बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सञ्चालनमा आएन ‘सभागृह’

सोमबार, २९ मङ्सिर २०८२, २३ : १४
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • कञ्चनपुरको महेन्द्रनगरमा साढे ६ वर्षअघि बनेको सिटीहल अझै सञ्चालनमा आएको छैन ।
  • सुविधा सम्पन्न भएर पनि प्रयोगविहीन हुँदा सभागृह जीर्ण बन्दै गएको छ ।
  • सभागृह सञ्चालनका लागि काम भइरहेको र कार्यदल गठन भएको सूचना अधिकारीले बताए ।

महेन्द्रनगर। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा साढे ६ वर्षअघि निर्माण सम्पन्न भएको सभागृह (सिटीहल) अझै सञ्चालनमा आउन सकेको छैन ।

विसं २०७५ मा निर्माण सम्पन्न भएको तीनतले सुविधा सम्पन्न सभागृह प्रयोगविहीन हुँदा जीर्ण बन्न थालेको छ ।

‘अन्डरग्राउन्ड पार्किङ’ सहितको तीनतले सुविधा सम्पन्न सभागृहमा तीन वटा हलको सुविधा पनि छ । भीमदत्त नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साँढे पाँच बिघा जमिन क्षेत्रफलमा सभागृह तयार छ । जिल्लामा हुने सभा, सम्मेलन तथा कार्यक्रमको सहजताका लागि निर्माण गरिएको थियो ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिले रु आठ करोडको लगानीमा निर्माण गरेको सभागृह हाल भीमदत्त नगरपालिकाको मातहत छ । भीमदत्त नगर विकास समितिको अध्यक्षमा नगर प्रमुख रहने प्रावधान छ ।

नगरपालिकाको नेतृत्वले चासो नदिँदा करोडौँ लगानीमा निर्माण भएको सभागृह जीर्ण बन्दै गएको स्थानीयवासीको गुनासो छ । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामी भने सभागृह सञ्चालनका लागि काम भइरहेको बताउँछन् । उनले भने, “निर्माण कम्पनीले नगर विकास समितिलाई सभागृह हस्तान्तरण गरिसकेको छ । प्रतिवेदन तयार गरी सञ्चालन गर्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलको सुझावअनुसार अघि बढ्ने गृहकार्यमा छौँ ।”

अपाङ्गमैत्री सभागृहमा एक हजार जना अटाउने क्षमता रहेको छ । विसं २०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी सम्झौता भएकामा धेरै वर्षपछि सभागृह सम्पन्न भयो । सञ्चालनमा पनि थप समय लागेको भन्दै धेरैले असन्तुष्टि जनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप