बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सर्वपक्षीय बैठक

बालुवाटार बैठक : रास्वपालाई रवि, एमालेलाई ओली र राप्रपालाई राजाको चिन्ता !

शुक्रबार, १९ मङ्सिर २०८२, २० : ५०
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन बोलाइएको सर्वपक्षीय बैठकमा दलहरूले आ-आफ्नै समस्या र गुनासा राखे।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेबारे सरकारको धारणा माग गर्दै उनको रिहाइबारे चासो राखेको थियो।
  • एमालेले केपी शर्मा ओलीको स्थान हदको विषय उठाएको थियो भने राप्रपाले राजासहितको नवीन समझदारीमा जोड दिए।

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन बोलाइएको सर्वपक्षीय बैठकमा दलहरूले आ–आफ्नै समस्या र गुनासा राखेका छन् । 

करिब चार घण्टा भएको छलफलमा दलका नेताहरूले निर्वाचन कसरी सम्पन्न गराउने बारेमा भन्दा पनि आआफ्नै कुरा राखेर समय बिताएका हुन् । 

छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले पार्टी सभापति रवि लामिछानेबारे सरकारको धारणा माग गर्दै उनको रिहाइबारे प्रधानमन्त्रीसँग चासो राखेका छन् । 

त्यस्तै नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको स्थान हदको विषयलाई प्रमुखताका साथ उठाएको छ भने राप्रपाले राजासहितको नवीन समझदारीमा जोड दिएको छ ।

बालुवाटार छलफलमा सहभागी रास्वपा नेतृ सोविता गौतमले सभापति रवि लामिछानेबारे सरकारको धारणा माग गरेको बताइन् ।

उनले यसअघि पनि सरकारसँग भएका औपचारिक र अनौपचारिक छलफलका क्रममा त्यसबारे सरकारको धारणा माग गरेको भन्दै शुक्रबारको छलफलमा पनि उक्त विषयबारे प्रस्ट पार्न भनिएको बताइन् ।

त्यस्तै नेकपा एमालेले सरकारले चुनावको गीत गाएपनि नेताहरूलाई स्थान हद तोकेकोमा आपत्ति जनाएको छ ।

एमाले नेता महेश बर्तौलाले प्रमुख पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थान हद तोकेर कस्तो खालको निर्वाचन गर्न खोजेको भन्दै सरकारको जवाफ माग गरेको छ । त्यसक्रममा एमालेले चार वटा विषय उठाएको बर्तौलाको भनाइ छ ।

‘शान्ति सुरक्षाको विषयमा भयरहित वातावरणमा सरकारले चुनाव गराउन सकिन्छ भन्ने कुरा आजको बैठकमा सुरक्षा प्रमुखहरूले सक्नुभएन’, बर्तौलाले भने, ‘सामान्य औपचारिक भाषामा सुरक्षा थ्रेट छ त्यसलाई कन्ट्राेल गर्न सक्ने कुरामा हामी सामर्थ्य राख्छौँ भन्ने मात्र रह्यो ।’

त्यसबाहेक बर्तौलाले एमालेले पार्टी अध्यक्षलाई स्थान हद लगाराएर निर्वाचन हुन्छ भनेर ढक्क हुन नसकेको विषयमा बैठकमा राखेकाे  जानकारी दिए ।

‘नेकपा एमालेको अध्यक्षलाई स्थान हद लगाएर निर्वाचन हुँदैन भन्ने कुरा प्रस्ट छ त्यसकारण निर्वाचनको यो कोठे पैरवीप्रति विश्वस्त छैनौँ भन्यौँ’, बर्तौलाको भनाइ छ ।

त्यस्तै बैठकमा राप्रपाका नेता भुवन पाठकले राजनीतिक दल, जेनजी र राजाबिच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुने र त्यसले मात्र निर्वाचनको सार्थकता रहने धारणा राखेका छन् ।

बैठकपछि पाठकले भने, ‘जेनजी, दल र राजाबिच नवीन समझदारी गरेर मात्र निर्वाचन गर्दा उपयुक्त हुन्छ भन्ने राप्रपाको भनाई हो त्यही अनुसार मैले धारणा राखेँ ।’

बालुवाटार छलफलमा पार्टीका तर्फबाट कांग्रेसले राखेको धारणा उद्धृत गर्दै पुष्पा भुसालले भनिन्, ‘कुनै पनि किसिमको थ्रेटलाई स्वीकार गर्दैन भनेर स्पष्ट राख्यौँ । यदि त्यस्तो थ्रेट भयो भने त्यसको जिम्मेवार सरकार हुनुपर्छ भनेर भन्यौ ।’

छलफलमा मन्त्रीहरू अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल समेत सहभागी थिए । 

राजनीतिक दलहरूका तर्फबाट दलहरूबाट कांग्रेसका गगन थापा, पुष्पा भुसाल, एमालेका शंकर पोखरेल र महेश बर्तौला, नेकपाका शक्ति बस्नेत र प्रकाश ज्वाला सहभागी थिए ।

त्यस्तै रास्वपाका शिशिर खनाल र सोविता गौतम तथा राप्रपाका राजेन्द्र गुरुङ, र भुवन पाठक, जसपा नेपालका प्रकाश अधिकारी र जनमतका नरेन्द्र चौधरी सहभागी थिए । 

बहुपक्षीय छलफलमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनै जना आयुक्त, सचिव र सहसचिवसमेत गरी ७ जना सहभागी रहेकोमा चार वटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप