बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
भाेजपुर

भोजपुरमा सुरक्षा समितिद्वारा मतदानस्थलको अनुगमन

मङ्गलबार, २३ मङ्सिर २०८२, ०० : ५३
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • भोजपुरमा निर्वाचनलाई मध्यनजर गर्दै मतदानस्थलहरूको अनुगमन सुरु भयो।
  • जिल्ला सुरक्षा समितिले मतदानस्थलको सुरक्षा अवस्था र पूर्वाधारबारे मूल्यांकन गर्दैछ।
  • अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थलको वर्गीकरण गरियो।

भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । सम्भावित सुरक्षा जोखिम, भौगोलिक चुनौती र आवश्यक पूर्वाधारको स्थिति मूल्याङ्कन गर्न जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन अघि बढाएको हो ।

भोजपुरमा ८७ वटा मतदानस्थल सिफारिस गरिएकामा ती मतदानस्थलको क्रमिक रूपमा निरीक्षण भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार हालसम्म १२ भन्दा बढी स्थानमा अनुगमन पूरा भएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष बनाउन जिल्ला सुरक्षा समितिले गतिविधि तीव्र पारेको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानबिच समन्वय गरेर मतदानस्थलमा निगरानी बढाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख राजु लामाले यहाँका ८७ मतदानस्थलमध्ये ३३ वटालाई अतिसंवेदनशील, २० वटालाई संवेदनशील र ३४ वटालाई सामान्य वर्गीकरण गरिएको जानकारी दिए। उनका अनुसार सोही वर्गीकरणका आधारमा विशेष सुरक्षा रणनीति तयार गरी तैनाथी, गस्ती र सूचना सङ्कलन अघि बढाइने छ ।

निर्वाचन अवधिभर कुनै अप्रत्याशित घटना नहोस् भन्ने उद्देश्यले राजनीतिक दल, नागरिक समाज, स्थानीय तह र सरोकार भएका निकायसँग निरन्तर छलफल तथा परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए । 

“आसन्न निर्वाचनलाई ध्यानमा राखेर आवश्यक गतिविधि अगाडि बढाएका छौँ”, उनले भने, “सिफारिस भएका मतदान केन्द्रको स्थलगत अनुगमन गर्दै जोखिमका आधारमा थप आवश्यक सुरक्षा निर्णय पनि गरिरहेका छौँ ।”

सुरक्षासँगै जिल्लाभरका मतदान केन्द्रमा भौतिक पहुँच, सञ्चार सुविधा, सुरक्षित सामग्री भण्डारण, मतदान अधिकृतको बसोबास व्यवस्था र सम्भावित प्राकृतिक जोखिमसम्बन्धी अध्ययन तथा अनुगमनसमेत भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप