बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई प्रभु साहको चेतावनी : सयथरि कुरा गरेर देशको समय बर्बाद नगर्नुस्

आइतबार, ०६ पुस २०८२, १७ : ३८
आइतबार, ०६ पुस २०८२

सिराहा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारको नेतृत्व नै लुते भएको कारण नै चौतर्फी आक्रमणको शिकार भएको टिप्पणी गरेका छन् ।

जेनजी जनविद्रोहको जगमा बनेको सरकारले आफ्नो मूल दायित्व नै बिर्सिएको कारण अहिले परिवर्तन नचाहने तत्त्वहरूको प्रहार सहनुपरेको साहको दाबी छ ।

सरकार बनेको एक सय दिन बित्न नपाउँदै विकल्प खोज्ने कुरा उठ्नु वर्तमान सरकारको असफलतासँग जोडिएको साहको भनाई छ । 

उनले भने,‘यो सरकार ठिक दिशामा हिँडेको भए र आफ्नो मूल दायित्व पूरा गर्नतर्फ गम्भीर बनेको भए आज एक सय दिन नपुग्दै विकल्प खोज्ने कुरा उठ्थ्यो त ? यो गम्भीर प्रश्नको विषय हो ।’

आज (आइतबार) सिराहको धनगढिमाई बजारमा आयोजित सिराहा क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारमा बसेकाहरूले तोकिएको मितिमा चुनाव गराउने दायित्व भुल्न थालेको र रंगीबिरंगी खेलोफड्कोमा अल्झिएको आरोप लगाए ।

उनले निर्दलीय सरकारमा बसेर कुलमान घिसिङले आफ्नो स्वार्थको रोटी सेकिरहेको र सत्ताको दुरुपयोग गरेर आफ्नो पार्टीको प्रचारमात्रै गरेको भन्दै मन्त्रीको जिम्मेवारीबाट घिसिङलाई तत्काल बर्खास्त गर्न पनि प्रधानमन्त्रीसमक्ष माग गरे ।

उनले भने,‘कुलमानकै महत्त्वाकाङ्क्षाका कारण यो सरकारलाई जेनजी आन्दोलनमा दमन गरेका हत्याहरुले पनि हेप्न थाले, अहिले त खुलेआम चुनाव हुन दिन्नौँ भनेर धम्की दिन थालेका छन्, यो अवस्था कसरी सिर्जना भयो ? प्रधानमन्त्रीले गम्भीर कदम चाल्नुपर्छ । निर्दलीय सरकारमा बसेर दल खोल्ने र रातारात हिरो हुन्छु भनेर लोभ पालेर बसेका कुलमानहरूको कारण सरकार बदनाम भइरहेको छ, यसतर्फ प्रधानमन्त्रीले कदम चाल्नुपर्छ । दल खोल्ने र राजनीतिको रोटी सेक्ने इच्छा देखाएका कुलमानलाई बिदा गर्नुपर्छ । देशको विकास निर्माणसँग प्रत्यक्ष जोडिएका तीन तीन वटा महत्त्वपूर्ण मन्त्रालयको चाबी कसको दबाबमा सुम्पिनुभयो ? उहाँ जेनजीको भावनाअनुसार चल्नुभएको छ त ? कि कसैको इशारामा नाच्दै हुनुहुन्छ ?’ 

मन्त्री घिसिङले कतिपय आयोजनाको निरीक्षण गर्ने क्रममा धम्कीको भाषा बोल्ने गरेको र समयमा आयोजना नसके यो धर्तीमा नै रहन नदिने भनेर बोलेकोमा पनि साहले आपत्ति जनाए ।

उनले वर्तमान सरकारले एक सय दिन पुगेको अवसरमा कामको फेहरिस्त सुनाउन थालेकोमा पनि आपत्ति जनाए । उनले सय दिनमा सयथरि कुरा गरेर समय व्यतीत नगर्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिए । साहले चुनाव गराउने दायित्व पूरा नगर्ने हो भने बेलैमा मार्ग प्रशस्त गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले भने,‘तपाई दिन बिताउने मेसोमा मात्रै लागेको हो भने यो हामीलाई मान्य छैन, न त अहिलेसम्म जेनजी आन्दोलनका शहादत दिएकाहरूलाई न्याय दिन सक्नुभयो, उनीहरूको हत्याहरू अहिले पनि देश र दुनियाँ अनि जनता धम्क्याउँदै हिँडेका छन्, तर तपाईँहरू कानमा तेल हालेर र हात बाँधेर बस्नुभएको छ, यसरी जेनजी आन्दोलनका सहिदहरूलाई न्याय हुन्छ ? अर्को, चुनाव गराउने दायित्व पनि पूरा गरेको देखिँदैन, अहिलेसम्म लुटिएका हतियार फिर्ता ल्याउन सक्नुभएको छैन, गम्भीर अपराधका कैदीबन्दीहरु फरारकै अवस्थामा छन्, फिर्ता ल्याउन सक्नुभएको छैन, नसक्ने हो भने देशको समय बर्वाद नगर्नुहोस् र सङ्कटको घडीमा सक्षम व्यक्ति ल्याएर भए पनि चुनाव गराउँछौँ ।’ 

उनले सुशीला कार्कीहरूले जेनजी आन्दोलनको मर्म र भावनामाथि बारम्बार प्रहार गरेको भन्दै आलोचना गरे । जेनजीहरुले ओली–आरजुलाई सरकारबाट हटाएर सुशीला–कुलमानलाई विराजमान गर्नको लागि मात्रै आन्दोलन नगरेको साहको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप