बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा
सारांश
- बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा पुगेको छ, जसमा ७५ प्रतिशत काम पूरा भइसकेको छ।
- यो सडक स्तरोन्नति गर्नका लागि २०८१ सालमा ठेक्का सम्झौता भएको थियो, जसको अवधि दुई वर्षको छ।
- निर्माण कम्पनीका अनुसार समयमै योजना सम्पन्न गर्न पर्याप्त जनशक्ति र सामग्रीको व्यवस्थापन गरिएको छ।
म्याग्दी। जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा पुगेको छ । हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडकको किराखोर–नेप्टेचौर–तोरीपानी खण्डको स्तरोन्नतिका लागि सञ्चालित योजना निर्धारित समयअगावै सम्पन्न हुने चरणमा पुगेको हो ।
चार किलोमिटर दूरीको सडक ग्राभेल, ढलान र कालोपत्रे गरी स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबिच २०८१ साल जेठमा रु १० करोड १६ लाख एक हजार ३६४ मा ठेक्का सम्झौता गरेको थियो ।
दुई वर्ष ठेक्का अवधि रहेको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय प्रमुख डा महेन्द्र बानियाँले बताउनुभयो । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म करिब दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्रे गर्नुपर्नेमा एक किलोमिटर बढी भइसकेको छ ।
नेप्टेचौर–तोरीपानी खण्ड ग्राभेल गर्न आवश्यक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले निर्धारित समयअगावै योजना सम्पन्न गराउन पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताए।
विसं २०५६ मा तत्कालीन जिल्ला विकास समितिले ट्र्याक खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण