बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विष्णु ढुंगेलको गिरफ्तारीप्रति अखिल (क्रान्तिकारी)को आपत्ति

बिहीबार, ११ मङ्सिर २०८२, १२ : ०७
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • अनेरास्ववियु (क्रान्तिकारी) ले अधिवक्ता विष्णु ढुंगेलको गिरफ्तारीको विरोध गरेको छ।
  • ढुंगेललाई जेनजी विद्रोहको समयमा सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको थियो।
  • संगठनले सरकारलाई छानबिन गर्न र निर्दोष विद्यार्थीलाई फसाउने कार्य रोक्न माग गरेको छ।

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) ले अधिवक्ता तथा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेलको गिरफ्तारीप्रति आपत्ति जनाएको छ । अखिल क्रान्तिकारीको ल क्याम्पसका पूर्वअध्यक्ष समेत रहेका ढुंगेललाई जेनजी विद्रोहका क्रममा सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । ढुंगेललाई पक्राउ गर्नु सरकारले मनोमानी र दमनकारी कदम भएको संगठनको आरोप छ ।

अखिल (क्रान्तिकारी) उपत्यका विशेष समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको तस्बिर र भिडियो क्लिप मात्रलाई आधार बनाएर योजनाबद्ध रूपमा गरिएको गिरफ्तारी किमार्थ स्वीकार्य छैन ।’

ढुंगेल आन्दोलनमा लोकतान्त्रिक अधिकार प्रयोग गर्दै सहभागी भएको दाबी गरेको छ । सरकारले ‘निर्दोष विद्यार्थी तथा युवा’ लाई योजनाबद्ध रूपमा फसाउन खोजेको विज्ञप्तिमा भनिएको छ ।

संगठनले देशभर भएको जेनजी आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहेको र आन्दोलनमाथि भएको दमनबाट ७२ जनाको ज्यान गएको घटनालाई राज्य हिंसाको चरम उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।

‘आन्दोलनका क्रममा विद्यार्थीमाथि दमन गरी ७२ जनाको हत्या गर्न आदेश दिने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, काठमाडौँका तत्कालीन सीडीओ, प्रहरी नेतृत्व तथा आन्दोलनलाई हाइज्याक गरेर प्रहरीको हत्या गराउने व्यक्तिहरूलाई छानबिन र कारबाही नगरी उल्टै विद्यार्थीमाथि सरकार खनिनु अत्यन्तै आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।

अखिल क्रान्तिकारीले भदौ २३/२४ का घटनामा छानबिन गर्न गठन गरेको आयोगमार्फत निष्पक्ष रूपमा सत्य तथ्य बाहिर ल्याउन सरकारसँग माग गरेको छ । वास्तविक घुसपैठ समूह पहिचान गरी कानुनी कारबाही गर्न सकिने भए पनि शान्तिपूर्ण रूपमा आन्दोलनमा सहभागी भएकाहरूलाई फसाउने प्रवृत्ति तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छ ।

ढुङ्गेल अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनमा उपमहासचिव पदमा पराजित भएका थिए  ।

ea4e2278-e2e4-4ba0-ad5f-68666dfce3a8 (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप