पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्ने ईश्वर पोखरेलको प्रस्ताव
सारांश
- एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रमुख पदमा दुई कार्यकालको समयसीमा तोक्नुपर्ने प्रस्ताव गरे।
- उनले पार्टीको कमीकमजोरीको समीक्षा गर्दै भविष्यको बाटो स्पष्ट पार्नुपर्ने र नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउनुपर्ने बताए।
- पोखरेलले नेतृत्वको अस्वस्थ प्रतिस्पर्धा रोक्न र युवा पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा छलफलका लागि भन्दै तयार पारेको अवधारणापत्रमा पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्ने प्रस्ताव गरेका छन् ।
दशौँ महाधिवेशनदेखि हालसम्मको पार्टी कामको सिंहावलोकन गर्दै पार्टीले गरेका काम, लिइएका निर्णय, प्राप्त भएका उपलब्धि र व्यहोर्नुपरेका चुनौतीका साथै भएका कमी–कमजोरीको बस्तुनिष्ठ समीक्षा गर्नैपर्ने भन्दै उनले महाधिवेशनबाटै भविष्यको बाटो स्पष्ट पार्नुपर्ने औँल्याएका छन् ।
पोखरेलले महाधिवेशनलाई नेताहरूको पद बदल्ने अथवा नेतृत्वको अनुमोदन गर्ने दायरामा मात्र सीमित गरिन नहुने प्रस्ट पारेका छन् । ‘हामीले पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको मौलिक र विशिष्ट कार्यक्रमका रूपमा जनताको बुहदलीय जनवादलाई स्वीकार गर्यौँ,’ अवधारणापत्रमा उनले भनेका छन्, ‘विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनका सकारात्मक, नकारात्मक सबै खाले अनुभवहरूबाट शिक्षा लिँदै जनताको बहुदलीय जनवादलाई मार्क्सवादको सिर्जनात्मक प्रयोगको निचोडका रूपमा स्थापित गरिरहेका छौँ ।’
जनताको बहुदलीय जनवादलाई निरन्तर समय अनुकूल बनाएर समृद्ध सिद्धान्तको रूपमा विकास गर्न प्रतिवद्ध रहेको प्रस्ट पार्दै पोखरेलले छैटौँ राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको नेतृत्वदायी विचारका रूपमा विकसित गरिएको र आठौँ राष्ट्रिय महाधिवेशनबाट मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तको रूपमा आत्मसात गरिएको उल्लेख गरेका छन् । सोही महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरणको मान्यतालाई संस्थागत रूपमा स्वीकार गर्दै कार्यान्वयनमा ल्याएको उनले प्रस्ट पारेका छन् ।
‘नवौँ र दशौँ राष्ट्रिय महाधिवेशनले पनि त्यसलाई पुनर्पुष्टि गर्दै आएका थिए । आजको समयमा आइपुग्दा हाम्रो पार्टीमा दर्शन, सिद्धान्त, कार्यक्रम, कार्यनीति, रणनीति, कार्यदिशा, विधि–विधानको निर्माणमा धेरै ठुलो समस्या देखिँदैन, तर आफैँले स्थापित गरेका सिद्धान्त, नीति, विधि र विधानको पालना र कार्यान्वयन पक्षमा समस्या देखिएको छ,’ अवधारणापत्रमा भनिएको छ, ‘सातौँ र आठौँ राष्ट्रिय महाधिवेशनको बिचमा पार्टी जीवनको लोकतान्त्रिकरणको मान्यतालाई ग्रहण गर्ने सन्दर्भमा कमरेड केपी शर्मा ओलीको संयोजकत्वमा गठित कार्यदलले निकालेका निष्कर्षहरू अति नै महत्त्वपूर्ण रहेका छन् ।’
ती निष्कर्ष पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने सकारात्मक उद्देश्यका साथ नेतृत्वको समग्र हिस्सा सहमत भएर निकालिएको जिकिर गर्दै उनले आठौँ र नवौँ महाधिवेशनका सम्पूर्ण अभ्यासहरू तिनै निष्कर्षका आधारमा भएको प्रस्ट पारेका छन् । ‘अहिले पनि ती निष्कर्षलाई पार्टी जीवनमा कार्यान्वयन गर्नु आवश्यक छ,’ अवधारणापत्रमा पोखरेलले भनेका छन् ।
त्यस समयमा निकालेका मुख्य निष्कर्षहरू पनि पोखरेलले स्मरण गराएका छन् । यस क्रममा उनले एउटा जीवन्त पार्टीमा विचारधारात्मक तथा नीतिगत विषयहरूमा बहस हुनु, त्यस दौरानमा फरक मतहरू देखा पर्नु स्वाभाविक भए पनि व्यवहारमा फरक मतप्रति सहिष्णु बन्ने र तिनको बारेमा छलफल गर्ने जीवन्त वातावरण निर्माण होस्, फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्न नपरोस्, स्वस्थ छलफल तथा उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूति होस् भन्ने कुरा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
कम्युनिस्ट आन्दोलनमा फरक मतलाई सहज ढङ्गले नलिने र त्यसप्रति असहिष्णु बन्ने तथा फरक मतले पनि सहज प्रजातान्त्रिक वातावरणभित्र छलफल गर्ने विधि अवलम्बन गर्नुको साटो अराजकता र अस्वस्थताको बाटो लिने जस्ता समस्या रहेको पोखरेलले प्रस्ट पारेका छन् ।
कम्युनिस्ट पार्टीहरूमा नेतृत्वको हस्तान्तरणको विषय समस्याका रूपमा रहेको जिकिर गर्दै पोखरेलले पार्टीमा स्वेच्छिक अवकाशको व्यवस्था नहुनु, उमेर या कार्यकारी पदको कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको बाध्यात्मक प्रबन्ध नहुनु आदि कारणले नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म (कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहने र पदमा टिकिरहन अनेकौँ वाञ्छित÷अवाञ्छित प्रयत्नहरू गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि वैध÷अवैध उपायहरू अवलम्बन गर्ने स्थिति देखापरेको उल्लेख गरेका छन् ।
‘यसले नेतृत्वको सहज हस्तान्तरणमा बाधा पुर्याएको मात्र छैन, नेतृत्व परिवर्तनका लागि अस्वस्थ होडबाजी, गुटबन्दी र षड्यन्त्रमूलक क्रियाकलापलाई पनि जन्माउने काम गरेको छ,’ अवधारणापत्रमा पोखरेलले भनेका छन्, ‘यसले युवा पुस्तालाई नेतृत्वमा पुग्न अवरोध सिर्जना गरिरहेको छ । परिस्थितिले यस समस्याको समाधानका लागि ठोस र मूर्त प्रबन्धको माग गरिरहेको छ ।’
नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्ने पोखरेलको धारणा छ ।
‘यस्तो व्यवस्थाले नेतृत्वको सहज हस्तान्तरणलाई प्रत्याभूति गर्नेछ, नेतृत्व परिवर्तनको असहज, गुटगत र षड्यन्त्रमूलक प्रवृत्तिलाई निरुत्साहित गर्नेछ,’ अवधारणा पत्रमा उनले भनेका छन्, ‘नयाँ नेतृत्वको विकासका लागि अनुकूल वातावरण निर्माण गर्नेछ । त्यसबेला यस्तो निष्कर्ष निकालिएको भए पनि हामीले कतिपय सन्दर्भमा आफैँले अघि सारेका विचार र पार्टीले स्वीकार गरेका विधिहरूलाई समेत आफूअनुकूलको व्याख्या गर्ने र तोडमरोड गरेर कार्यान्वयनमा जाँदा पार्टी जीवनमा उपरोक्त प्रवृत्तिहरू समस्याका रुपमा जीवितै रहेका छन् । यसलाई सच्याउनु जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण