बाबुरामको नयाँ शक्ति अभियान : पार्टी गठन-विघटनमै बिते १० वर्ष
काठमाडौँ । १० वर्ष माओवादी सशस्त्र जनयुद्धका प्रमुख योजनाकार डा. बाबुराम भट्टराईले मंसिर ७ गते आफ्नै संरक्षकत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) घोषणा गरे । आफैंले नेतृत्व छाडेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेपाली कम्युनिस्ट पार्टीबाट अलग भएका जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका सन्तोष परियार समूहलाई मिलाएर भट्टराईले नयाँ पार्टी घोषणा गरेका हुन् । युवापुस्तालाई अगाडि सारेर घोषणा भएको पार्टीमा आफू अभिभावकीय भूमिकामा रहने प्रतिबद्धता जनाए ।
‘अभिभावकले आफैं सक्रिय कार्यकारी भूमिका निर्वाह गर्दैन । जसले काम गर्नुपर्ने हो, तिनीहरूलाई काम गर्न दिन्छ, दिनुपर्छ, आफ्नो कुरा राख्नुपर्छ । लागु भएन भने पनि उनीहरूले जे गर्छन्, उनीहरूको अधिकार हो भनेर सहेर बस्नुपर्छ । तर आफ्नो कुरा चाहिँ फेरि भनिराख्नुपर्छ । म त्यही प्रतिबद्धता तपाईंहरूसँग व्यक्त गर्न चाहन्छु,’ उनले भने ।
जेनजी विद्रोहको रापतापले परम्परागत राजनीतिक दलहरूको जरो हल्लिएको बेला भट्टराईले असोज ८ गते नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पद परित्याग गरेका थिए । पार्टीको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्दै उनले पार्टीको कार्याकारी भूमिकामा नरहने, तर नयाँ र वैकल्पिक शक्तिहरूलाई गोलबद्ध गर्न सक्रिय रहने घोषणा गरेका थिए ।

२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरेका उनले नयाँ शक्ति अभियान चलाएका थिए । तर माओवाद मात्र नभई कम्युनिस्ट चरित्र नै परित्याग गरेको आरोप खेप्दै आएका उनले माओवादी पृष्ठभूमिबाट आएकालाई विश्वस्त पार्ने प्रयास गरे ।
‘धेरै माओवादी पृष्ठभूमिका साथीहरू हुन्छ, दाइले छोडेर जानुभयो भन्नुहुन्छ । छोडेर गएको होइन,’ डा. भट्टराईले भने, ‘माओवादी आन्दोलनले आफ्नो कार्यभार पूरा गर्यो । २००७ सालमा सुरु भएको जुन क्रान्ति र परिवर्तनको कुरा थियो, त्यसलाई २०४६ सालमा अलिकति अगाडि बढाइयो, त्यो अपूर्ण थियो । त्यसलाई अझ पूर्णता दिनुपर्छ भनेर धक्कामूलक ढंगले माओवादी जनयुद्ध र २०६२/६३ को आन्दोलनले एउटा उचाइमा पुर्याएर हामीले २०७२ सालमा त्यसलाई सापेक्ष ढंगले पूरा गरेको हो । माओवादी आन्दोलन त्यो पूरा गर्ने एउटा अन्तिम कडी थियो ।’
प्रलोपाको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, माओवाद मात्र नभई समाजवाद समेत नपरेपछि अलमलमा देखिएका सहभागीहरूलाई भट्टराईले थप प्रष्ट पारे ।
‘हामीले पार्टीको नाममा अहिले समाजवाद भन्नुभन्दा पनि गुदी तत्व भनेको प्रगतिशीलता हो, निरन्तर गति, परिवर्तनमा हो । लोकतन्त्र हो । लोकतन्त्र भनेको निरन्तर विकसित हुँदै जाने चीज हो । उन्नत ढंगले हुँदै जाने कुरा हो’, व्याख्या गर्दै उनले भने, ‘प्रगतिशीलता कन्टेन्टमा, गुदीमा, एजेन्डा राजनीतिमा, अर्थनीतिमा, विचारमा, संस्कृतिमा, संस्कारमा, शैलीमा हुनुपर्यो । रुप पक्ष डेमोक्रेटिक हुनुपर्यो । प्रत्यक्ष जनताबाट निर्वाचित हुने, खुलापन हुने लगायत जुन आधुनिक लोकतन्त्रका मान्यताहरू छन्, त्यसलाई विकसित गर्दै जाने हुनुपर्यो भन्ने अर्थमा हामीले प्रगतिशील लोकतन्त्र भनिएको हो ।’
प्रलोपा अर्को एकथान पार्टी नभएको भट्टराईले जिकिर गरे । कांग्रेसबाट रुष्ट भएका, कम्युनिस्टबाट रुष्ट भएका आउने ठाउँ नभएर त्यो भन्दा विकसित, तिनीहरूबाट भन्दा अगाडि बढेको चेतना भएका मान्छे आउने ठाउँ भएको उनको भनाइ थियो । पार्टी नेतृत्व पाँचजना अध्यक्ष मण्डलबाट हुने व्यवस्था विधानमा गरेको छ । केन्द्रीय समिति १५१ सदस्यीय रहनेछ । अध्यक्ष मण्डलमा सुदन किराती, दुर्गा सोब, सन्तोष परियार, अशोक जैसवाल र जेनजी अगुवा ओजस्वी भट्टराई रहनेछन् ।
‘पुरानो बोत्तलमा नयाँ बिर्को’
राजनीतिक विश्लेषक चन्द्रकिशोरले पार्टीको नाम परिवर्तन हुने, तर प्रवृत्ति र प्रक्रियामा कुनै फेरबदल नहुनुले जनताको परिवर्तनमा केही भूमिका नखेल्ने जिकिर गरे ।
‘विभिन्न जार्गन प्रयोग गर्न कम्युनिस्टहरू सिपालु हुन्छन् । पुरानै बोतलमा नयाँ बिर्को प्रयोग गरेर हुँदैन । पार्टी र नाम फेर्दैमा केही हुँदैन । मुख्य कुरा प्रवृत्ति र प्रक्रिया हो । तर शब्दमा अग्रगामी, प्रगतिशील, छलाङजस्ता प्रयोग गर्छन्’, उनले भने, ‘यसले जनताको जीवनमा कुनै परिवर्तन आउँदैन । मुख्य कुरा जनताबिच कसरी प्रस्तुत हुन्छन् । जनमतलाई कसरी आकर्षित गर्छन् भन्ने कुरा ख्याल गर्नुपर्छ । पछिल्ला गतिविधि भ्रम सिर्जना गर्नु बाहेक केही अर्थ राख्दैन ।’
_M8ght4cnJt.jpg)
पार्टीको नाम पुरानै भएपनि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व आउनेले सामाजिक मूल्य मान्यता, राजनीतिक सोच, प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्न सकिएमा पार्टीको नाम वा सिद्धान्त परिवर्तन आवश्यक नभएको चन्द्रशेखर बताउँछन् ।
भट्टराईको १० वर्ष : दल अदलबदलमै सीमित
डा. भट्टराईले माओवादी परित्याग गरी २०७३ साल जेठ ३० गते दशरथ रंगशालामा राजनीतिकर्मी, सिनेकर्मी, सामाजिक अगुवा लगायत सबै पक्षलाई समेटेर नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे । एकै पटक हजार जनालाई शपथ खुवाएका उनले पुराना पार्टीबाट अब देश अगाडि बढ्न नसक्ने विश्लेषण गरेका थिए ।
संविधान निर्माणपछि आधा भरिएको गिलास नयाँ वैकल्पिक शक्तिले पूरा गर्ने जिकिर गरे । तर भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिले १० वर्ष पूरा गर्दा समेत आधा भरिएको गिलास पूरै भर्न असफल देखिए । विश्लेषकहरूले भट्टराईमा अहिले पनि माओवादीकै धङ्धङी बाँकी रहेकाले उनको नेतृत्वमा अब नयाँ वैकल्पिक शक्ति निर्माण असम्भव रहेको विश्लेषण गरेका थिए । रातोपाटीसँग कुराकानीको क्रममा विश्लेषक मुमाराम खनालले आगामी कार्यदिशाबारे भट्टराई आफैं द्विविधामा रहेको बताएका थिए ।
‘बाबुरामजी आफैं द्विधिधामा हुनुहुन्छ । उहाँको गन्तव्य कता हो भन्ने कुरा कसैले भेउ नै पाउँदैन । आज एकथोक भन्नुभएको हुन्छ, उहाँको सम्पूर्ण गतिविधिले अर्कैथोक बताइरहेको हुन्छ । दिशाहीन गन्तव्यमा हिँडेका व्यक्तिले पार्टीको नाम फेर्दैमा वा दल अदलबदल गर्नुको कुनै अर्थ छैन’, खनालले भनेका थिए ।

भट्टराईमा महत्वकांक्षा कम्युनिस्टको भन्दा केही फरक खनालको टिप्पणी छ । रुपमा लोकतान्त्रिक जामा लगाएपनि सारमा अधिनायकवादी चिन्तन कायमै रहेकाले वैकल्पिक शक्ति निर्माणमा खासै प्रभाव नराख्ने उनी विश्लेषण गर्छन् ।
भट्टराई निकटस्थ नेताहरूले नयाँ शक्ति बनेदेखि १० वर्षमा जे–जे अभ्यास र प्रयोग गरियो, तर व्यवहारमा जनताले पुराना शक्तिभन्दा फरक नदेखेकाले मानिसहरूले छोड्दै गएको स्वीकार गरेका छन् । आफूहरूले उठाउँदै आएका स्वाधीनता, सुशासन, समृद्धि, समावेशी समानुपातिक राज्यप्रणाली, समुन्नत समाजवादको अंश-अंश लिएका अरु दललाई जनताले पत्याइदिँदा समस्या आएको प्रलोपाका नेता कृष्ण शर्माको भनाइ छ । जेनजी विद्रोहपछि संगठनात्मक नेतृत्वमा युवालाई ल्याएर व्यवहारबाट नै लागु भएको दाबी गरे । विचार र संगठनमा प्रलोपा नयाँ भएको उनको जिकिर छ ।
‘अहिले जनताले फेरि विकल्प खोजेका छन् । जीवनमा परिवर्तन खोजेका छन् । जेनजी विद्रोहपछि पुराना दल खारेज भइसकेका छन् । विचार र संगठनमा हामी नयाँ छौँ,’ उनी भन्छन्, ‘जेनजीलाई नेतृत्वमा ल्याएर हामीले व्यवहारमा नै लागु गरिसक्यौँ ।’
भट्टराईले पनि कम्युनिस्ट पार्टी आफैंमा रूपान्तरण भएको संसारमा कतै उदाहरण नभएको दाबी गरेका छन् । नेपालको सन्दर्भमा तीन धार स्पष्ट रुपमा देखिएको उनको विश्लेषण छ ।
‘नेपालको सन्दर्भमा तीन धार देखिन्छ । एउटा मध्यदक्षिणपन्थी धार, जसको नेतृत्व पुँजीपति, सामन्त वर्गले गर्छ । अर्को ठुलो शक्ति साना किसान, मजदुर, मध्यमवर्गीय व्यवसायीको मध्यवामपन्थीले नेतृत्व गर्छ । यी दुवैको विकल्पमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको हो’, उनले भने ।
ती वैकल्पिक शक्तिले जनताबाट म्यान्डेट लिएर संविधान सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहितको संसदीय व्यवस्थामा जानुपर्नेमा उनले जोड दिएका छन् ।
२०७४ सालको निर्वाचनमा नयाँ शक्ति लज्जास्पद पराजय भएपछि भट्टराईले अशोक राई नेतृत्वको संघीय समाजवादीमा पार्टी विलय गराए । पछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग एकता गरी संघीय समाजवादी फोरम बनाए । २०७७ वैशाखमा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी तमलोमासँग मिलेर जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन गरे । राई, यादव र ठाकुरसँग मिलेर पार्टी एकता गर्दा समेत भट्टराई आफ्नो लक्ष्यमा सफल देखिन्नन् ।
२०७९ साउनसम्म आइपुग्दा जसपा नेपाल तीन टुक्रामा विभाजन भयो । भट्टराई आफैं पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरे । नेसपा समेत उनले जोगाउन सकेनन् । २०८१ चैतसम्म आइपुग्दा नेसपा विभाजन भयो । पार्टी विभाजनपछि गत वर्ष माघमा महाधिवेशन गरी फेरि नेसपा (नयाँ शक्ति) पुनर्गठन गरे । अध्यक्षमा आफैं निर्वाचित भए । तर निर्वाचित भएको आठ महिनामै उनले पद त्याग गरे ।
अहिले भट्टराईकै पूर्व माओवादी र पूर्व रास्वपा समूहलाई मिलाएर मध्यवामपन्थी पार्टी गठन गरेका छन् । नयाँ शक्ति अभियानको १० वर्षे दौरानमा उनले नयाँ शक्ति, संघीय समाजवादी, जनता समाजवादी, नेपाल समाजवादी र प्रगतिशील लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छन् । भट्टराईले दाबी गरेजस्तै प्रलोपा पुराना पार्टीको विकल्पमा दरिलोसँग उभिन्छ कि उभिँदैन भन्ने सम्बन्धमा जनमतबाट परीक्षण हुन बाँकी छ ।
बाबुरामको कमजोरी
पछिल्लो राजनीतिक क्रान्तिको नेतृत्व गरेको माओवादीलाई नै रूपान्तरण गरेर नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने भट्टराईको प्रयास असफल भयो । नयाँ वैकल्पिक शक्ति भनिएपनि परम्परागत दलहरूसँग सहकार्य हुँदा जनतामा केही भ्रम पर्न गएको उनी आफैंले स्विकारेका छन् ।
भट्टराईले माओवादी आन्दोलनदेखि शान्ति स्थापनासम्मको नेतृत्व आफूले नै गरेको दाबी गरेका छन् । विचार निर्माण, संविधानसभा, गणतन्त्र, संविधान निर्माणमा आफ्नो हस्तक्षेपकारी भूमिका रहेको उनको भनाइ छ । संविधान निर्माणपछि माओवादीले आफ्नो कार्यभार पूरा गरेकाले कम्युनिस्ट पार्टी आवश्यक नभएको निष्कर्षमा भट्टराई पुगे ।
तर २०७४ सालमा तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेकपामा जान लालायित देखिएका थिए । प्रचण्डले ग्रिन सिग्नल नदिएपछि भट्टराई पछि हटे । २०७९ को निर्वाचनसम्म आइपुग्दा पुरानै पार्टी माओवादीसँग एकता गर्न तयार भए । पार्टी एकताका लागि ९ बुँदे आधार पत्रसमेत पठाए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूले लगातार जित्दै आएको गोरखा क्षेत्र नम्बर २ प्रचण्डलाई त्याग गरे । माओवादीकै चुनाव चिह्न लिएर पार्टी निर्वाचनमा होमिए । निर्वाचनपछि प्रचण्ड र बाबुरामको सम्बन्ध चिसियो । एकताको विषयलाई लिएर नेसपा नै विभाजन भयो । यद्यपि अब यस्तो गल्ती नदोहोरिने उनले बताएका छन् ।
‘माओवादीका साथीहरूले हामी सच्चिन तयार छौँ भनेपछि चुनावी सहकार्य गरेका हौँ । तर स्टालिनमा आधारित कम्युनिस्ट पार्टीले आफूलाई रूपान्तरण गर्न चाहेनन् । यसमा हाम्रो कमजोरी भयो । अब त्यो गल्ती दोहोरिँदैन,’ भट्टराईले भनेका थिए ।
कांग्रेस र कम्युनिस्ट नामका पुराना पार्टी काम छैन भनेर सार्वजनिक रुपमा टिप्पणी गर्दै आएका उनले तिनै कांग्रेस र माओवादीसँग चुनावी तालमेल गरे । भट्टराईका यिनै विरोधाभाषपूर्ण गतिविधि नै राजनीतिक असफलता भएको विश्लेषकहरूको भनाइ छ ।
अहिले भट्टराईलाई ३५ वर्षदेखि साथ दिएका गंगानारायण श्रेष्ठलगायत नेताहरू समेत नेपाली कम्युनिस्ट पार्टीमा (साविक माओवादी) मा फर्किसकेका छन् । नयाँ शक्ति अभियानमा जोडिएका पेसागत व्यक्तिहरू पनि आ–आफ्ना बाटो लागिसकेका छन् । माओवादीमा रहँदा कटु आलोचक रहेका जनार्दन शर्मा, सुदन किराती, अशोक जैसवाल भट्टराईका सारथी बन्न आइपुगेका छन् । विश्लेषक खनालले माओवादीभन्दा पृथक राजनीतिक पहिचान बनाउन नसक्नु भट्टराईको कमजोरी रहेको विश्लेषण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण