रघुगंगा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन
सारांश
- रघुगङ्गा गाउँपालिकाले नागरिकको स्वास्थ्य सेवालाई सहज बनाउन एम्बुलेन्स सेवा सुरु गरेको छ।
- एम्बुलेन्स सेवा पालिकाको स्वास्थ्य शाखाबाट व्यवस्थापन हुनेछ र चालक तथा नर्सको व्यवस्था गरिएको छ।
- आपतकालीन अवस्थामा बिरामी ओसारपसार तथा तोकिएको भाडामा ३३ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।
काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गरेर सञ्चालन गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए ।
गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको पालिकाको स्वास्थ्य शाखाबाट व्यवस्थापन हुने गरी पालिकाका आठवटै वडाका नागरिकलाई स्वास्थ्य उपचारमा एम्बुलेन्स सेवा उपलब्ध हुने उनले बताए । एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिकाले एक जना चालक र एक जना नर्ससमेत व्यवस्थापन गरेको छ ।
आपत्कालीन अवस्थाका बिरामी, घाइते, सुत्केरी महिला तथा अतिआवश्यक स्वास्थ्य सेवाका लागि गाउँपालिकाको सबै वडादेखि सदरमुकाम बेनी र पोखरासम्म बिरामीलाई पुर्याउन र घरमा ल्याउनका लागि एम्बुलेन्सलाई प्रयोग गरिने छ । एम्बुलेन्समा अनिवार्य रूपमा एक जना नर्स र अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको उपलब्धता हुने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
एम्बुलेन्स सेवा लिने नागरिकले स्वास्थ्य संस्थामा जाने र आउने एकमुष्ट शुल्कमा गाउँपालिकाले निर्धारण गरेको यातायात भाडादरमा ३३ प्रतिशत रकम छुट पाउने गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण