राजनीतिक सुझबुझ र रणनीतिक चातुर्य प्रदर्शन गरे ।
कैलाली जिल्ला समन्वय समिति गठनमा उनको एक मत निर्णायक हुने अवस्था भयो । उनले सत्तामा रहेको गठबन्धनसँग आफ्नो सडक योजनाका लागि प्रदेश सरकारबाट बजेट सुनिश्चित भएमात्र मत दिने सर्त राखे । उनको सर्त पूरा भयो र तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारले ६६ करोड रुपैयाँ छुट्ट्यायो । फेरि आवश्यकता अनुसार थप बजेट प्रदेश सरकारले दिएपछि अहिले प्रदेश सरकारको बजेटबाट पार्किङ, नाली र फुटपाथसहितको आधुनिक चार–लेन सडक निर्माण कार्य लगभग अन्तिम चरणमा छ । कालोपत्रेको काम सकिँदैछ ।

- स्वास्थ्य सेवाः घरआँगनमै विशेषज्ञ डाक्टर
हमालको टिमले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेको छ । चुनाव जितेको पहिलो वर्ष नै साउन १ गतेदेखि धनगढीका हरेक वडामा महिनामा एक दिन विशेषज्ञ डाक्टरसहितको निःशुल्क क्लिनिक सञ्चालन हुँदै आएको छ । यो क्लिनिकमा जनरल फिजिसियन र स्त्री तथा प्रसूति रोग विशेषज्ञले भिडियो एक्सरे, इसीजी, मधुमेह परीक्षणजस्ता सेवा निःशुल्क प्रदान गर्छन् । यसले विशेषगरी ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक र आर्थिक रूपमा कमजोर वर्गलाई ठुलो राहत दिएको छ । यो कार्यक्रमबाट हजारौँले सेवा लिएका छन् ।
यसका साथै, गर्भवती, सुत्केरी आमा र शिशु मृत्युदर शून्यमा झार्ने लक्ष्यका साथ ‘आमा बचाउ’ कार्यक्रम लागु गरिएको छ । यसअन्तर्गत एम्बुलेन्स निःशुल्क उपलब्ध गराइएको छ, जसले १९ वटै वडाका गर्भवतीलाई तत्काल अस्पताल पुर्याउँछ ।
- धनगढीको शैक्षिक सुधार
उपमहानगरपालिकाले आफ्नो आलोचना भइरहेको शिक्षा क्षेत्रमा सुधारका लागि २०८० मा ‘शैक्षिक सुधारको वर्ष’ घोषणा गर्दै ठोस कदम चाल्यो । सो वर्ष संघीय बजेटबाहेक आन्तरिक स्रोतबाटै थप चार करोड रुपैयाँ विनियोजन गरेर उपमहानगरले सामुदायिक विद्यालयको मुहार फेर्ने अभियान थालेको थियो ।
यस अन्तर्गत पहिलो कामका रूपमा विद्यालय समायोजन गरियो । सुधारको सुरुवात संरचनागत परिवर्तनबाट गरियो । विद्यार्थी संख्या न्यून भएका, भौगोलिक रूपमा नजिक रहेका र नतिजा अत्यन्तै कमजोर भएका विद्यालयहरूलाई नजिकको अर्को विद्यालयमा समायोजन (मर्ज) गरियो । यसले स्रोत र शिक्षकको उचित व्यवस्थापनमा मद्दत पुगेको छ ।
यस्तै शिक्षक व्यवस्थापन र गुणस्तर वृद्धि पनि गरियो । उपमहानगरले अध्यापन अनुमति पत्र (लाइसेन्स) विना कार्यरत शिक्षकहरूलाई हटायो । साथै, विद्यालयहरूमा शिक्षक–विद्यार्थी अनुपात मिलाउन दरबन्दी मिलानको काम सुरु गर्यो । अभाव पूर्तिका लागि नयाँ शिक्षकको विज्ञापनसमेत गरियो । नवप्रवेशी शिक्षकहरूलाई सिकाउन दुई जना अनुभवी ‘मेन्टर शिक्षक’ समेत नियुक्त गरियो ।
नगर प्रमुख गोपाल हमालले २०८० मा आफ्नो सरकारी सुविधाबाट ८९ लाख ९२ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री खरिद गरी शून्य नतिजा ल्याएका विद्यालयहरूलाई वितरण गरेका थिए । अहिले पनि सो काम भइरहेको छ । साुमदायिक विद्यालयमा अतिरिक्त कक्षा, लेखन अभ्यासमा जोड पनि भइरहेका छन् ।

उपमहानगरले ग्रामीण क्षेत्रलाई लक्षित गरी पाँच वटा विद्यालयलाई ‘नमूना विद्यालय’का रूपमा विकास गर्ने काम सुरु गरेको छ । यी विद्यालयमा अंग्रेजी माध्यम र स्मार्ट बोर्ड, प्रविधि र सहकार्य, प्रोत्साहन र सम्मानजस्ता काम यी नमूना विद्यालयमा भइरहेका छन् ।
- ज्येष्ठ नागरिक, एकल महिलालाई सम्मान भ्रमण
उपमहानगरले हरेक वडाबाट ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठाउने गरेको छ । एकल महिलालाई पनि यस्तो भ्रमणमा सहभागी गराउँदै आएको छ । निजी अस्पतालहरूसँग सम्झौता गरी ज्येष्ठ नागरिकका लागि विशेषज्ञ डाक्टरको शुल्क मिनाहा र अन्य उपचारमा सहुलियतको व्यवस्था गरिएको छ ।
- उज्यालो र हरियाली धनगढी
उपमहानगरपालिकाले उज्यालो र हरियाली धनगढी अभियान अन्तर्गत ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान, हाइमास्ट लाइट, नेपालको झण्डा कलरको रङ्गीचङ्गी लाइट जडान गरेको छ । यसका साथै उपमहानगरपालिकाका विभिन्न ठाउँमा हाइमास्ट लाइट र स्मार्ट बत्ती जडान गरिएका छन् ।
६ लेन सडक लगायत विभिन्न ठाउँमा रोपिएका बोटहरू अहिले ठुला अनि आकर्षक बनेर नगरको सुन्दरता बढाएका छन् ।
- प्लास्टिक प्रतिबन्ध र महिला सशक्तीकरण
‘प्लास्टिकमुक्त धनगढी’ अभियानअन्तर्गत प्लास्टिकका झोला प्रतिबन्धित छन् । यसको विकल्पमा सालको पातबाट दुनाटपरी बनाउन महिलालाई तालिम दिइएको छ । यसले वातावरण संरक्षणसँगै महिलाहरूलाई आयआर्जनको अवसर प्रदान गरेको छ । प्लाष्टिकका फूल हटाउन पुष्पखेतीको विस्तार गर्न किसानलाई तालिम र बजारको व्यवस्थापन पनि उपमहानगरले गरेको छ । अहिले धनगढीमा पुष्प खेती गर्ने धेरै किसान छन् ।
सडक व्यापारलाई निश्चित ठाउँ तोकेर व्यवस्थित गर्ने, फोहोरलाई स्रोतबाटै वर्गीकरण गर्ने, सुक्ष्म फोहोर वर्गीकरण केन्द्र सञ्चालनका साथै जथाभावी फोहोर फाल्नेलाई जरिबाना तोकिएको छ ।
टोल समुदायमा सरसफाइका काम भइरहेका छन् । धनगढीमा मरुभूमिको संकेत देखिएका कारण अतिक्रमण गरिएका र संरक्षणविहीन बनेका तालहरूलाई खोजी गरेर भूमिगत पानी पुनर्भरण गर्ने काम नीति बनाएरै गरिएको छ ।
‘हर घडी नगर प्रहरी’ परिचालन गर्ने र काजकिरिया गर्न नसक्ने विपन्न परिवारलाई आर्थिक सहयोगका साथै नगर प्रहरीद्वारा सलामी दिनेजस्ता मानवीय र व्यवस्थापकीय काम पनि भएका छन् । सार्वजनिक शौचालय निर्माण, शनिबारे मेला लगायतका थुपै उदाहरणीय काम धनगढीमा भइरहेका छन् ।
हमालको बलियो र महत्त्वपूर्ण पक्ष उनको समन्वयकारी नेतृत्व क्षमता हो । उनी हरेक दिन उपमेयर, प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरूसँग बैठक बसेर काम सुरु गर्छन् । कार्यपालिका बैठकमा फरक राजनीतिक दलबाट जितेका जनप्रतिनिधिहरू भए पनि अहिलेसम्म कुनै ठुलो विवाद भएको छैन ।
गोपाल हमाल आफूले अघि सारेका योजनामध्ये अधिकांशलाई यही कार्यकालमा पूरा गर्न लागिपरेको बताउँछन् । ‘अब मेरो कार्यकाल धेरै छैन । छोटो समय छ, त्यसैले चुपचाप म आफ्ना काम पूरा गर्न सक्रिय भइरहेको छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण