बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले महाधिवेशनः गण्डकीका ७ सांसद केन्द्रीय नेतृत्वमा, खगराज बने सचिव

बिहीबार, ०३ पुस २०८२, २१ : ३५
बिहीबार, ०३ पुस २०८२

पोखरा । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । निर्वाचनमा दुई प्यानल र केही स्वतन्त्र उम्मेदवारहरू समेत प्रतिस्पर्धामा थिए ।

निर्वाचन परिणामअनुसार अधिकांश स्थानमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल विजयी भएको छ । गण्डकीमा ओली प्यानलले 'क्लिन स्वीप' नै गरेको छ भने निकटस्थ रहेर पराजित हुनेहरू पनि ओलीनिकट नै रहेका छन् । 

यस महाधिवेशनमा एमाले गण्डकीका २२ सांसदमध्ये ९ जना उम्मेदवार बनेकामा ७ जना विजयी भए । पदाधिकारीमा निर्वाचित खगराज अधिकारी एमाले संसदीय दलका नेता हुन् । उनी सचिव पदमा उत्कृष्ट मतसहित विजयी भएका छन् । 

लिलबहादुर थापा आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुँदा गोविन्दबहादुर नेपाली दलित क्लस्टरबाट निर्वाचित भए । खुला महिला केन्द्रीय सदस्यमा यशोदा रिमाल, देवका पहारी र सीताकुमारी सुन्दासले जित दर्ता गरे । केन्द्रीय लेखा आयोगको सदस्यमा मन्त्रीसमेत रहेकी पद्मा जिसी विजयी भइन् । 

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका भीमबहादुर कार्की र रोशन गाहा थापा भने पराजित भएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित मन्जुदेवी गुरुङ पोखरा महानगरकी उपमेयर हुन् । नवराज ओझा गाउँपालिका राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष हुन् उनी रुपा गाउँपालिकामा दोस्रो पटक अध्यक्ष निर्वाचित भएका थिए । 

खिमबहादुर थापा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय महासचिव हुन् । उनी कालीगण्डकी गाउँपालिका अध्यक्षका रूपमा कार्यरत छन् । महाधिवेशनबाट निवर्तमान सांसदहरू पनि धेरै संख्यामा निर्वाचित भएका छन् । आदिवासी जनजाति क्लस्टरबाट जितेका चन्द्रमोहन गौचन, महिलाबाट निर्वाचित नरदेवी पुन, सावित्रा राना तथा खुलातर्फका किरण गुरुङ, राजीव पहारी, प्रभा कोइराला र रामशरण बस्नेत पूर्व प्रदेश सभा सदस्य हुन् । 

त्यसो त उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङ गण्डकीका पूर्वमुख्यमन्त्री हुन् । पराजित भएका मित्रकुमारी सुवेदी गुरुङ र सिर्जना शर्मा पनि पूर्वसांसद हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप