शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले बहालवाला राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने

बिहीबार, १८ मङ्सिर २०८२, ११ : १४
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा बहाल रहेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ।
  • पार्टीले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न निर्देशन दिएको छ।
  • कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा निश्चित मापदण्ड तय गरेको छ।

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा बहाल रहेकालाई उम्मेदवार नबनाउने भएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयले मङ्सिर १५ गते ‘प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्य पदका उम्मेदवारको नाम सिफारिस गर्ने’ शीर्षकमा परिपत्र जारी गर्दै २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाउने उल्लेख गरेको थियो ।

त्यो परिपत्रलाई थप प्रस्ट्याउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पुनः परिपत्र जारी गर्दै राष्ट्रियसभामा र प्रदेशसभामा बहाल रहेकाहरूलाई उम्मेदवारका लागि सिफारिस नगर्न निर्देशन दिएका छन् ।

‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन,’ परिपत्रमा मुख्यसचिव पौडेलले लेखेका छन्- ‘प्रदेशसभामा हाल बहाल रहनुभएका प्रदेशसभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’

प्रदेशसभा निर्वाचन–२०७९ मा समानुपातिकतर्फको बन्द सूचीमा समावेश भएका उम्मेदवारहरूको नाम पनि सिफारिस गर्न नपाइने पौडेलले बताएका छन् । कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि एक महिलासहित तीन जना, समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न मातहतका पार्टी निकायलाई परिपत्र गरेको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि एक सिटमा तीन जनाको नाम सिफारिस गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप