सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘जातीय वर्चस्ववादीले दलित महिलालाई पाखा लगाए’

बुधबार, २४ मङ्सिर २०८२, १८ : १६
बुधबार, २४ मङ्सिर २०८२

काठमाडौँ । काठमाडाैँमा ‘क्रिया’ (सीआरईए)द्वारा आयोजित अन्तर्राष्ट्रिय महिलावादी सम्मेलनमा दलित महिलाको आवाजलाई जानाजानी पाखा लगाएको भन्दै जस्ट फ्युचर्स पहल (जेएफपी) की संस्थापक अध्यक्ष तथा लेखक सारिता परियारले गम्भीर आलोचना गरेकी छन्। 

डिसेम्बर ८ देखि १० सम्म भएको यस ग्लोबल महिलावादी सम्मेलनमा परियारले सम्मेलन  आयोजना गरिएको आफ्नो पुख्र्यौली भूमि नेपाललाई, नेपालसँगै विश्वकमा छाएको जात व्यवस्था र त्यसविरूद्ध दलित महिलाको आवाजलाई बेवास्ता गर्नुलाई सामान्य भूल नभई ‘आफैँलाई विशेषाधिकार दिने जातीय वर्चस्ववादी महिलावादी’हरूको समस्याको संज्ञा दिएकी छन्।

परियारले सम्मेलनका लागि तयारी गरेर पनि ‘दिन नपाइएको आफ्नो मन्तव्य’मा नेपालमा कुनै पनि विश्वव्यापी सम्मेलन हुँदा, जुन देश जातीय अवधारणा र अभ्यासबाट गहिरो रूपमा प्रभावित छ, त्यहाँ सबैभन्दा सीमान्तकृत र उत्पीडित समुदायमध्येका दलित महिलाहरूलाई मूल सत्रमा निम्तो दिनुपर्ने विश्वास व्यक्त गरेकी छन्।

परियारले आफ्ना विचारहरू मूल सत्रमा राख्नका लागि अक्टोबर १०, २०२५ देखि नै पटक–पटक अनुरोध गरिएको भए पनि त्यसलाई जानीबुझी बेवास्ता गरिएपछि डिसेम्बर ६, २०२५ मा सम्मेलनमा बोल्न अस्वीकार गरेको जानकारी दिइन्।

sarita-pariyar

फेमिनिज्म र जातको प्रश्न

उनले आफ्नो मन्तव्यमा 'कोठाभित्रको हात्ती’ को रूपमा ‘जात’ को प्रश्नलाई उठाएकी छन्। उनी भन्छिन्, ‘यदि हामी फेमिनिज्मको विषयमा गम्भीर छौँ भने,'हामीले जातको प्रश्नलाई बेवास्ता गर्न बन्द गर्नुपर्छ। हामीले दलित महिलाको जीवन, आकाङ्क्षा र नेतृत्वले फेमिनिज्मलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयमा मौलिक रूपमा पुनर्विचार गर्नुपर्छ।’

परियारले जात र दलित महिलाका दुई छुट्टाछुट्टै तर गहिरो रूपमा जोडिएका विषयहरूले जातको सञ्चालन र दक्षिण एसियाभन्दा बाहिर पनि जन्म–आधारित अपमान, अन्याय र असमानतालाई किन निरन्तरता दिइरहेको छ भन्ने बुझ्न मद्दत गर्ने बताउँछिन्।

उनका अनुसार २५ करोडभन्दा बढी दलितका लागि जातले उनीहरूको जीवन र भविष्यका हरेक भागलाई अमानवीय र चुनौतीपूर्ण तरिकाले असर गर्छ। तर पनि दक्षिण एसियामा रहेका र दक्षिण एसियाबाट आएका एक अर्बभन्दा बढी जातीय वर्चस्ववादी समूहले यो मुद्दालाई बेवास्ता गरेका छन्। उनीहरूले आफ्ना दृश्य र अदृश्य, आर्जन नगरिएका विशेषाधिकारहरूलाई आलोचनात्मक रूपमा बुझ्न र सम्बोधन गर्न कुनै हतार नदेखाएको परियारको आरोप छ।

वर्चस्ववादी महिलाको कमजोरी

आफूले केही प्रतिबद्ध वर्चस्ववादी जातीय महिलाहरूलाई चिनेको स्वीकार गर्दै परियारले एउटा गम्भीर अवलोकन पनि साझा गरेकी छन्। उनी भन्छिन्, “के कुरा हेर्न रोचक छ भने प्रगतिशील भनाउँदा, उच्च शिक्षित र शक्तिशाली जातीय वर्चस्ववादी महिलाहरू आफ्नो जातीय विशेषाधिकार पहिचान गर्न असफल मात्र छैनन्, तर दलित महिलाको जीवन र आकाङ्क्षालाई एक फुटनोट वा साइड–प्यानल कार्यक्रमहरू (मूल सत्रमा होइन) मा सीमित पार्छन्।” उनी प्रश्न गर्छिन्, ‘किन ?’

उनले सम्मेलनमा सहभागीहरूलाई जात व्यवस्था र दलित महिलालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै यसका लागि गहिरो आत्मनिरीक्षण र निरन्तर कार्य गर्ने प्रतिबद्धता आवश्यक रहेको बताइन्।

ज्ञानको नयाँ सिद्धान्त

सारिता परियारले आफ्नो संस्था जस्ट फ्युचर्स पहलले दलित महिलालाई चिन्तक, आख्यानकार, ज्ञान उत्पादक र अगुवाहरूको अर्को पुस्ताको रूपमा तयार गर्ने उद्देश्यतिर केन्द्रित गर्नुको कारण पनि स्पष्ट पारेकी छन्।

उनका अनुसार ऐतिहासिक रूपमा दलित महिलाको जीवन, उनीहरूको दुःख, प्रेम, प्रतिरोध र आनन्द, अदृश्य बनाइएको छ। उनीहरूलाई प्रायः एजेन्सीविहीन परोपकार वा उद्धार गरिनुपर्ने वस्तुको रूपमा व्यवहार गरिन्छ र इतिहासको ‘अभिलेखीकरण मौनता’ मा सीमित राखिएको छ।

उनी के विश्वास गर्छिन् भने जात व्यवस्थाको निरन्तरताबारे बुझ्न दलित महिलाको दैनिक जीवनका पीडा र प्रतिराधको सावधानीपूर्वक अध्ययन नै मुख्य कुञ्जी हो। उनीहरूको अनुभवलाई केन्द्रित गरेर, हामी ज्ञानको राजनीति र शक्तिको अर्थ–निर्माणका लागि ‘ज्ञानको नयाँ सिद्धान्त’ बनाउने लक्ष्य बनाउँदै छौं। यसले हामीलाई जात के हो र यस अमानवीय संरचनालाई कसरी भत्काउन सकिन्छ भन्ने विषयमा मौलिक रूपमा पुनर्विचार गर्न बाध्य पार्नेछ।

परियारले आफ्नो संस्थाबाट यस सम्मेलनमा सहभागी भएका १७ जना ऊर्जाशील, युवा दलित महिला र ४ जना आदिवासी जनजातिहरूको सहभागितालाई आन्दोलनको भविष्यको रूपमा देखेकी छन्।

उनले नेपालमा आदिवासी जनजातिलाई पनि जातको तहगत श्रेणीभित्र राखिएको ऐतिहासिक विशिष्टताको उल्लेख गर्दै सबैलाई एकजुट भएर यो ‘साहसिक यात्रा’ मा सामेल हुन आग्रह गरेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप