स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्न सरकारको गम्भीर छः मुख्यमन्त्री बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । उनले नागरिकको स्वास्थ्य उपचारको सेवालाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताए ।
मंगलबार सिन्धुलीको तीनपाटन गाउँपालिकामा करिब १२ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको आधारभूत अस्पताल भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले शिक्षा र स्वास्थ्यजस्ता संविधान प्रदत्त मौलिक अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार तत्पर रहेको बताए । मुख्यमन्त्री बानियाँले मुलुकको युवा शक्तिलाई प्रविधिमैत्री बनाएर रोजगारी सिर्जना गरिने प्रतिबद्धता व्यक्त गरे ।
‘रोगमुक्त समाज र निरोगी नागरिक बनाउन प्रदेश सरकारले काम गरिरहेको छ ।’ मुख्यमन्त्री बानियाँले भने, ‘कुनै पनि नवजात शिशु कुपोषणको सिकार नबनुन् । साथै, सुगर, प्रेसर, बाथ, युरिक एसिड, थाइराइडलगायतका दीर्घ र असाध्य रोग लागेका नागरिकले सहज र सरल सेवा पाउन् भन्ने उद्देश्यले सरकारले काम गरिरहेको छ ।’
उनका अनुसार गणतन्त्र गरिब निमुखाको व्यवस्थाको हो । मुलुकभित्र केही भएन भन्ने असन्तोषलाई चिर्दै भएका विकासका कामलाई नागरिकसमक्ष पु-याउनुपर्नेमा उनले जोड दिए । भौतिक पूर्वाधारसँगै नागरिकको आर्थिक उपार्जनलाई पनि जोड्नुपर्ने उनको भनाइ थियो ।
‘बाटो बनाइदिएर मात्र भएन, नागरिकको खल्तीमा नोट कसरी आउँछ भनेर उनीहरूलाई सीप र पुँजीको व्यवस्थासमेत गरिदिनुपर्ने हुन्छ । हामी त्यसतर्फ अग्रसर छौँ,’ मुख्यमन्त्री बानियाँले भने ।
कार्यक्रममा बोल्दै तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापा मगरले सीमित स्रोतसाधनका बिच पनि पालिकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको बताए । उनले सुविधाजनक बाटो नहुँदा बिरामीले बाटैमा ज्यान गुमाउनु परिरहेको बाध्यता रहेको बताए । सडक निर्माणमा प्रदेश सरकारसँग ठुलो भरोसा रहेको उनको भनाई छ । अध्यक्ष थापाले पालिकाभित्र कृषि र पशुपालनका क्षेत्र पहिचान गरी नागरिकको आर्थिक समृद्धिका लागि कार्यक्रम लागू गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण