नेपालको विकृत राजनीति ल्याएर परदेशको समाज भाँड्ने काम नगरौँ
सारांश
- अमेरिकामा नेपाली समुदायका संस्थाहरूमा नेपालको राजनीतिक विकृति देखिएको छ, जुन चिन्ताजनक छ।
- संस्था सञ्चालकहरू नेता बन्ने दौडमा लागेको र समुदायको सेवाभन्दा शक्ति प्रदर्शनमा केन्द्रित भएको पाइन्छ।
- कानुनको उल्लंघन, व्यक्तिगत डेटाको दुरुपयोग, र नयाँ पुस्तामाझ नेपाली समाजप्रति नकारात्मक धारणा बढ्दै गएको छ।
प्रसङ्ग सुरु गरौँ, अमेरिकाको टेक्सासमा आफैँले अनुभूत गरेको एउटा अनौठो तर गहिरो यथार्थबाट। अमेरिका आएको पनि केही वर्ष बितिसक्यो। नेपालमै हुँदा विदेशमा रहेका नेपालीहरूको संघ-संस्थाबारे यदाकदा सुन्ने गरिन्थ्यो । तर विस्तारमा त्यसबारे बुझ्ने आवश्यकता नभएरै होला धेरै ध्यान दिएको भने थिएन ।
परदेशमा आइपुगे पछि कुनै न कुनै रूपमा यस्ता संस्थाहरू जोडिन आइपुग्ने रहेछन् । सबै नेपालीलाई समेट्ने दाबी गर्ने ‘एनआरएनए’ देखि लिएर विभिन्न नाम, झण्डा, लोगो र नाराले सजिएका अनेक संस्था विदेशी भूमिमा सक्रिय छन्। नेपालका राजनीतिक दलसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने संगठनहरू पनि उस्तै सक्रिय देखिन्छन्। झट्ट हेर्दा यी सबै कुरा सामान्य जस्ता लाग्थे। तर आफैँ यही समाज भित्र सहभागी हुन आइपुग्दा भने फरक यथार्थसँग साक्षात्कार भयो । यो सामान्य विषय होइन रहेछ ।
विदेश आएपछि आफ्नो बसोबास रहेको ठाउँमा नेपाली संस्थासँग जोडिन खोज्नु स्वाभाविकै मान्नुपर्छ । मर्दा-पर्दा, सुख-दुःख, चाडपर्व, दुर्घटना, मृत्यु र जीवनका साना-ठुला मोडमा नेपाली समाज चाहिन्छ । सामान्यतः संस्था आफैँमा गलत हुँदैन। कतिपय संस्थाले प्रशंसनीय काम पनि गरेका छन् । स्थानीय समुदायमा योगदान पनि पुर्याएका छन्।
आफ्नो कल्पना विपरीत केही संस्थाहरू विकृत भएको देख्दा भने साह्रै खिन्न मन हुने रहेछ । नेपालको विकृत राजनीति गहिरोसँग विदेशी भूमिमा पनि गाडिइसकेको रहेछ । संस्थाहरू रूपमा समुदायको सेवा गर्ने नाममा खोलिएका देखिन्छन् तर व्यवहारमा भने त्यहाँ शक्ति प्रदर्शन र सत्ता कब्जाको अभ्यास भइरहेको हुने रहेछ। नेपालको राजनीतिक ध्वनि प्रदूषणबाट वाक्क-दिक्क भएर विदेश आएका नेपालीले यहाँ पनि त्यही कोलाहल, त्यही विभाजन, त्यही घृणा र अहङ्कार भोग्नुपर्ला भन्ने मलाई लागेको थिएन ।
प्रसङ्ग मैले माथि सङ्केत गरेको संस्थाको हो । त्यसको चुनावको सुरु भयो। तर त्यो सामाजिक संस्थाको चुनाव जस्तो पटक्कै थिएन। प्रचार हेर्दा लाग्थ्यो-यहाँ त सरकार बनाउने वा ढाल्ने तयारी हुँदैछ। पक्ष-विपक्ष, 'प्यानल', घोषणासभा, नारा, 'फोन कल', 'म्यासेज', सामाजिक सञ्जालमा गालीगलौज जस्ता गतिविधि खुलेआम चलिरहेका थिए। उनीहरू संस्था चलाउनेभन्दा बेसी नेता बन्ने दौडमा थिए। उनीहरूलाई यस्ता संस्थाहरू नेता बन्ने ठाउँ होइनन् भन्ने हेक्का नभएको भान हुन्थ्यो । नेता बन्न त राजनीतिक पार्टी खोल्नुपर्थ्यो। संस्था भनेको समुदाय जोड्ने पुल हो । यहाँ त पुल भत्काएर दुवै किनारमा उभिएर एक-अर्कालाई ढुङ्गा हान्ने अभ्यास चलिरहेको छ। उद्देश्य र अभ्यासबिच कुनै तालमेल देखिँदैनथ्यो।
विदेशी भूमिमा बसेर नेपाली-नेपालीबिच यति धेरै वैमनस्य किन गरेको होला ? एक–अर्कालाई मार्ने–मराउने सम्मको राजनीतिक युद्ध किन चलाइएको होला ? यस्तै प्रश्नले मेरो मस्तिष्कमा घर गरे । नेपालको राजनीतिक ध्वनि प्रदूषण यहाँ विदेशमा आएर पनि सहनुपर्दा मलाई असह्य भयो। आफ्नो पीडाजनक अनुभूति सुनाउँदा धेरैले हाँसेर भने 'तपाईं पहिलो पटक हो यहाँ ? हामीलाई त बानी परिसक्यो'। त्यस्तो वाक्यले मलाई अझ गहिरो गरी झस्कायो।
असामान्य कुरा कसरी सामान्य बनाइयो ? कति वर्षदेखि यस्तो हुँदै आएको छ ? विभाजन, गाली, दादागिरी र अवैधानिक गतिविधि पनि कसरी सामान्य लाग्न थाल्यो ? यस्ता प्रश्नले मलाई निरन्तर घोचिरहे। विदेशी भूमिमा त्यो पनि सामाजिक संस्था भन्ने नाममा यति ठुलो विकृति तथा नेपाली-नेपालीलाई विभाजन गर्ने शैलीको विरुद्ध किन कोही नबोलेको होला ! के यही नै हाम्रो नियति हो त ? के हामी जहाँ गए पनि नेपालकै सबै रोग बोकेर हिँड्न बाध्य छौँ त? यी प्रश्नले झकझकाइरहे ।
यस्ता प्रसङ्ग र प्रश्नहरू बेवास्ता गर्दा पनि नहुने पक्कै होइन । तर आफ्नै समुदायको संस्थालाई पूर्ण रूपमा बेवास्ता गर्नलाई आफ्नो स्वभावले दिएन। जति बेवास्ताको प्रयास गरे पनि वरिपरि आफ्नै समुदायमा भइरहेको गतिविधि अन्देखा गर्न सकिँदैन। नेपाल र नेपालीको नाम जोडिएपछि त्यसबारे चासो राख्नु केवल चाहना मात्रै होइन जिम्मेवारी पनि हो।
स्थिति यतिसम्म पुगेको देखियो,विदेशमा आफू बसोबास गरिरहेको देशको कानुनसम्म नमानेको अवस्था पाइयो । मोबाइलमा राजनीतिक म्यासेजहरू आउँछन् । अपरिचित 'नम्बर'बाट भोट माग्ने सन्देश आउँछन् । लाग्थ्यो, यहाँ त सरकार नै उल्टिन लाग्दैछ। न उनीहरूलाई कानुनको डर छ न मर्यादाको सीमाकै ख्याल छ । केवल एउटै अपेक्षा छ । सबैले उनीहरूलाई ‘नेताजी’ भनेर मान्नै पर्ने आग्रह छ ।
चुनावको तामझामका हेर्दा कुनै सामाजिक संस्थाले यस्तो सम्म गर्छ भन्ने विश्वास गर्नै गाह्रो हुन्छ। नेपालमा राजनीति गर्न पाएको, नेता बन्न नपाएको, कार्यकर्ता भएर पनि उन्माद पूरा गर्न नपाएको कुण्ठा यहाँ पोखिएको स्पष्ट देखिन्थ्यो। झट्ट देख्दा यो सानो स्थानीय समाजको कथा जस्तो लागे पनि वास्तविकता भने ज्यादै फराकिलो छ। विदेशका प्रायः सबै नेपाली समुदायको अवस्था यस्तै छ। नेपालको विकृत राजनीतिक प्रदूषण विदेश भित्र्याएर यहाँ पनि नेपाली समाजलाई विभाजित गरिँदैछ। न कोही बोल्छ, न यो रोकिन्छ। नेपालभन्दा बढी राजनीतिक कोलाहल आज विदेशी भूमिमा नेपालीहरूकै बिच छ।
सबैभन्दा खतरनाक कुरा के हो भने यस्तो व्यवहारलाई सामान्य बनाइँदैछ। 'यस्तै हो यहाँ' भन्ने वाक्य सबैभन्दा ठुलो हारको स्वीकृति जस्तो सुनिन्छ । विदेशी भूमिमा बसेर पनि नेपालकै खराब अभ्यास जोगाएर राख्नु सफलता नभएर दुर्भाग्य हो।
अर्को गम्भीर पक्ष कानुनी र नैतिक पनि छ । विदेशी देशमा बसेर त्यहाँको कानुन नमान्ने, व्यक्तिगत 'डेटा'को दुरुपयोग गर्ने, बिना अनुमति 'म्यासेज' पठाउने जस्ता कार्य कानुन अनुसार अत्यन्त गम्भीर अपराध मानिन्छन्। तर उनीहरूलाई लागिरहेको छ यहाँ पनि नेपालकै पारामा सबै थोक चल्छ। सबैले उनीहरूलाई नेता मान्छन्। कसैले कानुनी प्रश्न उठाउँदैन। किनकि उनीहरू ठानिरहेका छन् - सबै उनीहरूजस्तै विकृत राजनीतिक खेलौना हुन्।
हामी प्रायः नेपालमा राजनीति फोहोर छ भन्ने गर्छौँ । एक हिसाबले त्यो कुरा ठिकै हो। तर त्यो फोहोर हामीले किन झोलामा हालेर विदेश ल्यायौँ भन्ने प्रश्न चाहिँ अझै संवेदनशील छ । विमानस्थल वा अध्यागमनमा 'भिसा' जाँच भयो, सामान 'स्क्यान' भयो तर मानसिकता कसैले जाँचेन। त्यही मानसिकता यहाँ आएर संस्था, समाज र सम्बन्ध सबैमा फैलिरहेको छ। 'एनआरएनए' होस् वा अन्य कुनै नामका संस्था, समस्या संरचनामै छ। पदाधिकारी समुदायका व्यक्तिहरू सेवक हुनुपर्ने ठाउँमा ‘नेता’ बन्न खोजिरहेका छन्। सेवा शब्द भाषणमा सीमित छ । व्यवहारमा शक्ति-गणित चलिरहेको छ।
'डेटा' र गोपनीयताको प्रश्न झन् गम्भीर छ। कसैको 'नम्बर' लिएर अनुमति बिना 'म्यासेज' पठाउनु विदेशी देशमा कानुनी अपराध हो। तर हाम्रो समाजमा यसलाई ‘चुनावी रणनीति’ भनेर सामान्य बनाइन्छ। यसरी हामी केवल समुदाय होइन, बसोबास गरिरहेको देशको कानुनको समेत अवहेलना गरिरहेका छौँ।
अन्त्यमा भविष्यतर्फ हेर्न जरुरी छ। आज हामी गरेको गतिविधि हाम्रा छोराछोरीले देखिरहेका छन् । उनीहरूले नेपाली भाषा सिक्ने कि नसिक्ने निर्णय गर्नु अघि नै हाम्रो नेपाली समाज कस्तो छ भनेर हेर्छन्। यदि समाज नै झगडाको अखडा बन्यो भने उनीहरू जोडिनुपर्ने कुनै आवश्यकता बोध नहुन सक्छ । हामी आफ्नै नयाँ पुस्ताबाट छुट्ने अवस्था सिर्जना हुनसक्छ ।
त्यसैले अब सचेत बनौँ। विदेशी भूमिमा आएर पनि नेपालको विकृत राजनीतिक ध्वनि प्रदूषण नफैलाऔँ।
(लेखक अमेरिका निवासी पूर्वसञ्चार्कर्मी हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण