नेतृत्वका लागि ओली-पोखरेल प्रतिस्पर्धा : के भन्छन् युवा प्रतिनिधि ?
काठमाडौँ । नेकपा एमालेको भावी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । भृकुटीमण्डपमा तीन दिनदेखि जारी एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र पोखरेल प्रतिस्पर्धामा उत्रिएका हुन् । जेनजी विद्रोहका कारण एक वर्षअघि नै हुन लागिएको यस महाधिवेशनलाई निकै चासो साथ हेरिएको छ ।
ओली दुई पटक अध्यक्ष र पाँच वर्षभन्दा बढी प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । पोखरेल दुई पटक महासचिव, एक पटक वरिष्ठ नेता र पटक-पटक मन्त्री भएका व्यक्ति हुन् । उमेरको हिसाबले ओली र पोखरेल एउटै उमेर समूहका रहेका छन् । ओली अहिले ७४ वर्षका भए भने पोखरेल ७२ वर्षका भए ।
नेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणको आवाजभित्र र बाहिर जोडतोडले उठिरहेको बेला ओली र पोखरेलले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार २६३ प्रतिनिधि बन्दसत्र हलमा जम्मा भएका छन् । उनीहरूले आ–आफ्ना प्यानलका उम्मेदवारहरूलाई मत मागिरहेका छन् । निर्वाचन आयोगले बिहान उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । प्राविधिक रूपमा परीक्षण सफल भएमा दिउँसो १ बजेबाट मतदान सुरू हुने आयोगको भनाइ छ ।
बन्दसत्र हलमा देखिएका सर्लाहीकी अञ्जना सिवाकोटीले अध्यक्षमा ओलीको विकल्प नभएको जिकिर गरिन् । अनुभव, सक्रियता, इच्छाशक्तिको हिसाबले पनि उनी युवाभन्दा केही कम नभएको बताइन् ।
‘एमाले अध्यक्षमा अहिले केपी ओलीको विकल्प छैन । हिजो प्रतिनिधि बनेका मान्छे आज नेतृत्वमा आउने सम्भावना हुँदैन । त्यसको छुट्टै विधि र प्रक्रिया छ,’ उनले भनिन्, ‘नेतृत्व विकास तत्कालै हुने विषय होइन । एमाले हिजो खोलेको पार्टी हो र ? विस्तारै संगठित हुँदै नेतृत्वमा पुर्याइन्छ नि । उमेर भन्दा पनि उसको क्षमता महत्त्वपूर्ण कुरा हो । म उमेरले युवा भएपनि ओली जतिको सक्रिय, इच्छाशक्ति, जोस अन्यमा देख्दिनँ ।’
एमालेले युवा जनशक्तिलाई पार्टीको महत्वपूर्ण समितिमा यथोचित प्रतिनिधित्व नगराएको आरोपको पनि सिवाकोटीले खण्डन गरिनन् । एमाले देशका सबै वर्ग समुदाय, जातजाति अटाउने विशाल पार्टीको उनको भनाइ छ ।
‘हरेक युवा, वर्ग, भाषा र जातिको भावना समेट्न सक्ने पार्टी एमाले हो । आम नवयुवा पुस्ताको माग सम्बोधन एमालेले नै गर्नेछ । हामीले हरेक क्लस्टरमा युवालाई समेटेका छौँ । युवाको छुट्टै क्लस्टर छ । ४० वर्षमुनिका युवालाई पार्टीले सम्बोधन गरेको छ’, उनले भनिन्, ‘अहिलेसम्म कुन पार्टीले युवालाई छुट्टै सम्बोधन गरेको छ ? एमालेले आजको आन्दोनल होइन हिजोदेखि नै युवा क्लस्टर बनाएर प्रतिनिधित्व गरेको छ । यसपटक केन्द्रीय समितिमा नेतृत्व विकासका लागि अधिकतम युवालाई समेटेको छ । खुलामा जसले पनि प्रतिस्पर्धा गर्न पायो । यी बाहेक अन्य समावेशी क्लस्टरमा पनि युवा आउने सम्भावना छ ।’
अर्का प्रतिनिधि गोविन्द चौरसिया ओली पार्टीको मात्रै नभएर देशकै आवश्यकता भएको जिकिर गर्छन् । मतदानका लागि महोत्तरीबाट आएका उनले भने, ‘केपी ओली जस्तो भिजन भएको मान्छे कुनै पार्टीमा पनि छैन । उहाँले नेपालमा कायपलट गर्ने क्षमता छ । पार्टीको निर्विरोध अध्यक्ष हो ।’
२०७९ सालमा वडाध्यक्षमा समेत निर्वाचित भएका उनले एमाले कुनै नदी नभई समुन्द्र भएको दाबी गरे ।
‘जतिसुकै राम्रो गरेपनि बाहिरको मान्छेले टीकाटिप्पणी गर्छन् । युवालाई नेतृत्व दिएन रे । युवा संघ छँदैछ । विद्यार्थी संगठन छ । जनसंगठन थुप्रै छन् । युवाको भरपूर्ण उपस्थिति छ’, उनले जिकिर गरे ।
मनाङबाट प्रतिनिधि बनेर आएका मदन गुरुङले पनि अहिलेको अवस्थामा ओलीको विकल्प नभएको जिकिर गरे ।
‘राष्ट्र र राष्ट्रियतालाई जोगाउन केपी ओली निर्विकल्प हो । त्यसैले अहिले निर्विकल्प अध्यक्ष भनेको पनि ओली नै हो । पार्टीलाई थप बलियो बनाउन विधान संशोधन भएको हो’, उनले भने ।
एमालेले युवाहरूलाई समेट्ने कोसिस गरिराखेको भन्दै उनले आगामी दिनमा पनि युवाहरू अझ अगाडि बढेर आउने विश्वास व्यक्त गरे । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट राज्यसत्ता गुमाउनु परेपनि उनीहरूले उठाएको माग सम्बोधन एमालेले नै गर्न सक्ने उनले दाबी गरे ।
जाजरकोटबाट आएकी पञ्चमी रेग्मीले पनि अहिले पार्टी अध्यक्षमा ओलीको विकल्प नभएको जिकिर गरिन् ।
‘सकेसम्म सर्वसम्मत रुपमा केपी ओली अध्यक्ष बनेको हेर्न चाहेका छौँ । ओलीको नेतृत्व हामीले भन्दा पनि देशले मागेको हो । हामी सबै प्रतिनिधिको मनोभावना के छ ? त्यसको आधारमा चल्नुपर्छ । सर्वसम्मत नभए मतदानमार्फत ओलीलाई नै छान्ने हो ।’
युवालाई समेट्ने कुरामा एमाले सधैं अग्रस्थानमा रहेका रेग्मीको भनाइ छ । ‘म आफैं युवाको प्रतिनिधित्व गरेर आउन पाउँदा एकदमै खुसी लागेको छ । जेनजी आन्दोलन भएर मात्रै होइन, पहिलेदेखि नै युवालाई प्राथमिकता दिँदै आएको छ’, उनले भनिन्, ‘आगामी दिनमा पनि प्राथमिकता दिनेछ । सबै प्रदेशमा युवा क्लस्टर छुट्याइसकेका छौँ । यी बाहेक ४० वर्षमुनिका युवाले खुलामा पनि प्रतिस्पर्धा गर्न पाइन्छ ।’ रेग्मीले युवा खुला प्रतिस्पर्धामा केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दिएकी छिन् ।
केन्द्रीय समिति सदस्यमा पहिलो पटक डेब्यु गर्न लागेकी चर्चित युवा वकिल राधिका खतिवडाले ओलीको विकल्प नभएको जिकिर गरिन् । जनताले धेरै माया गरेको लोकप्रिय पार्टी र त्यसको नेतृत्व ओली नै भएको उनको दाबी छ । आफू केन्द्रीय समितिमा आउने कुरा नै एउटा चुनौतीपूर्ण र गौरवपूर्ण विषय भएको उनले बताइन् ।
‘समाज, पार्टी कार्यकर्ता र विशेषगरी महाधिवेशन प्रतिनिधिको माग अनुरुप निर्माण हुने कुरा हो । जेनजी विद्रोहपछि पनि एमाले जनताको बिचमा एउटा लोकप्रिय पार्टी हो भन्ने कुरा उद्घाटन सभाले स्थापित गरेको छ । अहिले पुरानै नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ, ओलीको विकल्प खोज्ने बेला भएको छैन ।’
देशको कानुन र पार्टीको विधान पनि आवश्यकताको अनुसार निर्धारण हुने भएकाले जनताको प्रतिनिधि र हलको आवश्यकताले विधान बन्ने कुरा भुल्न नहुने खतिवडाको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण