बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धेरै आयोजना निर्माण व्यवसायीकै कारण अलपत्र छन् : महानिर्देशक जैसी

मङ्गलबार, २३ मङ्सिर २०८२, १४ : १५
मङ्गलबार, २३ मङ्सिर २०८२

काठमाडौँ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले विभाग अन्तर्गतका रुग्ण ठेक्कामध्ये अधिकांश निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासङ्घसँगको सहकार्यमा मङ्गलबार काठमाडौँमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महानिर्देशक जैसीले भने, 'हामीले पटक–पटक म्याद थप हुँदा पनि ५० प्रतिशतभन्दा कम प्रगति भएकालाई रुग्ण मानेर डाटाबेस तयार गरेका छौँ। हाम्रो अध्ययनमा ३०४ वटा रुग्ण ठेक्कामध्ये २३५ वटा ठेक्का त निर्माण व्यवसायीकै कारणले बिग्रिएको देखिएको छ ।’

विभागको तथ्याङ्क अनुसार १७ वटा ठेक्का सरकारी र व्यवसायी दुवैको कारणले र ४१ वटा काबु बाहिरको परिस्थितिले रुग्ण भएका छन् । 

महानिर्देशक जैसीले अहिले देखिएको ठेक्का तोड्ने प्रक्रिया अचानक नभई लामो समयको विश्लेषण र कानुन बमोजिमको प्रक्रिया भएको स्पष्ट पारे । 

'हामीले गत वर्ष पनि १००–१५० ठेक्का तोडेका थियौँ, अहिले ४० वटा जति तोडिएको छ,’ उनले भने, ’यो सङ्ख्या घटाउन र आयोजनालाई गति दिन विभागले निर्मम भएर काम गरिरहेको छ ।’

महानिर्देशक डा. विजय जैसीले  अब रुग्ण ठेक्कामा निर्माण व्यवसायीलाई धेरै माया गर्न नसकिने उनले बताए । निर्माण कम्पनीहरूलाई काममा मोविलाइज हुन आग्रह गरेका छन् ।

‘रहरले ठेक्का तोडिएको होइन । अन्तिम अवस्थामा आएर ठेक्का तोडिएको हो । यद्यपि, तपाईँहरू काममा मोविलाइज हुनुस् । अहिले काममा निर्माण कम्पनी मोविलाइज भएको पनि देखिएको छ,’ उनले भने, ‘ल इज ल (कानुन भनेको कानुन हो) । अब मायाले हुँदैन । सबै काममा लागौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप