शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चिप्लेढुंगामा राजनीतिक सभा नगर्न माग गर्दै व्यवसायीले बुझाए प्रशासन र महानगरलाई ज्ञापनपत्र

आइतबार, १४ मङ्सिर २०८२, १५ : २०
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • पोखराका व्यवसायीहरूले राजनीतिक भेला र सभा सम्मेलन रोक्न माग गर्दै प्रशासन र स्थानीय सरकारको ध्यानाकर्षण गराए।
  • दलहरूको सभा सम्मेलनले व्यापार व्यवसायमा समस्या पारेको भन्दै व्यवसायीहरूले गुनासो गरेका छन्।
  • मेयर धनराज आचार्यले आगामी दिनमा सभा सञ्चालन अनुमति दिँदा विचार पुर्‍याउने प्रतिबद्धता जनाए।

पोखरा । पोखराको चिप्लेढुंगा र मानवअधिकार क्षेत्रमा राजनीतिक भेला र सभा सम्मेलन रोकिदिन माग गर्दै व्यवसायीहरूले प्रशासन र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । 

दलको सभा सम्मेलनले आफूहरूको व्यापार व्यवसायमा समस्या परेको भन्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखराका मेयर धनराज आचार्य, जिल्ला ट्राफिक प्रहरी प्रमुख, पोखरा महानगर ४ का वडाध्यक्ष लगायतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सडक कब्जा गरेर गरिने राजनीतिक कार्यक्रम र अव्यवस्थित पार्किङले सास्ती दिएको भन्दै चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन् ।

 पोखराको व्यस्त बजार अन्तर्गत पर्ने चिप्लेढुङ्गा मानव अधिकार चोकमा विभिन्न दल तथा संघ–संस्थाहरूले सडक कब्जा गरी कार्यक्रम गर्दा समस्या भएको सचिव नवीन श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

यस्ता कार्यक्रमले ध्वनि प्रदूषण हुनुका साथै व्यवसायमा समेत असर परेको उनीहरूले गुनासो गरे । अहिले सोही ठाउँमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा आयोजना गरिरहेको छ । सभा सुरु हुनुअघि पनि व्यवसायीहरूले कार्यक्रमको विरोध स्वरूप प्रदर्शन गरेका थिए । तर सभा नरोकिएपछि उनीहरूले सटर बन्द गरेर विरोध जनाएका छन् ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सभालाई नै सम्बोधन गर्ने क्रममा आगामी दिनमा सभा सञ्चालन अनुमति दिँदा विचार पु-याउने प्रतिबद्धता जनाए । ध्यानाकर्षण पत्रमा चिप्लेढुङ्गा टोल विकास संस्था, चिप्लेढुङ्गा पश्चिम सडक उपभोक्ता समिति, महिला समाज सेवा समिति र आदर्शमार्ग २ टोल विकास संस्थाको समेत ऐक्यबद्धता जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप