बेसमेन्ट खन्दा छिमेकीको घर चर्केको उजुरी बढ्यो
सारांश
- काठमाडौं महानगरमा बेसमेन्ट खन्दा घर चर्केको उजुरी बढ्दो छ।
- क्षतिपूर्तिको माग गर्दै उजुरी दिने छिमेकीको संख्या बढेको छ।
- निर्माण गर्दा सुरक्षा मापदण्ड पालना नहुँदा समस्या आएको हो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा भवन निर्माणका लागि बेसमेन्ट खन्दा निर्माण पक्षले सुरक्षा उपाय नअपनाएका कारण छिमेकीको घर चर्केको उजुरी सङ्ख्या बढ्न थालेको छ ।
पछिल्लो समय घर चर्केको मात्रै नभई कोल्टिएको, घरमा बस्न असुरक्षा भएको कारण बताउँदै क्षतिपूर्तिको मागसहित उजुरी दिने छिमेकीको सङ्ख्या बढ्न थालेको कामपा सहरी व्यवस्थापन विभागका प्रमुख इन्जिनियर हरिश्चन्द्र लामिछाने जानकारी दिए ।
उनका अनुसार भवन नक्सा स्वीकृत गर्दा नै यस प्रकारको काम गर्दा सुरक्षा उपाय बलियो प्रबन्ध गर्न, छिमेकीलाई असर नगर्न घरधनीले प्रतिबद्धता गर्नुपर्ने माग गरिएको छ । उनले भने, “यस्ता समस्या पहिले थोरै सुनिन्थे । अहिले बढ्न थाले । यसको दिगो समाधानका लागि प्राविधिक र सामाजिक पक्षको अध्ययन गर्नुपर्छ । विज्ञ र साझेदारको सहयोगमा हामी यो समस्या समाधानलाई अगाडि बढाउँछौँ ।”
“कानुनी मर्यादामा निर्माण पक्षले लापर्वाही गर्दा समस्या आएका हुन्”, लामिछाने थप भन्छन्, “भवन नक्सा स्वीकृति लिँदा तोकिएका सर्तहरूको पूर्ण पालना हुनुपर्छ । सर्त पूरा नहुँदा विवाद सृजना हुन थाले । यसले निर्माण अवधि पनि लामो हुन्छ । खर्च बढ्छ ।”
यसरी उजुरी परेपछि प्राविधिक टोलीलाई फिल्ड निरीक्षणमा पठाएर प्राविधिक टोलीले दिएको प्राविधिक प्रतिवेदनअनुसार कुन प्रक्रिया अवलम्बन गर्दा पीडितको क्षति कम हुन्छ । त्यसबाट कारबाही अगाडि बढाउने गरिएको लामिछानेको भनाइ छ ।
विभागका स्ट्रक्चर इन्जिनियर सन्तोष पाण्डेयका अनुसार बेसमेन्ट खनेका आफ्नो घर चर्किएको भनेर उजुरी दिनेहरूको सङ्ख्या दैनिक ३० को हाराहारीमा पुगेको छ । वडा नम्बर १३, १४, १५, ७ लगायत वडाबाट धेरै उजुरी र गुनासो रहेको पाण्डेयको भनाइ छ ।
जिओटेक्निकल इन्जिनियर उदयराज न्यौपाने भन्छन्, “मानिस मानिस छिमेक भएजस्तै जमिन सतहको माटोको पनि आपसमा सम्बन्ध हुन्छ । यसलाई खन्दा सम्बन्ध टुट्छ । यो पक्षलाई नबुझ्दा समस्या आएको हो । भवन निर्माण गर्दा भवन निर्माण संहिताले निर्माण सुरक्षा अपनाउनुपर्ने व्यवस्था गरेको छ । यस्तै मुलुकी देवानी संहिता २०७० को परिच्छेद ३ को दफा २७८ बमोजिम निर्माणसम्बन्धी काम गर्दा सुरक्षात्मक उपाय अपनाउनुपर्छ । कुनै व्यक्तिले आफ्नो घर वा जग्गामा कुनै काम गर्दा सधियारको घर वा जग्गा वा सधियारलाई कुनै किसिमको हानिनोक्सानी नहुने वा असर नपर्नेगरी सुरक्षात्मक उपाय अपनाउनुपर्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण