शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ

व्यावसायिक र व्यक्तिगत प्यान नम्बर लिनेको संख्या ७० लाख नाघ्यो

आय विवरण बुझाउने पनि बढे
बिहीबार, ११ मङ्सिर २०८२, १३ : ४५
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • सरकारले करको दायरा बढाएपछि करदाताको संख्या ७० लाख नाघेको छ।
  • व्यवसायिक र व्यक्तिगत प्यान लिनेको संख्यामा वृद्धि हुनुका साथै भ्याट र अन्तःशुल्कको दायरा पनि बढेको छ।
  • आय विवरण बुझाउनेको संख्या १५ लाख नाघेको छ, तर विवरण नबुझाउने करदाताको संख्या पनि बढेको छ।

काठमाडौँ । सरकारले करको दायरा विस्तारमा तीव्रता दिएसँगै पछिल्ला वर्षहरूमा करदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आन्तरिक राजश्व विभागको पछिल्लो तथ्यांक अनुसार व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको कुल संख्या ७० लाख नाघेको छ ।

त्यस्तै, आय विवरण बुझाउने करदाताको संख्यामा पनि आन्तरिक राजश्व विभागको तथ्याङ्क अनुसार उत्साहजनक सुधार देखिएको छ।

  • पान दर्तामा उल्लेख्य वृद्धि

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ सम्ममा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ४५ हजार ८२० पुगेको छ। आर्थिक वर्ष २०८०/८१ मा १ लाख ५१ हजार ३७७ जना नयाँ करदाताले व्यावसायिक पान लिएका थिए भने आव २०८१/८२ मा १ लाख १८ हजार १३८ जना थपिएका छन्।

त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर  लिनेको संख्या झन् ठुलो छ । हालसम्म ४९ लाख २० हजार ३८९ जनाले व्यक्तिगत पान लिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा ६ लाख १७ हजार ५३२ जनाले व्यक्तिगत पान लिएकोमा आव २०८१/८२ मा यो संख्या बढेर ६ लाख ५३ हजार २४३ पुगेको छ ।

  • भ्याट र अन्तःशुल्कको दायरा विस्तार

मूल्य अभिवृद्धि कर तर्फ पनि करदाताको सहभागिता विगतका वर्षको भन्दा बढेको छ । तथ्यांक अनुसार यस आर्थिक वर्षको अन्त्यसम्ममा ३ लाख ५९ हजार ६६० करदाता भ्याटको दायरामा समेटिएका छन्। आव २०८०/८१ मा २६ हजार ५४० जना भ्याटमा दर्ता भएकोमा आव २०८१/८२ मा २४ हजार ६४३ करदाता थपिएका छन् ।

यसैगरी, अन्तःशुल्क तर्फ आव २०८१/८२ सम्ममा १ लाख ६१ हजार ७२४ करदातालाई इजाजतपत्र प्रदान तथा नवीकरण गरिएको छ, जुन अघिल्लो आव २०८०/८१ मा १ लाख ३७ हजार २५९ रहेको थियो ।

  • आय विवरण बुझाउनेको संख्या १५ लाख नाघ्यो

आय कर विवरण बुझाउनेहरुको तथ्याङ्कले पछिल्लो समय कर सहभागितामा सकारात्मक सुधार देखिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ११ लाख ३५ हजार २१७ जनाले आय विवरण बुझाएकोमा आव २०८०/८१ मा यो संख्या बढेर १२ लाख ३५ हजार ८११ पुगेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा आइपुग्दा आय विवरण बुझाउनेको संख्या १५ लाख २ हजार १२० पुगेको विभागले जनाएको छ। अग्रिम कर कट्टी विवरण तर्फ पनि आव २०८१/८२ मा ५ लाख २७ हजार ६९३ विवरण प्राप्त भएका छन् ।

करदाताको संख्या बढे पनि मूल्य अभिवृद्धि करमा विवरण नबुझाउने (नन–फाइलर) को संख्या भने बढ्दो क्रममा देखिएको छ । तथ्यांक अनुसार २०७७ असारमा १२.११ प्रतिशत रहेको नन–फाइलरको संख्या २०८१ असारमा २७.९५ प्रतिशत पुगेको थियो भने २०८२ असार महिनाको तथ्यांकमा यो ह्वात्तै बढेर ४५.४९ प्रतिशत पुगेको देखाइएको छ ।

करदाताले स्वयं आफ्नो विवरण अद्यावधिक गर्न सक्ने प्रणाली लागू भएपछि लाखौं करदाताले विवरण अद्यावधिक गरेका छन्। यद्यपि, यो संख्या पछिल्ला वर्षमा घट्दो क्रममा छ ।

आर्थिक वर्ष २०७८/७९ मा १० लाख बढीले विवरण अद्यावधिक गरेकोमा आव २०८१/८२ मा १ लाख ३२ हजार ४०६ जनाले मात्र विवरण अद्यावधिक गरेका छन्।

त्यस्तै, आय विवरणको ‘¥यापिड भेरिफिकेसन’ मार्फत आव २०८१/८२ मा १०,६४९ आय विवरणको परीक्षण गरी २९ करोड ९४ लाख ९७ हजार कर निर्धारण गरिएको छ । अघिल्लो आव २०८०/८१ मा १०,३९४ विवरण परीक्षणबाट रु. ३७ करोड ६२ लाख ५६ हजार कर निर्धारण भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप