जुम्ली स्याउको आकर्षण र क्षेत्रफल बढ्दो, तर उत्पादन र निर्यातमा ह्रास
सारांश
- जुम्लामा स्याउ उत्पादन र निर्यात दुई वर्षयता घटेको छ, तर खेतीको क्षेत्रफल बढेको छ।
- यस वर्ष करिब १७ करोडको क्षति भएको र प्रतिकिलो ४ देखि ५ रुपैयाँले स्याउको मूल्य बढेको छ।
- जुम्लाको स्याउ खेतीमा आकर्षण बढेको छ, र कर्णाली प्रदेश सरकार स्याउ विकास बोर्ड बनाउने तयारीमा छ।
सुर्खेत । पछिल्ला दुई वर्ष जुम्लाको स्याउ उत्पादनदेखि निर्यातमा ह्रास आएको छ । स्याउ खेतीको क्षेत्रफल बढे पनि उत्पादन र आम्दानी भने घटेको हो ।
कृषि विकास कार्यालय जुम्लाले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार, यो वर्ष १७ हजार ५५८.७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ, जसमा ५ हजार ५९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।
निर्यात भएको स्याउबाट जुम्लाले यो वर्ष ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँ बराबर आम्दानी गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । यो तथ्याङ्क विगत दुई आर्थिक वर्षको तुलनामा कम हो । गत वर्ष (०८१/०८२) मा १९ हजार ८४० मेट्रिक टन स्याउ उत्पादन भई ९ हजार ३३१ मेट्रिक टन निर्यात हुँदा ६१ करोड दुई लाख ४७ हजार रुपैयाँ बराबरको रकम जिल्लामा भित्रिएको थियो ।
आर्थिक वर्ष ०८०/०८१ मा जुम्लामा २० हजार ५११.४६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उक्त वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै ६६ करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको थियो । पछिल्ला दुई वर्षमा भने उत्पादनदेखि निर्यातमा ह्रास आएको तथ्याङ्कले देखाउँछ ।

कृषि कार्यालयका अनुसार, यो वर्ष निर्यात भएको स्याउ कुल उत्पादनको करिब ३० प्रतिशतमात्रै हो । ४ हजार ४१४.६० मेट्रिक टन स्याउ जिल्लाभित्रै खपत भएको छ भने नासो र कोसेलीमार्फत दुई हजार ६४८.८१ मेट्रिक टन स्याउ निर्यात भएको कृषि कार्यालय प्रमुख अधिकारीले बताए ।
यस्तै, प्रशोधन (चाना, जुस, जाम, साइडर तथा ब्रान्डी) का लागि १५ प्रतिशत स्याउ प्रयोग भएको छ भने १० प्रतिशत अर्थात् १ हजार ७६५.८८ मेट्रिक टन स्याउ जुम्लामै रहेको भण्डारण गृहमा रहेको उनको भनाइ छ । उत्पादन भएको स्याउमध्ये १० प्रतिशत जति उत्पादनपछि क्षतिग्रस्त भएको तथ्याङ्क कृषि कार्यालयले निकालेको छ ।
यो वर्ष उत्पादकत्वमा समेत ह्रास आएको छ । गत वर्ष प्रतिहेक्टर ९.९२ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष घटेर प्रतिहेक्टर ८.३१ मेट्रिक टनमात्रै उत्पादन भएको छ । बाली कटानीको आधारमा उत्पादकत्व निकालिएको बताइएको छ । अन्य तथ्याङ्कमा गिरावट आए पनि स्याउको बिक्री मूल्यमा भने वृद्धि भएको छ ।
अघिल्लो वर्ष प्रतिमेट्रिक टन स्याउको बिक्री मूल्य ६५ हजार ४०० रुपैयाँ थियो । यस वर्ष बढेर ७० हजारसम्म पुगेको छ । यो प्रतिकिलो ४ देखि ५ रुपैयाँसम्मको वृद्धि हो । ‘यसले कृषकलाई राहत नै मिलेको छ,’ कृषि विकास कार्यालय प्रमुख अधिकारीले भने ।
उनका अनुसार, यो वर्ष स्याउ उत्पादन घट्नुको कारण असिना र बेमौसमी वर्षा हो । यस्तै, बाली व्यवस्थापनमा चुनौती वा नयाँ बिरुवाले पूर्ण उत्पादन दिन समय लाग्ने लगायतका कारणले पनि उत्पादनमा कमी आएको उनको भनाइ छ ।

‘असिना र वर्षाकै कारण झन्डै १७ करोड बराबरको क्षति आकलन भएको छ,’ कार्यालय प्रमुख अधिकारीले बताए । जुम्लाको स्याउ सुर्खेतबाट काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरान, महेन्द्रनगर, धनगढीका बजारमा निर्यात हुने गर्छ ।
जुम्ला स्याउको राजधानी नै हो । ‘पछिल्लो समय जुम्लाको स्याउ खेती निरन्तर विस्तार हुँदै गएको पनि छ,’ अगुवा स्याउ कृषक कविता जैसीले भनिन्, ‘कहिलेकाहीँ मौसमले साथ दिँदैन ।’
तातोपानी गाउँपालिका–४ की जैसीले स्याउ उत्पादनदेखि बिक्रीसम्मको काम गर्छिन् ।
- क्षेत्रफल र आकर्षण भने बढ्दो
उत्पादन घटे पनि जुम्लामा स्याउ खेतीप्रतिको आकर्षण भने बढेको जैसीले बताइन् । उदाहरणका लागि जैसीले एक वर्ष अघिसम्म वार्षिक १ लाखसम्मको स्याउ उत्पादन गर्थिन् । अहिले खेतीलाई विस्तार गरेर अबको ५ वर्षपछि वार्षिक १० लाखसम्म आम्दानी हुने लक्ष्य राखेको उनले बताइन् ।
जिल्लाभरको तथ्याङ्कले पनि स्याउ खेतीतर्फ आकर्षण बढ्दै गएको देखाउँछ । कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष ४ हजार ३२५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो । यो वर्ष १२० हेक्टर क्षेत्रफल बढेर ४ हजार ४४५ हेक्टरमा विस्तार भएको छ ।
यसमध्ये फल दिने स्याउको क्षेत्रफल पनि दुई हजार हेक्टरबाट बढेर दुई हजार १२५ हेक्टरमा वृद्धि भएको छ । यसले हरेक वर्ष कृषक अन्य खेतीभन्दा स्याउ खेतीतर्फ केन्द्रित भइरहेको जनाउँछ ।

पछिल्लो समय स्याउ खेतीमा संलग्न घरधुरी संख्या पनि बढेको छ । गत वर्ष १९ हजार १२५ घरधुरी स्याउ खेतीमा संलग्न रहेकोमा यस वर्ष सो संख्या बढेर १९ हजार १५० पुगेको छ । त्यस्तै बिक्री वितरणमा पनि कृषकहरूको संलग्नता उल्लेख्य मात्रामा बढेको छ । बिक्री वितरणमा लाग्नेको संख्या ७ हजार ३२५ बाट बढेर ७ हजार ३५० पुगेको छ । यस्तै व्यापारमा संलग्न कृषक ५२५ बाट बढेर ६०३ पुगेको तथ्याङ्क कृषि कार्यालयसँग छ ।
पछिल्ला केही वर्ष जुम्लामा किसानले फुजी, गालाजस्ता उच्च घनत्वका, सुधारिएका प्रजातिका स्याउ खेती गर्न सुरु गरेका छन् ।
नेपालका उच्च पहाडी क्षेत्रमा विभिन्न किसिमका अन्न तथा फलफूल उत्पादन हुने गरेको छ । कर्णालीका जुम्ला, कालिकोट, मुगु, डोल्पा लगायतका जिल्लामा स्थानीय किसानको जीविकोपार्जनको मुख्य आयस्रोतको रूपमा स्याउ खेती रहँदै आएको छ । जुम्लाबाहेक अन्य जिल्लाको स्याउ उत्पादनदेखि निर्यातको वास्तविक रेकर्ड पाइँदैन । कृषि विकास कार्यालय डोल्पाका अनुसार, यो वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।
डोल्पाबाट कुल एक सय मेट्रिक टन स्याउ बाहिरिएको बताइएको छ । डोल्पामा ५० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो । मुगु र कालिकोटमा पनि स्याउ खेती हरेक वर्ष विस्तार हुँदै गएको छ, तर खेती, उत्पादनदेखि निर्यातको विवरण कृषि कार्यालयमा पाइँदैन ।
कर्णालीको स्याउ बजारीकरणका लागि एकीकृत भण्डारण र बिक्रीको व्यवस्थापन छैन । जसले गर्दा कृषकहरूले आफूखुसी बिक्री–वितरण गर्ने गर्दछन् । देशभरको कुल स्याउ उत्पादनको ४१.२ प्रतिशत स्याउ उत्पादन कर्णाली प्रदेशमा हुने गरेको तथ्याङ्कले देखाउँछ । त्यसमा पनि सबैभन्दा धेरै जुम्लामा उत्पादन हुन्छ ।

०२४ सालमा जुम्लामा बागवानी फार्मको स्थापना भएपश्चात् सो फार्मद्वारा भारतको कश्मीरबाट स्याउको बेर्ना ल्याएर स्याउ खेतीको सुरुवात गरिएको थियो । स्थानीय किसानहरू स्याउको बगैँचा स्थापनामा लागे । बिस्तारै जुम्लामा स्याउको उत्पादन पनि बढ्यो । तथापि, बजार पहुँचको अभावका कारण आयस्रोतको दायरा भने सीमित रहेको थियो ।
०६४/०६५ सालमा कर्णाली राजमार्गको निर्माण भएसँगै जुम्ला जिल्ला सुर्खेत, नेपालगञ्ज लगायत विभिन्न बजारसँग जोडियो र योसँगै स्याउको बजारीकरणमा पनि सुधार हुँदै आएको हो ।
स्याउमा राम्रो सम्भावना देखिएपछि कृषि विकास कार्यालय जुम्लाले ०६४ सालमा ‘एक घर, एक स्याउ बगैँचा’ अवधारणा ल्यायो । सोही अनुसार अहिले जुम्लामा हरेक घर परिवार स्याउ खेतीमा आबद्ध छ । त्यस्तै, ०७३ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यक्रम लागु गरियो । उक्त परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानमा स्याउ खेती विस्तारमा टेवा पुर्याइरहेको छ ।
अहिले कर्णालीको स्याउलाई केन्द्रित गरेर कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण