चुनावको सुरक्षा चिन्ता : लुटिएका हतियार, फरार कैदीबन्दी बन्ला चुनौती ?
सारांश
- निर्वाचन नजिकिँदै गर्दा सुरक्षा निकायहरूले सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गर्दैछन्।
- जेनजी प्रदर्शनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दी निर्वाचनका लागि चुनौती हुनसक्ने आकलन गरिएको छ।
- गृह मन्त्रालयका अनुसार ७२३ थान हतियार फिर्ता आएका छन् र फरार कैदीबन्दी फिर्ता ल्याउन अभियान चलिरहेको छ।
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा चारवटै सुरक्षा निकायले सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी आ–आफ्नो तयारी गरिरहेका छन् ।
केन्द्रीय सुरक्षा समितिबाट एकीकृत सुरक्षा योजना स्वीकृत भइसकेको छ । यस योजनाअनुसार सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्नो जिम्मेवारी पूरा गर्दैछन् ।
निर्वाचनमा मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि म्यादी प्रहरीसहित ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालन गरिने एकीकृत सुरक्षा योजनामा उल्लेख छ ।
जेनजी प्रदर्शनका क्रममा लुटिएका प्रहरीका हतियार र कारागार तथा बालसुधार गृहबाट भागेका कैदीबन्दीहरू निर्वाचनमा ‘सुरक्षा थ्रेट’ हुन सक्ने आकलन गरिएको छ ।
एकीकृत सुरक्षा योजनामा पनि जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी र लुटिएका हतियार निर्वाचनमा चुनौती हुन सक्ने उल्लेख छ ।
२०७९ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भन्दा यसपटक यी दुई विषय थप चुनौतीका रूपमा देखा परेको प्रहरीका एक उच्च अधिकृत बताउँछन् । ती उच्च अधिकृतका अनुसार फरार कैदी र हतियार यसपटकको निर्वाचनका थप चुनौती हुन्, जुन चुनौती २०७९ मा थिएन ।
जेनजी प्रदर्शनका क्रममा आन्दोलनकारीले नेपाल प्रहरीका युनिटहरूबाट करिब १२ सय हतियार लुटेका थिए । प्रहरीको आन्तरिक प्रतिवेदनअनुसार ३४६ थान साना हतियार (पेस्तोल) लुटिएका छन् ।
काठमाडौंको मीनभवनस्थित सशस्त्र प्रहरीको बेसबाट पनि भदौ २४ मा आन्दोलनकारीले केही थान हतियार लुटेका थिए । गृह मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ७ सय २३ थान हतियार फिर्ता आएका छन् ।
पूर्वएआईजी उत्तमराज सुवेदीका अनुसार प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूबाट हतियार बरामद गरिरहेको छ । उनी भन्छन्, ‘हतियार सामान्य मानिसहरूसँग छैन, आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको हातमा हतियार पुगेको हुनाले निर्वाचनमा उनीहरूबाट चुनौती हुन्छ ।’
जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका ४ हजार ७१७ कैदीबन्दी अझै फर्केका छैनन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमन्द्र न्यौपानेका अनुसार भागेका ४ हजार ४ सय कैदीबन्दी र ३१७ जना बालबिज्याईंकर्ता फिर्ता आउन बाँकी छन् ।
उनले भने, ‘हामीले सहायक प्रजिअको नेतृत्वमा समिति बनाएर कैदीबन्दी फिर्ता ल्याउन विशेष अभियान सञ्चालन गरिरहेका छौँ ।’
प्रहरीका युनिटहरूबाट लुटिएका मुख्य हतियार फिर्ता ल्याएको दाबी गर्दै प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्ले भन्छन्, ‘फिर्ता ल्याउनुपर्ने हतियार चुनावको मुख्य चुनौती होइन ।’
डीआईजी काफ्लेका अनुसार जेनजी पुस्ताका युवा र पुराना दलहरूबिचको असमझदारी नै आसन्न निर्वाचनको मुख्य चुनौती हो । उनले हतियार लुटेराहरूलाई पक्राउ गर्न र हतियार रिकभर अभियान नै सञ्चालन गरिएको जानकारी दिए । उनले भने, ‘अभियान सञ्चालन गरेर कैदीबन्दी र हतियार फिर्ता ल्याउने काम गरिरहेका छौँ ।’
सशस्त्र प्रहरी बलका पूर्वएआईजी नारायण बाबु थापा फरार कैदीबन्दीको हातमा पुगेका हतियार प्रतिशोधमा प्रयोग हुन सक्ने आकलन गर्छन् । यद्यपि रातोपाटीसँगको कुराकानीमा थापाले रक्षा फौजले चुनौतीविरुद्ध आफूलाई राम्रोसँग तयार पारेको उल्लेख गर्दै फरार कैदी र हतियारले चुनावमा चुनौती नदेखिने दाबी गरे ।
उनले भने, ‘रिकभर हुन नसकेको हतियारकै कारण चुनावमा सुरक्षा चुनौती देखिन्छजस्तो मलाई लाग्दैन ।’ फरार बन्दी आफैं कसरी सुरक्षित हुन सकिन्छ भनेर लुक्ने हुनाले उनीहरूले चुनाव बिथोल्न नसक्ने थापाले बताए ।
यता गृहमन्त्री ओमप्रकाश अर्यालले भने धेरैभन्दा धेरै लुटिएका हातहतियारहरू प्रहरी प्रशासनले जफत गरिसकेको दाबी गरेका छन् ।
मंसिर ११ मा राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अर्यालले भने, ‘फरार कैदीबन्दी र लुटिएका हतियारले गर्दा नै चुनावप्रति विभिन्न शंका उपशंका राख्नुपर्ने स्थिति छैन ।’
जेनजी प्रदर्शनका क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले हालसम्म ५ सय ९५ जनालाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण