‘उज्ज्वल थापाले रोपेको बिउ फक्रिनुपर्यो, मलाई केही चाहिँदैन’
विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले यति धेरै व्याख्या गरसक्नुभयो । मलाई कहाँबाट सुरु गरौँ, कहाँबाट अन्त्य गरौँ भन्ने भइरहेको छ । यो मेरो लागि सबैभन्दा गाह्रो क्षण पनि हो । एउटा उद्देश्य प्राप्त गर्ने, लक्ष्य प्राप्त गर्ने एउटा अद्भूत सम्भावना बोकेको क्षण पनि हो । यी दुईवटै क्षणलाई आफूले हेर्दै गर्दा, विश्लेषण गर्दै गर्दा केही पुराना अनुभवहरू छन् । केही नयाँ उमङ्गहरू छन् । यी दुईको सम्मिश्रण कहाँ भेटिन्छ, यी दुईको सङ्गम कहाँ भेटिन्छ भन्ने पनि छ ।
विवेकशील अभियान हुँदै विवेकशील साझा पार्टीले गरेको १२ वर्ष लामो यात्रा आज राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकृत भएर अगाडि बढ्दै गर्दा कहाँबाट सुरु गर्ने, कसरी सुरु गर्ने भन्ने एउटा सङ्कोच हुन्छ नै । विशेषगरी महिला साथीहरूलाई वर्षौँसम्म आफ्नो घरमा बसेको हुन्छ, बिहे हुन्छ र बिहे भइसकेपछि फेरि नयाँ घरमा जानुपर्ने, नयाँ सम्बन्धहरू मेन्टेन गर्नुपर्ने, नयाँ सम्भावनाको खोजी गर्नुपर्ने हुन्छ । म आफू पनि महिला भएका कारण सायद मलाई त्यस्तै सङ्कोच, त्यस्तै अप्ठ्यारोपन पनि छ । नयाँ सम्भावना देखिएका उज्यालो भविष्यप्रति विश्वास पनि छ ।
रास्वपाका साथीहरूले जुन हार्दिकताका साथ विवेकशील साझा पार्टीका सदस्य, साथी, नेताहरूलाई हार्दिकताका साथ जसरी स्वागत गर्नुभयो, त्यसले के देखाउँछ भने यो हाम्रै घर हो । यहाँ कहिलेकाहीँ अप्ठ्यारो सिचुएसन (अवस्था) आउला, तर कुन घरमा अप्ठ्यारो सिचुएसन आउँदैन ? हामी घरमा अप्ठ्यारो सिचुएसन आयो भन्दैमा घर छोडेर त हिँड्दैनौँ । हामी केही अप्ठ्यारो भयो भन्दैमा बाहिर निस्केर तथानाम आफ्नै घरको बेइज्जत गर्दैनौँ । विवेकशील साझामा ती खारिएका नेताहरू हुनुहुन्छ, जसले सम्भावना पनि बुझ्नुहुन्छ, सकारात्मकता पनि बुझ्नुहुन्छ, निष्पक्षता पनि बुझ्नुहुन्छ, धैर्यता पनि राख्नुहुन्छ र इमानदारीपूर्वक काम पनि गर्नुहुन्छ । त्यो म ग्यारेन्टी गर्न सक्छु । बाँकी अरू साथीहरूकै तहबाट हुन्छ ।
यो वार्ता, संवाद चल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले एक किसिमको सौहार्दपूर्ण वातावरण निर्माण गर्यो, हार्दिकता देखायो, म यताका साथीहरूको तर्फबाट पनि त्यो हार्दिकता मेन्टेन हुन्छ भन्नेमा निःसङ्कोच भन्न सक्छु । त्यही भएर दुवैतर्फका साथीहरूलाई काम गर्दा अप्ठ्यारो भए पनि यसलाई हामीले परिणाममुखी बनाउनुपर्ने छ ।
विवेकशील साझालाई लाग्ने आरोप के हो भने विवेकशीलहरू विद्रोही छन् । साथीहरू हामी विद्रोही मात्र होइन, हामी सहनशील पनि छौँ । भलै विद्रोहीहरूको आवाज धेरै गुञ्जिन्छ, सहनशीलहरू शान्त बस्छन्, काम गर्छन्, परिणाम निकाल्छन् । यदि हामी शान्त नबसेको भए, परिणाम निकाल्न काम नगरेको भए आजको यो एकता सफल हुने थिएन । त्यही भएर विवेकशील साझाका साथीहरू सहनशील पनि छन्, शान्त बस्न पनि जान्दछन् र जब समय आउँछ परिणाम देखाउन पनि जान्दछन् ।
धेरै अप्ठ्यारो सिचुएसनबाट विवेकशील साझालाई उठाइयो । म आफैं एउटा उदाहरण हो । विवेकशील साझामा साधारण सदस्य भएको दुई दिनमै मैले उम्मेदवारी घोषणा गरेको । त्यसपछाडि उम्मेदवार भएको केही महिनापछि स्वर्गीय उज्ज्वल थापाले नै पहल गरेर विवेकशील साझा पार्टीको बागमती प्रदेशको प्रदेश संयोजक बनेको । त्यो प्रदेश संयोजक बनाउँदै गर्दा मलाई धेरै साथीले भन्नुभएको थियो- ‘समीक्षाजी यहाँ धेरै विवाद छन् विवेकशील र साझाका । तपाईँलाई ‘आगोको भुङ्ग्रो’ मा ल्याएर राख्यौँ’ भनेर भन्नुभयो । त्यो आगोको भुङ्ग्रो कहिले निभ्नै पाएन, विवेकशील साझामा सधैँभरि सङ्क्रमण नै छायो । त्यसले एउटा सर्टेन पोइन्ट (निश्चित बिन्दु) मा त्यसलाई खरानी बनायो अनि खरानी भएको ठाउँबाट धुलो टकटक्याएर उठ्न आउँछ हामीलाई । त्यो उठेर आजको जगसम्म आइपुगेको हो । सायद यो अरू कसैले गर्न सक्दैन थियो होला, हामीमा त्यो एउटा दृढ सङ्कल्प थियो, त्यही भएर हामीले त्यो गर्न सक्यौँ ।

ती यादहरू छन्, ती सपनाहरू छन् । एउटा साधारण सदस्यबाट पार्टीमा जोडिँदै गर्दा एउटा पार्टीको जिम्मेवार पद, महाधिवेशनबाट सर्वसम्मतिबाट नेतृत्वमा आउनु पनि महत्त्वपूर्ण कुरा हो । त्यही नेतृत्वले सर्वसम्मतिकै जगमा पार्टी एकता गर्नु पनि सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यही भएर नेतृत्वमा विश्वास गरौँ साथीहरू । नेतृत्वले कहिले कति कुरा भन्छ, कति कुरा भन्दैन । तर पार्टीको हितको लागि, देशको हितको लागि काम गरेको हुन्छ । कहिले मलाई चित्त नबुझ्ने विषयहरू हुन सक्छन्, कहिले मलाई चित्त बुझ्ने विषयहरू हुन सक्छन् । तर नेतृत्वले देशको लागि गर्दा हामी कैयौँ ठाउँमा झुक्नुपर्ने पनि हुन्छ, कैयौँ ठाउँमा ठेस पनि लाग्छ । तर हामीलाई ठेस लाग्यो भनेर बस्ने छुट हुँदैन । हामी निरन्तर अगाडि बढ्नुपर्छ ।
विवेकशील यात्राले आज मात्र होइन, यस्ता कयौँ क्षण छन् जहाँ हामी भावुक भएका छौँ । जहाँ हामी रोएका छौँ, एकअर्काको आँसु पुछेका छौँ । फेरि उठेर बाहिर निस्केका छौँ । सडकमा आएका छौँ, सडकमा ढलेका छौँ, सडकमा ढल्दै गर्दा फेरि काम गरेर फेरि अर्को गन्तव्यमा पुगेका छौँ । थाक्छौँ, कहिले बस्छौँ, फेरि उठ्छौँ । फेरि हामीलाई थाक्ने छुट छैन भन्छौँ, फेरि अगाडि बढ्छौँ । यो यात्रा निरन्तरताको हो । विवेकशील साझाले गरेको यात्रा निरन्तरताको यात्रा हो । हामी छोटो रेसको घोडा हुँदै होइन । हामी लामो राजनीतिक रेसको सम्भावना हो र यो परिवर्तनको संवाहक हो ।
गाडी होइन रेल नै दौडाउनुपर्छ कि ?
परिवर्तनको संवाहक बन्नलाई आजको भोलि हुँदैन । कोही–कोही व्यक्तिहरू लक्की (भाग्यमानी) हुन्छन् । त्यस्तै गरेर हाम्रो सभापतिज्यू (रवि लामिछाने) लक्की हो । जसले स्थापना गरेको साढे ३ महिनामा २१ सांसदलाई संसद्मा पुर्याउनुभयो । विवेकशील साझाले १२ वर्षमा जम्मा तीनजना सांसद मात्र पुर्यायो । तर त्यो ट्रयाक खन्ने काम विवेकशील साझाले गरेको हो, राजमार्गमा गाडी राष्ट्रिय स्वतन्त्र पार्टीले गुडाएको हो । अब ट्रयाक पनि हाम्रो, राजमार्ग पनि हाम्रो । गाडी होइन, रेल नै दौडाउनुपर्छ कि ! हामीसित विज्ञ स्वर्णिमजी हुनुहुन्छ, भनेपछि अब रेल पो दौडाउने हो कि ! त्यो रेल दौडेर, त्यो दौडिएको रेलले गएर संसद् भवनमा यी उठेका गुञ्जिएका हातहरू, यी अनुहारहरू, परिवर्तनका संवाहकहरू हामीले त्यहाँनेर देख्नुपर्ने छ । त्यहाँनेर जानुपर्ने छ । हाम्रो लक्ष्य त्यो हो भने हामी सानातिना कुरामा किन अल्झिने ?
हाम्रो लक्ष्य चाहिँ ठुलो लिने अनि हामी भन्छौँ मलाई कुन पद चाहियो ? अझै पनि मेरै साथीहरूले, मिडियाले विश्वास गर्नुभएन भएन, मेरै टिमकै साथीहरूले मलाई पटक–पटक भन्नुहुन्छ– ‘तपाईं समानुपातिकको उम्मेदवार हो ?’ मैले कसैलाई भन्या छैन । मैले मेरो वार्ता समितिको संयोजक र रञ्जुजी महासचिवलाई राखेर के भनेँ भनेदेखि ‘संवादको बेलामा तपाईँहरूलाई अध्यक्षको पद भारी भयो भने मलाई साधारण सदस्य भनिदिए पुग्छ, बाँकी पार्टीको लागि कुरा गर्नुस्’ भनेर मैले उहाँहरूलाई दुई महिना अगाडि बाटो खोलिसकेको थिएँ । तर पनि साथीहरूले अझै विश्वास गर्नुहुन्न । ‘तपाईँ के बन्दै हुनुहुन्छ ?’ मलाई थाहा छैन । ‘तपाईँ के हुनुहुन्छ नयाँ दलमा ? तपाईँ उम्मेदवार हो कि ? समानुपातिक सुरक्षित गर्नुभयो कि ?’
हाम्रो पुरानो राजनीतिले गरेको त्यही नै हो । मेरो लागि सिट सुरक्षित गर्ने, मेरो लागि पद सुरक्षित गर्ने । ’म हुनुपर्यो’, हामीले भन्यौँ– ’हामी हुनुपर्यो ।’ विवेकशील साझा आन्दोलन मर्नुभएन । उज्ज्वल थापाले रोपेको बिउ फुल्नुपर्यो, फक्रिनुपर्यो । मलाई केही चाहिँदैन । त्यो बिउ जब फक्रिएर, फुलेर संसद् भवनमा गर्जिन थाल्छ, म हरेकमा समीक्षा देख्छु, हरेकमा उज्ज्वल देख्छु । त्यो हो हामीले गरेको राजनीति, त्यो हो हामीले गरेको तपस्या । यसै भनेको होइन, वैकल्पिक राजनीति ‘सत्प्रयास’ हो । रविजीले गरेको सत्प्रयास हो, उहाँले निर्माण गर्नुभयो यो दल ।
सबै व्यक्तिहरू हामी यहाँ छौँ भनेपछि उहाँले सुरुवात गर्नुभएको यो सत्प्रयासमा विवेकशील साझाले १२ वर्षदेखि गरिराखेको मूल्यमान्यताको राजनीति, फाउन्डेसनको राजनीति, जगको राजनीति ल्याएर हामीले दुईलाई जोडेको हो । एकअर्कामा समाहित भएको हो । कतिले भन्नुहुन्छ, ‘तपाईँहरू विलय हुनुभयो ।‘ होइन हजुर यो विलय होइन, यो ’प्रलय’ हो । फागुन २१ मा जुन मतक्रान्ति हुनेछ, त्यसका लागि एकअर्कामा विलय हुन जरुरी छ । विलय भएपछि न प्रलय हुन्छ ।
मैले जति नै एकीकरण हो भने पनि तपाईँले आफ्नै न्यारेटिभ बनाउनुहुन्छ । विलय, विलय होइन प्रलय नै हो । यो प्रलय जरुरी थियो । आजको आवश्यकता थियो । जेनजीको रगतमाथि, जेनजी आन्दोलनका सहादत सहिदहरूमाथि हामीले मेरो या कसको पदको बार्गेनिङ गर्ने राजनीति या नेगोसिएसन गर्ने राजनीति गर्नुहुँदैन । त्यो नगर्न हामीले के गर्नुपर्छ त ? खुला हृदयले एकचोटि स्वीकार गरौँ न, यो सत्प्रयास हो भने । हामी घरमा पूजा गर्छौँ, घण्टी बजाउँछौँ अनि भन्छौँ– ’सबैको सुख होस्, सबैको भलो होस् ।’ अनि त्यहीँ गएर अर्कोलाई कसरी पछार्ने कुरा गर्छौँ । ल अब यो पालि चाहिँ सबैको सुख होस्, सबैको भलो होस्, सबैको मङ्गल होस् भन्दै गर्दा नागरिकको मङ्गल होस् भनौँ न त ।
नागरिकको मङ्गल होस् भन्न हामी पछाडि हट्नलाई पनि तयार छौँ, अगाडि बढ्नलाई पनि तयार छौँ । जिम्मेवार ठाउँमा हामी अगाडि बढ्छौँ, जिम्मेवार ठाउँमा हामी पछाडि हट्छौँ । र, सबैजनालाई यो वैकल्पिक राजनीतिको सत्प्रयासमा सामेल हुन आग्रह गर्छौं ।
_aJeNjtSjTE.jpg)
दुई महिना, राति १ बजेसम्म, २ बजेसम्म पनि निरन्तर यात्रा गरियो, संवाद गरियो । सबै संवादमा के लाग्यो भने म कहाँ छु ? पूरै यो संवादको केन्द्रमा छु कि छैन ? भोलि म कहाँ पुग्छु भन्ने मात्र भएपछि यो निष्कर्षविहीन प्रयास नगरौँ । सबैको आँखा रास्वपामै थियो । कतिले तपाईँहरूलाई पनि संवादमा भन्नुभयो होला, कतिले भन्नुभएन होला । अनि विवेकशील साझामा पनि सबैको आँखै थियो । तपाईँहरूको १२ वर्षको लिगेसी अनि हामी मिलेर अनि रास्वपामा गएर अनि हामी संवाद गरौँ । हामीले भन्यौँ– ’तपाईँसँग मिलेर हामीले संवाद त्यता बढाउनुभयो, रास्वपासँगै फर्स्ट ह्यान्ड (सिधै) संवाद किन नबढाउने ? लिगेसीकै कुरा हो भने त लिगेसीलाई नै बोकेर हामी रास्वपामै किन नजाने ?’ त्यो भयो भने तपाईँहरूलाई भोलिको दिनमा आउन सजिलो हुन्छ भनेर ।
त्यही भएर नयाँ खोलेका दलहरू, वैकल्पिक राजनीति गर्छु भन्ने समूहहरू, अभियन्ताहरू, स्वतन्त्र व्यक्तिहरू सबैजनालाई हामी आह्वान गर्न चाहन्छौँ । तपाईँहरूको भित्री कुनै कुनामा हामीले संवाद गर्दा थाहा पाएको भोलिको शक्ति रास्वपा हो, रास्वपामा आउनुपर्छ भन्ने थाहा छ भने आजको दिनमा किन नआउने ? यो एकताले यही सन्देश दिन खोजेको हो, सायद हामीले सन्देश दिन सक्यौँ भन्ने लाग्छ । उज्ज्वलजीले अघि सारेका केही नाराहरू छन्, व्यापक छन् ।
‘युवा अघि बढ्छ, देश अघि बढ्छ ।’
‘बन्दले देश बन्दैन, नेपाल खुल्ला छ ।’
‘विकल्प कुर्दै बस्ने कि आफैं विकल्प बन्ने ?’
हामीले गरेको प्रयास यति नै हो । विकल्प कुर्नु भन्दा आफैं विकल्प बनौँ न । राष्ट्रिय स्वतन्त्र पार्टी शक्ति हो भने यो शक्तिमा समाहित भएर, यो शक्तिमा हामी ध्रुवीकृत भएर अन्य शक्तिहरूलाई पनि आकर्षण गर्ने शक्ति बनौँ भन्ने एउटा प्रयास गरेको हो । यो प्रयासलाई तपाईँहरूले जुन हिसाबले हार्दिकताका साथ अगाडि बढाइदिनुभयो, हामी खुसी छौँ ।
‘नेपाली भन्ने कि नेपाली बन्ने ?’ नेपाल हाम्रो डेरा होइन घर हो । अनि घर हो भनेपछि कसले आएर बनाइदिने त ? हामी सबैजना एक ठाउँमा आएर आफ्नो घर निर्माण गर्नुपर्ने हुन्छ । त्यही भएर विवेकशील साझाले या मैले या मेरा नेता साथीहरूले यो फोरममा के लिएर आउनुहुन्छ भन्ने सोच्नुहुन्छ भने १२ वर्षको अनुभव लिएर आउनुहुन्छ, १२ वर्षको सिकाइ लिएर आउनुहुन्छ । सडकमा खाएका ठक्कर र हण्डर लिएर आउनुहुन्छ । त्यहाँबाट खारिएका नेताहरू लिएर आउनुहुन्छ । उम्मेदवार बन्दै गर्दा झण्डै जित्ने मत प्राप्त गरेका साथीहरू पनि आउनुहुन्छ, फेरि अर्को पल्ट उम्मेदवार बन्दै गर्दा ५०० भोट आएर ट्रोल खाएका साथीहरू पनि आउनुहुन्छ । त्यो भनेको हामीलाई अगाडि बढ्न केहीले पनि रोक्दैन । हामीलाई उम्मेदवार बन्न, उम्मेदवार हुन, यो देशलाई विकल्प चाहिएको छ भनेर काम गर्न त्यस्ता खारिएका साथीहरू लिएर आउँदै छौँ ।
हामीले के गर्नुपर्छ भन्ने भन्दा पनि के गर्नु हुँदैन भन्ने कुरामा चाहिँ हामी अब एकदमै प्रखर भइसकेका छौँ । पार्टी एकीकरण गर्न पदको नेगोसिएसन छाड्यो भने छिट्टै पार्टी एकीकरण हुन्छ भन्ने यो ज्वलन्त उदाहरण हो । म आफैं विवेकशील साझामा हुँदा तीनवटा वार्ता समितिको संयोजन गरेँ । आफ्नै दलभित्र छुट्टिएका साथीहरूलाई ल्याउँदा पनि सबैभन्दा पहिलो सर्त नै के थियो भने संयोजक बन्ने कि नबन्ने ? हुने कि नहुने ? अनि त्यसपछि बल्ल दस्तावेज ।
हामीले भन्यौँ– ‘उज्ज्वल थापालाई, उज्ज्वल थापाले गरेको वैकल्पिक राजनीतिको योगदान तपाईँहरूले राजनीतिक दस्तावेजमा इन्डोर्स (स्वीकार) गर्ने कि नगर्ने ?’ र, स्वर्णिमजी लगायत वार्ता समितिमा भएका साथीहरूले यति हार्दिकताका साथ भन्नुभयो– ’उज्ज्वल मेरो भाइ, म कति नजिक छु उज्ज्वलसँग । किन नगर्ने ? हामी त गर्ने ।’ त्यो हो हार्दिकता । त्यहाँबाट संवाद सुरु भयो । भनेको त्यो लेबलको अनरसिप (अपनत्व) यहाँहरूले देखाइदिनुभयो, त्यसले मात्र सफल पारेको हो ।
हामीलाई व्यक्ति भन्दा पनि हाम्रो विरासत प्यारो छ । व्यक्ति भन्दा पनि उज्ज्वल थापाले रोपेको बिउ प्यारो छ । त्यो बिउ फुलोस् भन्ने चाहना छ । कुनै दलका नेताहरू, जो भर्खरै नयाँ खुलेको दलका नेताहरूले खुलेरै प्रशंसा गर्नुभयो– ’विवेकशील साझा नेता उत्पादन गर्ने फ्याक्ट्री रहेछ । तपाईँहरू त्यहीँ बस्दिनुस्, नेता उत्पादन गरिराख्नुस्, हामी पार्टी खोल्छौँ, अगाडि बढिराख्छौँ’ भन्नुभयो । कहिलेकाहीँ मैले यसलाई हार्वर्ड र एमआईटीसँग लगेर जोड्छु, विवेकशील साझा अल्टरनेटिभ स्कुलको युनिभर्सिटी हो । यो १० वर्षमा मैले जे सिकेँ, सायद मैले कुनै विश्वविद्यालयमा सिक्न सक्दिनँ थिएँ होला ।
आफ्नै पार्टीभित्र अन्तरघात पनि झेलेँ, चुनावमा उम्मेदवार हुँदै गर्दा आफ्नै पार्टीका साथीलाई भोट नहालेर अर्को साथीलाई मत मागेको पनि देखेँ । सबै देखेँ । जो ड्राइभिङ सिटमा बस्नुभएको थियो, उहाँले नै पार्टी लगेर अर्कोतिर हाल्दिनुभयो । खरानीबाट पार्टी उठाउने पनि देखेँ । पार्टीमा एकचोटि होइन, तीनचोटि टुटफुट पनि देखेँ । फेरि तीनचोटि साथीहरूलाई सडकबाट फेरि हामी एकजुट हुनुपर्छ भनेर महाधिवेशन मार्फत लिएर आएर पनि देखेँ । महाधिवेशनमा पद लिने तर काम नगर्ने साथीहरू पनि देखेँ । रास्वपामा त्यो हुन दिने छैन, त्यो मेरो प्रतिबद्धता हो । मैले विवेकशील साझामा १० वर्ष जे देखेँ, जुन नराम्रो अभ्यास सिकेँ, त्यो नराम्रो अभ्यास म रास्वपामा हुन दिने छैन ।
मेरा साथीहरू जो आउनुहुन्छ, काम गर्ने फोरम बन्छ । सबैलाई सम्मानजनक फोरम बनाउने मेरो जिम्मेवारी हो । साथीहरू मेरो नम्बर छ, मलाई म्यासेन्जर, ह्वाट्सएप रातदिन गर्नुस् । तर मलाई विदेशमा रहेका साथीहरू मार्फत, स्वदेशमा रहेका साथीहरू मार्फत म के हुन्छु ? म कहाँ बस्ने हो ? नसोधिदिनुहोला । मलाई पनि थाहा छैन । हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल भएर काम गर्न आएका हौं । त्यहाँनेर के हुन्छु, कसो हुन्छु भोलिको दिनले देखाउला ।
मेरो अर्को जिम्मेवारी के हो या कर्तव्य के हो भन्दा तपाईँहरूले काम गर्न चाहनुभयो भने काम गर्ने वातावरण बनाइदिनेसम्मको प्रयास म गर्छु । तर वातावरण बनाइदिएर, मञ्च बनाइदिएर साथीहरूलाई बोल्न लगाउने मेरो जिम्मेवारी होइन । जहाँ काम गर्नुहुन्छ स्वतःस्फूर्त साथीहरूले मञ्च बनाइदिनुहुन्छ, त्यहाँ गएर भाषण हाम्रो साथीहरूले गजबै गर्नुहुन्छ । अघि यहाँ प्रस्तुत पनि गरिसक्नुभयो । त्यो त ट्रेलर मात्र हो । त्यो भन्दा प्रखर वक्ताहरू पनि हुनुहुन्छ ।
हामीले जुन १० वर्षमा जुन उतारचढाव पार गर्यौं, त्यसले हामीलाई एउटा बलियो बनाएको छ, सङ्गठित बनाएको छ । सानो हुँदा पनि टिममा कसरी काम गर्नुपर्छ भन्ने एउटा सोच डेभलप गरेको छ । भोलि ठुलो टिममा पनि कसरी एडजस्ट (समायोजन) गर्ने ? त्यो फ्लेग्जिबिलिटी (लचकता) हामीमा कहीँ न कहीँ दिएको छ जस्तो लाग्छ । आफ्नो स्ट्रेन्थ (शक्ति) लाई बचाएर राख्नुहोला । हामीले मूल्यमान्यताको जग भनिराखेका छौँ, हाम्रो मूल्यमान्यता नबिर्सिनुहोला । म कोही साथीबाट पनि के सुन्न चाहन्न भने मैले विवेकशील साझा पार्टीबाट आएका नेता साथीहरूले फलानो उपसभापतिलाई या कार्यवाहक सभापति या महामन्त्रीजीलाई फोन गरेर ’मेरो लागि चाहिँ यो व्यवस्था मिलाइदिनु’ भनेको सुन्न नपरोस् । त्यो मेरो लागि तितो अनुभव हुनेछ ।
हामीले विवेकशील साझाको फोरम कहीँ न कहीँ सानो भयो भन्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको ठुलो फोरममा आएका छौँ । उहाँहरूले ’निलो क्रान्ति’ भन्नुहुन्छ । हामी अलि गाढा निलो भएर अगाडि आउन नसक्या होला, यस्तो लाइट (हल्का) भएको भए अलि उड्न, उडान भर्न सजिलो हुन्थ्यो होला । साथीहरू अब अलि गाढा त्यो बोकेको बोझलाई अलि हल्का हुन दिनु, लाइट हुन दिनु, निलो, अनि यो फराकिलो आकाशजस्तो । निलो शान्तिको प्रतीक, त्यही भएर हामी विद्रोही होइन, सहनशील र शान्तिप्रेमी पनि हो भनेर देखाउनु छ । निलो आकाशमा उडान भरौँ । यो उडानमा कहीँ अवरोध र हलचल आएछ भने म सधैँ तपाईँहरूको साथमा हुनेछु ।
त्यसलाई व्यवस्थापन गर्न म सदैव त्यहीँ हुनेछु, तपाईँहरूको साथमा हुनेछु, तपाईँहरूको बिचमा हुनेछु । तपाईँहरूले दिएको विश्वास, भरोसा, आजसम्मको कमाएको भनेको त्यति नै हो । तपाईँहरूले मलाई जुन विश्वास दिनुभयो, जुन साथ दिनुभयो, जुन भरोसा दिनुभयो, त्यो नै मेरो लागि सबैभन्दा ठुलो जिम्मेवारी हो, त्यसलाई शिरमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा हामी काम गर्न आएका छौँ । त्यो विश्वास नडगमगाओस् । त्यो विश्वास सदैव रहिरहोस्, ममाथि मात्र होइन, अब एकीकृत दलको नेतृत्व माथि पनि त्यो विश्वास रहिरहोस् । त्यो सहकार्य र सद्भाव रहिरहोस् ।
विवेकशील साझाको एउटा मूल्यमान्यता मैले भन्नैपर्छ । हामी साहसलाई पनि मूल्यमान्यता भन्छौँ । कसैले भन्दैन, साहस पनि मूल्यमान्यता हुन्छ भनेर । आज त्यही साहसको मूल्यमान्यताको जगमा यो साहसिक निर्णय गर्न सक्यौँ । नत्र भने हामी गर्न सक्दैन थियौँ ।
विकास, समृद्धि र सुशासन राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यही भनिरहेको छ, हामीले पनि यही भनिरहेका थियौं । अब हामी सहकार्य गर्ने हो । हाम्रा सहकार्यका मोडलहरू हुन्छ । साथीहरूलाई मैले के भन्न चाहन्छु भन्दा कहिलेकाहीँ हामीले यति ठुलो बोझ उठायौँ, मलाई आफैंलाई पनि व्यक्तिगत रूपमा पनि लाग्छ, म कसैले देखाएको बाटोमा १० वर्ष हिँडेर अब १० वर्ष पछाडि नेतृत्व लिन्छु भनेको, मलाई १० वर्ष अगाडि नै नेतृत्व लिने सम्भावनाहरू आए । मैले लिनुपर्यो । म पछाडि हटिनँ । तर हामीलाई पनि ’कुलिङ पिरियड’ चाहिएको छ । साथीहरू यो एकीकरणपछि ‘आजको भोलि नै यो चाहियो, यो भएन, त्यो भएन’ भनेर गुनासो नगरिदिनुहोला ।
यसलाई थोरै भएपनि एउटा कुलिङ पिरियड दिनुहोला । समय व्यवस्थापन गर्नुपर्ने त्यस्तो केही चिजहरू हुन्छ, केही विषय हुन्छ । त्यसमा निराश नभइदिनुहोला । र, धेरै हतोत्साहित पनि नभइदिनुहोला । किनभने दुईबिच सन्तुलन मिलाउन केही समय गाह्रो हुन्छ । तपाईँहरूले त्यो सन्तुलन गुमाउनुहुन्न भन्ने मेरो विश्वास छ, किनभने हाम्रो त चुनाव चिन्ह पनि तराजु थियो । त्यही भएर तराजुमा जोख्दै आफ्नो सन्तुलनलाई चाहिँ मिलाइराख्नुहोला ।
मैले उज्ज्वल थापाको फोटो बेचेको छैन
धेरैले भन्नुभयो मलाई– ‘तपाईँले उज्ज्वल थापाको फोटो बेच्नुभो ।‘ मैले उज्ज्वल थापाको फोटो बेचेकै छैन । मलाई अझै पनि म्यासेज आइरहेको छ– तपाईँले उज्ज्वल थापाको फोटो बेच्नुभयो । उज्ज्वल थापाले खडा गरेको पार्टीलाई आज लगेर उज्ज्वल थापाको सपना पूरा गर्ने ठाउँमा लिएर आएको हो, मैले उज्ज्वल थापाको फोटो बेचेको छैन । त्यही भएर हामीले उज्ज्वल थापाको फोटो पनि लिएर आएका थियौं, म आफैंलाई मञ्चमा राख्न मन लागेन । किनभने भोलिदेखि तपाईँहरूले त्यही भन्नुहुन्छ– ‘उज्ज्वल थापाको फोटो बेच्यो ।‘ यदि उज्ज्वल थापालाई साँच्चिकै तपाईँहरूले मान्नुहुन्छ, तपाईँको नेता भन्ठान्नुहुन्छ भने तपाईँहरूले पनि विभिन्न ठाउँमा विवेकशील नेपालीले, विवेकशील नेताहरूले गर्ने काम के कस्तो हो विचार गरिदिनुहोला ।

आज उज्ज्वल थापा भए के गर्नुहुन्थ्यो ? मलाई हिजो रातभरि निद्रा लागेन । खाली सम्झेँ । उज्ज्वल थापाले ’विवेकशील अभियान’ सुरु गर्न दर्ता गर्न गएका सात जनामध्ये दुईजना मेरा साथी समेत थिए । एक जना साथीले मलाई फोन गर्नुभयो- ‘समीक्षाजी तपाईँहरूले गरेको एकदमै ठीक छ । उज्ज्वल हामीले गर्दा ७ जना थियौँ, मसँग अझै त्यो ७ जनाले हस्ताक्षर गरेको डकुमेन्ट नै छ, त्यो बैंकमा बुझाएको भौचर छ’ भन्नुभयो । ती साथीले धन्यवाद भनिरहनुभएको छ, मलाई खुसी लाग्यो ।‘
त्यसपछि एरिका भाउजूलाई फोन गरेँ । ’एरिकाजी हामी यो यात्रामा छौँ, तपाईँलाई कस्तो लागेको छ ?’
‘उज्ज्वलले सधैँ भन्थ्यो समीक्षाजी, उज्ज्वल जसरी भए पनि रेलिभेन्ट (सान्दर्भिक) भइराख्नु मेरो लागि महत्त्वपूर्ण हो । उज्ज्वल के कस्तो भन्ने कुरै छैन । आज उज्ज्वल भाको भएपनि सम्भवतः यही गर्थ्यो होला’ भन्नुभयो । त्यो एरिका भाउजूको मुखबाट सुनेपछि मलाई यसले बल पुग्यो । अनि मैले उहाँलाई भनें- ‘हजुरले एउटा सन्देश दिन सक्नुहुन्छ ?’
‘ओहो किन नदिने ?’ भनेर बिहानसम्ममा यति मार्मिक, यति भावुक सन्देश पठाउनुभयो । सन्देश पठाइसकेपछि पनि मैले उहाँलाई धन्यवाद दिएँ । उहाँले भन्नुभयो, ’हामी पछिल्लो समय केही साथीहरू पनि भेट्न जाँदा उहाँलाई पनि गुनासोहरू जान्छन्, उज्ज्वल थापालाई यसरी प्रयोग गरे, यसरी गरे, अनि तपाईँलाई कस्तो लाग्छ ? के छ त तपाईँको चाहिँ विचार ? हामीलाई भन्दिनुहोला, सजिलो हुन्छ’
उहाँले भन्नुभयो- ‘उज्ज्वलले १२ वर्ष अगाडि बोकेको विचार आज पनि रेलिभेन्ट (सान्दर्भिक) भइरहेको छ, मेरो लागि त्यो महत्त्वपूर्ण हो । तपाईँहरू अगाडि बढ्नुस्, हाम्रो शुभेच्छा छ ।’ उहाँको यो कुरा मेरो लागि ठुलो हो ।
अनि उज्ज्वलजीले पहिलोचोटि चुनाव उठेको ’कुकुर’ चुनाव चिन्ह हो । किन कुकुर ? ’बफादार हुन्छ’ भनेर । हाम्रो देशको नेता बफादार भएन, त्यही भएर उम्मेदवार बफादार हुनुपर्यो कुकुरजस्तो भनेर उहाँले कुकुर चुनाव चिन्ह लिएर उठ्नुभयो । त्यसपछि विवेकशील नेपाली दलबाट उहाँहरूले चुनाव चिह्न राख्नुभएको थियो- ‘मुस्कान’ ।
सन् २०१७ मा पार्टी एकीकरण भयो, विवेकशील साझा एकीकरण भयो, त्यस पछाडि उहाँले मुस्कान छोडेर ‘तराजु’ मा आउनुभयो। उज्ज्वलजी आफैंले त कुकुर चुनाव चिह्नदेखि मुस्कान हुँदै तराजुसम्म आउनुभयो । मैले त मात्र तराजु छोडेर ’घण्टी’ हो । अब यसमा हेर्नुस् बफादारीको कुरा गर्नुस् त । कुकुर बफादार हुनुपर्छ भन्ने हो । त्यस्तै गरेर मुस्कान, हामीले गर्ने राजनीतिले सबैको मन र मस्तिष्कमा मुस्कान छाओस्, शान्ति छाओस् भनेको हो । त्यो चुनाव चिन्हबाट उहाँले छोडेर अर्को चुनाव चिन्ह तराजुमा पुग्नुभयो । तराजुमा पुगेर हामीले जोख्ने हो ।
तराजुमा जोख्नुस् पुराना दलका नेतालाई, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई जोख्नुस् । जोखिसकेपछि तपाईँले बिहान घरमा पूजा गरेको जस्तै घण्टी बजाउँदै तपाईँको मनमा ’यो व्यक्ति चाहिँ ठीक छ, यसले यसलाई चाहिँ जोखेर भोट हाल्न मिल्छ’ भने घण्टीमा भोट हाल्दिनुस् । त्यति हो । भनेको सबैको सिक्वेन्स मिलिरहेको छ । क्या गजबले मिल्यो । त्यही भएर तपाईँहरूलाई तराजुमा नजोखी घण्टीमा भोट हाल्ने छुट छैन । तराजुमा जोखेर मात्रै घण्टीमा भोट हाल्नुस् ।
अनि केही साथीले भन्नुभयो, ‘होइन म त स्वतन्त्र ।’ तपाईँहरू सामेल भइहाल्नुभो । हामी सबैजना स्वतन्त्र हो, एकचोटि राष्ट्रिय स्वतन्त्र भएर हेरौँ न के हुँदो रहेछ । विवेकशील साझाले गरेको प्रयास यति नै हो । हामी स्वतन्त्र भनेर २० ठाउँ दौडियौँ, आफ्नो–आफ्नो डम्फु बजाउन हामीलाई अझै पनि छुट छ । तर जेनजीको सहादत र जेनजी भाइबहिनीहरूको आवाजमाथि राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझामाथि पनि प्रश्न हो । अनि सडक चाहिँ रञ्जु, समीक्षा, समुन्द्र र आशुतोषहरूको ठेक्का मात्र होइन । जसरी हामीले केपी ओलीको सत्ता केपी ओलीको मात्र ठेक्का होइन भनेका थियौं । सडकबाट तपाईँहरू कहिले माथि नै नउठ्ने ? सधैँभरि सडक विवेकशील साझाको ठेक्का हो र ? नयाँ पुस्ता ल्याउनुस् न सडकमा । जेनजीले आएर हामीलाई प्रश्न गरिसके । उनीहरूको प्रश्नको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण भइराखेको छ । थ्याङ्क्यु जेनजी । थ्याङ्क्यु प्रेम आचार्य । जसले हाम्रो आँखा खोलिदिनुभयो । जसले हामीलाई पनि झकझकाउनुभयो । यो साहस, जुन हाम्रो मूल्यमान्यता हो, त्यो अनुसार काम गर्ने मौका दिनुभयो ।
‘नि:सर्त भनेको सबैभन्दा ठुलो सर्त हो’
कतिलाई लाग्ला राष्ट्रिय स्वतन्त्र पार्टीमा यिनीहरू के देखेर आए ? हामीलाई थाहा छ, पार्टी भनिसकेपछि त्यहाँ सम्भावना पनि हुन्छ, त्यहाँ समस्या पनि हुन्छ, चुनौती पनि हुन्छ । हामी १२ वर्षदेखि खारिएका नेताहरू सम्भावनाका काम गर्न पनि आउँछ, चुनौती झेल्न पनि आउँछ, समस्या समाधान गर्न पनि आउँछ । हामीलाई तपाईँले कसरी सहभागी गराउनुहुन्छ, त्यो तपाईँको जिम्मेवारी हो ।
_UmYngIN0WQ.jpg)
‘नि:सर्त भनेको के हो ?’ सबैले सोध्नुभयो । नि:सर्त भनेको सबैभन्दा ठुलो सर्त हो, यति चाहिँ लेखेर राख्नुस् । किनभने तपाईँले तपाईँको बुवाआमालाई गर्ने प्रेम नि:सर्त । अनि तपाईँले त्यसमा केही सर्त खोज्नुहुन्छ ? प्रेमीले प्रेमिकालाई, प्रेमिकाले प्रेमीलाई गर्ने प्रेम नि:सर्त हो । तपाईँ प्रेमिकाको लागि घरबार छोडेर जान तयार हुनुहुन्छ, आकाशको जून झार्न तयार हुनुहुन्छ अनि देश बनाउन हामीले गरेको नि:सर्तमाथि चाहिँ प्रश्न गर्ने ? तपाईँ आफ्नो बच्चालाई नि:सर्त प्रेम गर्यो भन्नुहुन्छ अनि मैले देश प्रेमलाई नि:सर्त भनेर राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण गर्दा चाहिँ यो नि:सर्त होइन भन्ने तपाईँ को ? यदि तपाईँलाई नि:सर्त होइन भन्ने लाग्छ भने हामीले कहीँ सर्त राखेका छौँ भने अहिले स्वर्णिमजी बोल्नुहुन्छ, डीपीज्यू बोल्नुहुन्छ, उहाँहरूले खुलाइदिनुस् ।
नेपालमा अहिले भएकै सर्तसहितको राजनीति हो । आज विवेकशील साझाले जसरी १२ वर्ष अगाडि पुराना दलको विकल्प छ, विकल्प आफैं बन्नुपर्छ र परिवर्तनको संवाहक मबाट सुरु हुन्छ, परिवर्तन मबाट भनेको थियो । आज विवेकशील साझाले परिवर्तनको संवाहक विवेकशील साझा हो, नि:सर्त एकीकरणको संवाहक विवेकशील साझा हो । अब आउनुस् साथीहरू, नि:सर्त देशप्रेमलाई मुटुमा राखेर काम गरौँ । यही नै हो हामीले दिन खोजेको सन्देश ।
हिजो पार्टी सानो छ, हामी कहाँ पुग्छौँ, ५०० मात्र भोट आउने हो कि भन्ने डरले तपाईंहरुले काम गर्नुभएन होला, भोलिदेखि तपाईँहरू खट्नुपर्छ । विवेकशील साझा र यो १० वर्षमा गरेको मेहनत भन्दा डबल गर्नुभएन भने तपाईँहरूको तत्कालीन हेडमिसले फेरि फोन गर्छिन् । यो चाहिँ याद राख्नुहोला साथीहरू । हामीलाई भाग्ने, काम नगर्ने, अल्छी गर्ने छुट छैन । चुनाव आइसकेको छ । चुनाव केन्द्रित हौँ र हामीले कहाँ–कहाँ गाइड गर्न सक्छौँ, गरौँ ।
रास्वपालाई दिन केही पनि छैन, त्यही माटो छ
मैले विवेकशील साझाको तर्फबाट पाएको भनेको माटोको टीका हो- मेरो दुईजना तत्कालीन संयोजकबाट । एकजना स्वर्गीय हुनुभयो, एकजना अर्कै दलमा हुनुहुन्छ । उहाँहरूले माटोको टीका लगाएर मलाई पार्टीमा लिएर आउनुभएको थियो । मसँग राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन केही पनि छैन, त्यही माटो छ । त्यही माटो लिएर आएको छु । यो नि:सर्त भनेको यो माटोप्रतिको प्रेम नि:सर्त हो । यसलाई कार्यवाहक सभापति डोलप्रसाद अर्यालजीले स्वीकार गरिदिनुहुन अनुरोध गर्दछु ।
मसँग यो साधारण माटो छ, यही माटोप्रतिको प्रेम, माया, सद्भाव र काम गर्ने जोस, जाँगर र उत्साहका साथ हामीले एकीकरण गरेका छौँ । यहाँहरूमाथि यो जिम्मेवारी छ । यसलाई पूरा गरिदिनुहोला । हृदयदेखि नै धन्यवाद ।
(आइतबार राष्ट्रियसभा गृहमा रास्वपा र विवेकशील साझाबिच पार्टी एकता समारोहमा साविक विवेकशील साझा पार्टीकी अध्यक्ष बास्कोटाले राखेको धारणाको सार)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण