गण्डकी कांग्रेस : पुरुष जति प्रत्यक्षमा, महिला समानुपातिक उम्मेदवार सिफारिस
पोखरा । नेपाली कांग्रेस गण्डकीले आगामी चुनावमा प्रतिस्पर्धा गर्न चाहनेहरुको नाम आकांक्षीका रुपमा संकलन गरेको छ । जिल्लाका क्षेत्रबाट नाम संकलन गरेर जिल्ला हुँदै प्रदेशमा नाम पठाइएको छ ।
मनाङ र मुस्ताङको प्रतिनिधिसभा प्रत्यक्षतर्फको नाम टुंगिएको छैन । त्यसबाहेक सबै क्षेत्रबाट नाम संकलन भइसकेको कांग्रेसको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । कार्यालयमा संकलन भएको नाम अनुसार प्रत्यक्षतर्फका चुनावमा पुरुष हाबी भएका छन् भने महिलाहरु समानुपातिकतर्फको निर्वाचनमा बढी आकांक्षी देखिएका छन् ।
प्रत्यक्षतर्फ १६३ जनाको नाम सिफारिस हुँदा महिला जम्मा १५ जना छन् । गोरखा क्षेत्र नम्बर १ बाट जानुका पन्त, कास्की १ बाट अप्सरा श्रेष्ठ र सरिता कार्की (लोभिसा), २ बाट लक्ष्मी पाण्डे र लक्ष्मी कार्की, ३ बाट सीता गुरुङको नाम सिफारिस भएको छ । यस्तै, तनहुँ १ बाट सरिता गुरुङ, नवलपुर १ बाट सरस्वती तिमिल्सिना, स्याङजा १ बाट बन्दना लम्साल, २ बाट माया राना, बागलुङ १ बाट सीता देवी सापकोटा, २ बाट अधिवक्ता गीता श्रीस काउचा तथा पर्वतबाट सीता काफ्ले, राधा कुवँर क्षेत्री र मुना भुसालको नाम सिफारिस भएको छ ।
समानुपातिकमा भने ६३ जनाको नाम क्षेत्रबाट जिल्ला हुँदै प्रदेशमा सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा गण्डकीको कुनैपनि निर्वाचन क्षेत्रबाट कांग्रेसका महिला प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिएनन् । राष्ट्रियसभामा पनि ५० जनाको नाम संकलन गर्दा महिला ७ जनाले मात्रै आकांक्षा देखाएका छन् । राष्ट्रियसभामा गण्डकीबाट खुला १ जना र महिलाबाट १ जनाको सिट रिक्त हुँदैछ । त्यसका लागि कांग्रेसले उम्मेदवार खोजी गरेको हो ।
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षमा गण्डकीका १८ वटा निर्वाचन क्षेत्र छन् । ७ क्षेत्रबाट महिलाको नाम सिफारिस नै हुन सकेन । म्याग्दी, नवलपुर-२, तनहुँ-२, लमजुङ र गोरखा-२ बाट कोही पनि महिला उम्मेदवार सिफारिस भएका छैनन् । मनाङ र मुस्ताङले पनि महिलालाई टिकट दिने सम्भावना देखिँदैन । त्यसमाथि दलित र अन्य क्लस्टरबाट महिलाको उपस्थिति लगभग छैन । आदिवासी जनजातिबाट ५ जनाको नाम छ भने १० जना खस आर्य समुदायका हुन् । दलित क्लस्टरबाट प्रत्यक्ष आकांक्षी छैनन् । कास्की-१ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने महिलालाई उम्मेदवारी दिनका लागि प्रोत्साहन गरेपनि उनीहरुले नै आकांक्षा नदेखाएको दाबी गर्छन् ।
‘हामीले खुला छोडेर उम्मेदवारको नाम संकलन गरेका हौं । कसैले कसैलाई अवरोध गरेको अवस्था छैन,’ उनले भने, ‘कसैलाई त नाम टिपाउनुस्, चुनाव लड्नुपर्छ भनेर पनि प्रोत्साहन गरेका हौं । तर अपेक्षाकृत आकांक्षी आएनन् ।’ प्रतिनिधिसभातर्फ नै एमालेबाट कास्की-२ मा विद्या भट्टराई प्रत्यक्ष चुनाव लडेर निर्वाचित भएकी थिइन् । अन्य सबै क्षेत्रमा पुरुष निर्वाचित भएका हुन् ।
पुराना र स्थापित राजनीतिक दलहरुले महिलालाई २०७९ कै निर्वाचनमा पनि टिकट दिएको थिएन । प्रदेशसभातर्फ एमालेबाटै दुई जनाले प्रत्यक्ष निर्वाचन जितेर आएका छन् । स्याङ्जाबाट सीताकुमारी सुन्दास र नवलपुरबाट पद्या जिसी श्रेष्ठले प्रत्यक्ष निर्वाचन जिते । त्यसो त पालिकामा पनि महिलाले नेतृत्व गरेको अवस्था धेरै छैन । नवलपुरको हुप्सेकोट गाउँपालिकामा लक्ष्मीदेवी पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित हुँदा बागलुङको बडीगाड गाउँपालिकामा गण्डकी थापा निर्वाचित भइन् । पर्वतको मोदी गाउँपालिकामा हिरादेवी शर्माले चुनाव जितिन् । पाण्डे र थापा कांग्रेसका हुन् भने शर्मा एमालेबाट ।
महिलाहरुमा प्रत्यक्ष चुनाव लड्न सुरुदेखि नै मनोवैज्ञानिक त्रास भरिएको गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष सिफारिस भएकी जानुका पन्त बताउँछिन् । ‘सक्षम भएको मान्छेलाई पनि टिकट पाइँदैन भन्ने मानसिकताले घर गरेको छ । फिल्डमा जाँदा महिला–महिला प्रतिस्पर्धा भए ठिकै छ, नत्र पुरुषसँग लड्न कहाँ सकिन्छ र भन्ने धारणा पनि भेटिन्छ,’ उनले भनिन्, ‘एक त महिला आफैं तयार छैनन् । अर्को कुरा तयार भएका महिलाहरुलाई पनि मनोवैज्ञानिक रुपमै कमजोर बनाउने काम गरिन्छ ।’
पूर्व सांसद तथा नवलपुरकी कांग्रेस नेतृ ओमकला चालिसे टिकट नपाउने देखेर नै महिलाहरुले आफ्नो नाम प्रत्यक्षमा नटिपाएको बताउँछिन् । ‘पार्टीले एक ठाउँमा मात्रै नाम सिफारिस गर्न भनेर परिपत्र पठाएको छ । प्रत्यक्ष टिकट पाइँदैन भनेर महिलाहरुले समानुपातिकमा मात्रै टिपाए,’ उनले भनिन्, ‘पुरुष नेताहरुले जरा गाडेर बसेका छन् । सजिलै टिकट पाउने अवस्था पनि छैन । यस्तो अवस्थामा जोखिम मोल्न नचाहेका हुन् ।’ उनी २०६४ मा नवलपुरबाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण