१०औँमा सर्वसम्मतका लागि छोडेँ, यसपटक ‘ब्याक’ हुन्नँ : किरण गुरुङ
सारांश
- एमालेको महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना छ।
- किरण गुरुङले उपाध्यक्ष पदमा दाबी गर्दै पार्टी एकता र सर्वसम्मतिका लागि आफूले प्रयास गर्ने बताए।
- अहिलेको मुख्य चुनौती ट्राफिक व्यवस्थापन र रुटको व्यवस्थापनमा देखिएको छ, र राष्ट्रिय सहमतिको आवश्यकता औंल्याइएको छ।
पोखरा । नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले देशको राजनीतिलाई तताएको छ । पार्टी नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।
दुवैले नेतृत्वमा दाबी गरेपछि पदाधिकारी र सदस्य बन्न चाहनेहरू पनि आफ्नो स्थान सुरक्षित गर्न कित्ता छुट्ट्याइरहेका छन । एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले पदाधिकारीमा दाबी गरेका छन् ।
नवौँ महाधिवेशनमा ओली प्यानलबाटै उपाध्यक्षमा उठेर पराजित भएका उनी १०औँ महाधिवेशनमा पार्टी एकता र सर्वसम्मतिका लागि भन्दै ओलीकै आग्रहमा पछि हटेका थिए । यसपटक उपाध्यक्ष पदमा आफ्नो बलियो दाबी रहेको गुरुङले बताए ।
प्रस्तुत छ, उपाध्यक्षमा दाबी गरेका गुरुङसँग रातोपाटीकर्मी प्रकाश ढकालले गरेको कुराकानी:
- एमाले महाधिवेशनको तयारी कस्तो चलिरहेको छ ?
म अहिले काठमाडौँमै छु । महाधिवेशनको आन्तरिक तयारीमा जुटिरहेका छौँ । साथीहरू आउने क्रम सुरु भएको छ । भक्तपुरको सल्लाघारीमा ११औँ महाधिवेशनको महाधिवेशन गर्दैछौँ । २७ गते हुने उद्घाटन समारोहमा कम्तीमा ३ लाख जनसहभागिता जुटाउने हाम्रो तयारी छ ।
मुख्य चुनौती भनेको ट्राफिक व्यवस्थापन र रुटको व्यवस्थापनमा देखिएको छ । १०औँ महाधिवेशनमा जस्तै जामले गर्दा मानिसहरू कार्यक्रमस्थलसम्म पुग्न नसक्ने हो कि भन्ने चिन्ता छ । त्यसलाई व्यवस्थापन गर्ने प्रयासमा छौँ ।
- तपाईं पनि उम्मेदवारीको तयारीमा हुनुहुन्छ ?
मेरो बटमलाइन स्पष्ट छ । म नवौँ राष्ट्रिय महाधिवेशनमा पनि अध्यक्ष केपी ओलीकै टिमबाट उपाध्यक्ष लडेको थिएँ, तर त्यसबेला सफल हुन सकिनँ । दशौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भयो । मैले पार्टीको आवश्यकता हेरेर दाबी गरिनँ, तर यसपटक ११औँ महाधिवेशनमा मेरो दाबी उपाध्यक्ष पदमै रहन्छ । टिम मिलाएर जाँदा वा निर्वाचन प्रक्रियामा जाँदा जे भए पनि मेरो दाबी उपाध्यक्षमा कायम छ ।
- अहिलेको प्रतिस्पर्धा संस्थापनबाटै कि क्याम्प फेरेर ?
अध्यक्षज्यूसँगको कुराकानी सकारात्मक छ । उहाँले मलाई ‘तपाईं आवश्यक मान्छे हो, पुरानो नेता हो, मलाई सबै थाहा छ’ भन्नुभएको छ । उहाँको यो भनाइलाई मैले सकारात्मक र ग्रीन सिग्नलकै रूपमा बुझेको छु । म संस्थापन पक्षकै मान्छे हुँ, त्यसैले मेरो व्यवस्थापन यही टिमबाट उपाध्यक्षमा हुन्छ भन्नेमा म विश्वस्त छु ।
कथंकदाचित त्यस्तो नभए पनि म पदाधिकारीभन्दा बाहिर रहने अवस्था आउँदैन । त्यो साथीहरूले पनि बुझ्नुभएको छ ।

- गण्डकी प्रदेशबाट पदाधिकारीमा आकाङ्क्षीहरूको नाम लामै छ, एकै ठाउँमा कसरी व्यवस्थापन होला ?
लोकतन्त्रमा प्रतिस्पर्धाका लागि दाबी गर्नु स्वाभाविक अधिकार हो । अहिले गण्डकीबाट जति पनि साथीहरूले पदाधिकारीमा दाबी गर्नुभएको छ, उहाँहरू सबै संस्थापन पक्षकै हुनुहुन्छ । त्यसैले हामी गण्डकीका नेताहरू एक–आपसमा लडेर विभाजित हुने अवस्था छैन । बरु हाम्रो प्रतिस्पर्धा अन्य प्रदेशका नेताहरूसँग हुन सक्छ । संस्थापन पक्षबाटै सबैको दाबी रहेकाले नेतृत्वले न्यायोचित व्यवस्थापन गर्नेछ भन्ने विश्वास छ ।
- उम्मेदवार बन्न संस्थापनतिरै होमिँदा महाधिवेशन प्रतिनिधिमा चाहिँ गण्डकीको सङ्ख्यात्मक जोडघटाउ कस्तो छ ?
गण्डकी प्रदेशमा संस्थापन इतर पक्षको उपस्थिति अत्यन्त न्यून छ । महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा हेर्दा पनि खुलेर म ‘इतर पक्ष’को हुँ भनेर आउने साथीहरू खासै देखिनुभएन । सङ्ख्यात्मक रूपमा गण्डकीमा संस्थापन पक्ष धेरै नै बलियो छ, तर भोलि उम्मेदवारी दिने बेलामा असन्तुष्टिहरू देखिएलान् । त्यतिबेला यताउति हुन सक्दैनन् भन्न सकिन्नँ । अहिलेको तथ्याङ्क हेर्दाचाहिँ गण्डकी प्रदेश संस्थापन पक्षको बलियो किल्ला हो ।
- महाधिवेशनबाट नेतृत्व परिवर्तनको कुरा चर्को रूपमा उठिरहेको छ । एमालेमा यसपटक नयाँ अनुहार आउने सम्भावना छ कि छैन ?
लोकतन्त्रमा नेतृत्व परिवर्तन र नवीकरण स्वाभाविक प्रक्रिया हो । प्रतिस्पर्धाबाट नयाँ वा पुराना जो पनि आउन सक्छन्, तर अहिलेको सन्दर्भमा एमालेमा केपी ओलीको विकल्प देखिँदैन । कोही कसैले दाबी गर्नु बेग्लै कुरा हो, तर वास्तविक रूपमा उहाँको विकल्प छैन । माओवादी वा कांग्रेसमा पनि नेतृत्वको विकल्प तयार भइसकेको देखिँदैन ।
- पुराना नेताबाट देशले निकास पाएन भनेर यत्रो जेनजी आन्दोलन भयो, तर तपाईंहरू अझै नयाँ नेतृत्वका लागि किन तयार हुनुभएन ?
‘जेनजी’ वा युवाका नाममा पछिल्लो समय जुन अराजकता, हिंसा र आगजनीका घटना भए, त्यो गम्भीर चिन्ताको विषय हो । सिंहदरबार, अदालत र सरकारी कार्यालयमा आगो लगाउने, नेताहरूको घर जलाउने र भौतिक आक्रमण गर्ने कार्य राजनीतिक आन्दोलन हुन सक्दैन । राष्ट्रवादी शक्ति र एमालेलाई कमजोर बनाउन यस्ता अराजक तत्वहरू प्रयोग भइरहेका छन् । तर, जेनजी पुस्ताको असल नियतसाथ गरिएको मागलाई भने एमालेले स्विकारेको छ । अहिले पनि हेर्नु न, एमालेभित्र जिल्ला तहदेखि नै युवाहरू नेतृत्वमा स्थापित भइसकेका छन् । लोकतन्त्रमा आवधिक नवीकरण जरुरी हुन्छ । एमालेले महाधिवेशन मार्फत नवीकरण र परिवर्तन दुवै गर्छ । अहिले महाधिवेशनबाट अध्यक्ष नभए पनि तल्ला पदहरूमा नयाँ अनुहार पनि आउनुहुन्छ । युवाहरूलाई छुट्टै कोटाको व्यवस्था छ । उनीहरूलाई तल्लो तहबाटै तयार गरेर नेतृत्वसम्म पुर्याउन यो महाधिवेशन महत्त्वपूर्ण छ ।
- यसरी त जेनजी आन्दोलनको मर्म पूरा भयो र ?
जेनजीले उठाएको विषय पूरा गर्ने नै एमालेले हो । अहिले मुलुक गम्भीर सङ्कटमा छ । शान्ति सुरक्षाको अवस्था हेर्दा फागुनमा चुनाव हुन सक्ने म देख्दिनँ । सुरक्षाकर्मीको मनोबल गिरेको छ, लुटिएका हतियार फिर्ता भएका छैनन् । यस्तो अवस्थामा गरिने चुनावमा बुथ क्याप्चर हुने, हिंसा भड्किने र निष्पक्षतामा प्रश्न उठ्ने निश्चित छ । त्यसैले, अहिलेको निकास चुनाव होइन, राष्ट्रिय सहमति हो ।
पुराना भनिएका प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिएर जेनजीलाई समेत समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्छ । आवश्यक परे संविधान संशोधन गर्ने र विघटित संसद् पुनःस्थापना गरेर राष्ट्रिय सरकार निर्माण गरी अघि बढ्नु नै अहिलेको उत्तम विकल्प हो । बलजफती चुनावमा जाँदा देश झन् ठुलो दुर्घटनामा फस्न सक्छ । राष्ट्रिय सहमति आजको प्रमुख निकास हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण