शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

समानुपातिक उम्मेदवार छनोट गर्न रास्वपाले लिएका ५ वटा सिद्धान्त के–के छन् ?

आइतबार, १४ मङ्सिर २०८२, १२ : ००
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • रास्वपाले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा ५ वटा मार्गदर्शक सिद्धान्त बनाउने भएको छ।
  • पार्टीले समावेशी लोकतन्त्र, सङ्घीय सन्तुलन, आचार–नीति, नवोदय नेतृत्व र मापनयोग्य वस्तुपरकतालाई आधार बनाउनेछ।
  • युवा नेतृत्व, प्रवास र एकपटक मात्र समानुपातिक प्रणालीबाट सदस्य बनाउने नीति लिइनेछ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि समानुपातिकतर्फ उम्मेदवार बन्दसूची बनाउँदा ५ वटा मार्गदर्शक सिद्धान्त अपनाउने भएको छ । सहमहामन्त्री विपिनकुमार आचार्यले तयार पारेको उम्मेदवार छनोट रूपरेखामा पाँचवटा सिद्धान्तलाई आधार मानिएको हो ।

पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची तयारी गर्दा नेपालको संविधान, लागू कानुन तथा निर्वाचन आयोगको दिशानिर्देशलाई पूर्ण सम्मान गर्दै, समावेशी लोकतन्त्र, सङ्घीय सन्तुलन, आचार–नीति, नवोदय नेतृत्व र मापनयोग्य वस्तुपरकतामा अग्रसर गर्ने अतिरिक्त मानकहरू अपनाउने आचार्यले जानकारी दिए ।

सिङ्गो देशलाई एक निर्वाचन क्षेत्र मानेर जनसङ्ख्याको आधारमा ११० समानुपातिक बन्द सूची राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।  

यस्ता छन् सिद्धान्तहरू 

(१) सङ्घीय सन्तुलन र क्षेत्रगत न्याय

(क) सात प्रदेशबाट यथोचित र सन्तुलित प्रतिनिधित्व सुनिश्चित गरिनेछ । प्राथमिक आधार प्रदेशको क्लस्टरीय जनसंख्या हिस्सा र पार्टीको मतदाता हिस्सा रहनेछ ।

(ख) बन्दसूचीमा प्रत्येक प्रदेशको न्यूनतम प्रतिनिधित्वको ‘तल्लो सीमा’ निर्धारण गरिनेछ ।

(२) परिष्कृत समावेशिता

संविधान/निर्वाचन आयोगले परिभाषित क्लस्टर/समुदाय (जस्तै महिला, दलित, जनजाति/आदिवासी, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रभित्रका विशेष स्थान र सुविधा दिनुपर्ने उपसमूहहरूलाई) मूलधारमा ल्याउने गरी छनोट विधि निर्माण गरिनेछ ।

(३) युवा नेतृत्वको उदयन

(क) जेन–जेड स्पिरिटलाई राजनीतिको मूलधारमा ल्याउने उद्देश्यले समानुपातिक बन्द सूचीमा युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।

(ख) यस्तो सुनिश्चिततामा प्रदेशगत सन्तुलन राखिनेछ ।

(४) प्रवास (डायस्पोरा)– ‘रिटर्न पाथवे’

विदेशमा सीप/अनुभव आर्जन गरेका नेपाली नागरिकका लागि स्पष्ट, पारदर्शी प्रवेश–मार्ग स्थापना गरिनेछ र बन्दसूचीको समग्र सन्तुलन रक्षा हुने गरी अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिनेछ । 

(५) एकपटक मात्र समानुपातिक

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रतिनिधित्व प्रणालीको मूल मर्म- अवसरको पुनः वितरण (रिडिस्ट्रिब्युसन अफ अपर्च्युनिटी) लाई सुरक्षित गर्न एउटा व्यक्तिलाई एक पटक मात्र समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनाउने नीति अङ्गीकार गर्नेछ ।

यसले अवसरलाई बारम्बार केही व्यक्तिमा सीमित हुन नदिई नयाँ नेतृत्व, नयाँ पुस्ता र विविध समुदायलाई संसदमा प्रवेश गर्ने मार्ग खुला बनाउने विश्वास हामीले लिएका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप