बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले महाधिवेशन

प्रतिस्पर्धा स्वागतयोग्य, विधानमा जडता आवश्यक छैन : पृथ्वीसुब्बा गुरुङ

सोमबार, २९ मङ्सिर २०८२, १३ : १९
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ।
  • निर्वाचन तालिकाअनुसार मंगलबार मतदान हुने कार्यक्रम रहेको छ, र नेताहरू प्रतिस्पर्धाबाट छानिनेछन्।
  • पार्टीले विधान संशोधन र युवा प्रतिनिधित्वलाई जोड दिँदै, युवाहरूको नेतृत्व क्षमता विकास गर्नेछ।

काठमाडौँ। नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन हुँदैछन् ।

निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ। एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आइतबारदेखि बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ ।  

यसै सन्दर्भमा महाधिवेशन स्थलमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश :

  • यसमा अहिले जुन उम्मेदवारी पदाधिकारी लेभलमा प्यानल बनाएर अगाडि बढिरहेको हामी देखिरहेका छौँ, यसलाई कसरी हेर्ने?

जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा चल्ने पार्टीका लागि प्रतिस्पर्धा एकदमै स्वागतयोग्य, ग्रहणयोग्य र मननयोग्य कुरा हो। यद्यपि, हामी सर्वसम्मत नेतृत्व चयनमा विश्वास गर्छौँ। प्रतिस्पर्धाबाट जसले कार्यकर्ताको विश्वास जित्न सक्छ, ऊ नै नेता बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो।

खासगरी पार्टी चलाउने हो भने नेताहरू आफ्ना कार्यकर्ता र सदस्यहरूबाट अनुमोदित तथा निर्वाचित हुनुपर्छ। राज्य वा सरकार चलाउने हो भने जनताबाट निर्वाचित र अनुमोदित हुनुपर्छ। यो नै जनताको बहुदलीय जनवादको सिद्धान्त हो। यो सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्नका लागि प्रतिस्पर्धा उपयुक्त माध्यम हो। यद्यपि, सर्वसम्मत हुन सके धेरै राम्रो हुन्छ, तर त्यसो नहुँदा प्रतिस्पर्धा हाम्रो लोकतान्त्रिक विकल्प हो।

  • नेकपा एमालेले विधान महाधिवेशन गरेर आफ्नो विधानमा संशोधन गरेका विषयहरू अहिलेको महाधिवेशनमा फेरि उल्ट्याइएको छ। यसले त विधान महाधिवेशनको औचित्यमाथि नै प्रश्न उठ्ने ठाउँ रहेन ?

होइन, प्रश्न उठ्दैन। विधान महाधिवेशनले पारित गरेका कुराहरू कुनै धर्मग्रन्थको दफा/उपदफा होइनन्, जसमा फेरबदल गर्न नसकियोस्। यो त हामीले बनाएको विधान हो।

हामीले बनाएको वैधानिक व्यवस्थामा तत्काल कुनै समस्या आइपर्‍यो भने त्यसमा 'बाधा अड्काउ फुकाउने' अधिकार केन्द्रीय कमिटीलाई दिइएको छ। विधान महाधिवेशनबाट पारित भए पनि परिआउँदा तत्काल त्यसलाई संशोधन गर्नु वा गतिशील बनाउनु आवश्यक हुन्छ। जडताले बाटो देखाउन सक्दैन वा छेक्न सक्छ। त्यसैले त्यसलाई गतिशील बनाउन हामीले बाधा अड्काउ फुकाउने काम गरेका हौँ।

  • अहिले नेकपा एमालेले केन्द्रीय समितिमा युवाहरूलाई कसरी समेट्दै छ?

हामीले सबै प्रदेशहरूबाट युवाहरूको सिट निर्धारण गरेका छौँ। त्यस्तै, सबै सामाजिक क्लस्टरहरू (आदिवासी जनजाति, मधेसी, दलित लगायत) मा पनि युवाहरूको प्रतिनिधित्व सुरक्षित गरेका छौँ।

यसका साथै खुला क्षेत्रमा पनि युवाहरूको व्यवस्था छ। कुल सङ्ख्याको न्यूनतम ५ प्रतिशत ४० वर्ष मुनिका युवा कमरेडहरूका लागि छुट्ट्याइएको छ, जसमा उहाँहरूले प्रतिस्पर्धा गर्न सक्नुहुनेछ। यो हाम्रो पार्टीको विधानमा गरिएको पहिलो प्रबन्ध हो। यसले पार्टीमा नव–युवाहरूको भावना समेट्ने र उनीहरूको नेतृत्व क्षमतालाई स्थापित गर्ने काम हामी गर्दैछौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप